नाडाल क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

स्पेनका स्टार खेलाडी राफायल नाडाल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा नाडालले एड्रियन मानारिनोलाई सीधा सेटमा हराएका हुन् । पहिलो सेटमा नाडालले मानारिनोविरूद्ध निकै संघर्ष गर्नुपरेको थियो । पहिलो सेट ६–६ बराबरी भएपछि टाइब्रेकरमा २८ मिनेट कडा संघर्षपछि नाडालले १६–१४ अंकमा जिते ।

पहिलो सेट जितेका नाडालले यसपछिका सेटमा घाइते मानारिनोलाई कुनै मौका नदिई ६–२, ६–२ ले हात पारे । योसँगै नाडाल करियरकै २१औं ग्रान्डस्लाम जित्न अग्रसर भएका छन् । हाल २०/२० ग्रान्डस्लाम जितेर नाडाल, नोभाक जोकोभिच र रोजर फेडेरर एउटै कीर्तिमानमा साझेदारी गरिरहेका छन् ।

नाडालले अन्तिम आठमा डेनिस शापोभालोभको सामना गर्नेछन् । क्यानडाका शापोभालोभले जर्मनीका ओलम्पिक विजेता एलेक्जान्डर ज्वेरेभको यात्रा समाप्त पारेका हुन् । शापोभालोभ पहिलोपटक अस्ट्रेलियन ओपन क्वार्टरफाइनल पुगेका हुन् । ज्वेरेभका लागि प्रतियोगिता निराशाजनक भएको छ । प्रतियोगिता शुरू हुनुअघि उनलाई उपाधि दाबेदारी मानिएको थियो ।
मेन्स सिंगल्सतर्फ कै खेलमा जित हात पार्दै गाएल मोन्फिल्स पनि अन्तिम आठमा पुगेका छन् । यो जितसँगै फ्रेन्चम्यान मोन्फिल्स २०१९ युएस ओपनपछि पहिलोपटक कुनै पनि प्रमुख प्रतियोगिताको क्वार्टरफाइनलमा पुगे । उनले सर्बियाका मिओमिर केकमानोभिचलाई सीधा सेटमा पराजित गरेका हुन् ।

वोमेन्स सिंगल्सतर्फ विश्व नम्बर एक एस्लिग बार्टीले अमेरिकाकी एमान्डा एनीसीमोभालाई हराएर अन्तिम आठमा स्थान बनाइन् । अस्ट्रेलियाका बार्टीले अघिल्लो चरणमा डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकालाई हराएकी एनिसिमोभालाई ६–४, ६–३ ले पराजित गरेकी हुन् । बार्टीले अर्को खेलमा अमेरिकाकै जेसिका पेगुलाको चुनौती पाएकी छन् ।

अजारेन्का पराजित
दुई पटकको अस्ट्रेलियन ओपन विजेता भिक्टोरिया अजारेन्का अन्तिम १६ बाट बाहिरिइन् । बेलारुसकी अजारेन्का फ्रेन्च ओपन विजेता बार्बोरा क्रेसीकोभासँग सीधा सेटमा हारेकी हुन् । यस्तै, ग्रिसकी मारिया साकारीलाई पेगुलाले हराएकी हुन् । यस्तै अमेरिकाकी मेडिसन कीजले स्पेनकी पाउला बाडोसालाई हराएर अन्तिम आठको यात्रा गरिन् ।

प्रतिक्रिया दिनुहोस्