राजनीतिमा युवाको सहभागिता नै किन ?



कुनै पनि समाज र राष्ट्रमा व्याप्त हरेक किसिमको बेथितिरुपी अन्धकार र निराशालाई चिरेर आशाको दीप प्रज्वलित गर्न सक्ने ठोस क्षमता युवामा हुन्छ । वृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होस र युवाको जोशबीचको सन्तुलन कायम गर्नका लागि पनि राजनीतिमा युवाको सहभागिता अपरिहार्य देखिन्छ । यसले अन्तरपुस्ता समन्वयमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैले युवाहरुलाई निरूत्साहित गर्नुको सट्टा सबै मिलेर उत्साहित एवं प्रोत्साहन गर्नै पर्छ ।

राजनीति फोहोरी खेल हो भन्ने कुरालाई चिर्न वा विस्थापित गर्नका लागि राजनीतिमा इमानदारिता, निष्पक्षता, विधिविधान तथा निश्चित प्रणाली एवं प्रक्रियाको सर्वोच्चता कायम हुनै पर्छ । पछिल्लो समय मुख्यतः ०६२/६३ पछि गरिएका विभिन्न अध्ययन अनुसार राजनीतिमा युवाहरु शोषित छन् र राजनीतिक स्वार्थका लागि युवाहरुको प्रयोग हुँदै आएको छ ।

शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफोड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोधजस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन् तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन् । खोला तर्न प्रयोग गरेको छडी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जति नै राम्रो गरे तापनि अधिकांश शीर्ष नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन ।

यस गलत प्रवृत्तिको अन्त्य गर्न नेताको अगाडि–पछाडि डुल्ने, चाकडी र चाप्लुसी गर्ने व्यक्तिहरुको सट्टा योग्यता, योगदान र क्षमताको आधारमा जिम्मेवारी र अवसर दिने परिपाटीको विकास गर्न सक्यौं भने मात्र युवाहरुको सहभागिताले सही अर्थमा सार्थकता पाउन सक्छ । यसो हुन सके, समाजमा राजनीति र राजनीतिज्ञप्रति श्रद्धा एवं सम्मानको भाव जागृत हुन्छ । यसबाट असल र क्षमतावान् व्यक्तिहरु पनि राजनीतिप्रति आकर्षित हुनेछन् ।

विश्वका विभिन्न देशले युवावर्गको नेतृत्वमा काँचुली फेरिरहेको दृष्टान्तबाट हामी नेपालीले पनि समयमै उचित शिक्षा लिन जरुरी छ । कुनै पनि देशको राजनीतिमा युवाको सहभागिता एवं सक्रियता रहेन भने, निश्चय नै त्यहाँको समाज रुपान्तरण र देश विकासको गति धर्मराउन थाल्छ । देशमा अझ पनि असल, सक्षम एवं दूरदर्शी नेतृत्वको कमीले गर्दा ५० लाखभन्दा बढी युवा विदेशी भूमिमा पिल्सिन बाध्य छन् भने देशभित्रका लाखौं युवा आफ्नो सर्टिफिकेट सिरानीमा राखेर रोजगारीको अभावले गर्दा छट्पटिइरहेका छन् ।

युवा नेतृत्व भन्नेबित्तिकै हामी आशा र सम्भावनाका ठूला–ठूला सपना देख्छौँ । तर, युवा राजनीतिमा आउँदैमा सब ठीक भइहाल्छ भन्ने जब्बर तर्क पनि होइन । नेपालको राजनीतिमा युवा होइन, सचेत युवाको खाँचो छ । किनकि आजकल, राजा आऊ देश बचाऊ भनेर बाइक र्याली गर्ने पनि युवा जमात नै छ । भ्रष्ट नेताको र्याली स्वयंसेवक पनि युवा नै छन् । राजतन्त्र कति निरंकुश थियो र राजतन्त्रको प्रताडना नागरिकमाथि कस्तो थियो भन्ने थाहा नभएकाहरू हल्लाको पछाडि दौडिएर राजा आऊ देश बचाऊ भन्छन् भने तिनीहरूको हुल लिएर युवा नेतृत्व गर्छु भनी कुनै परिवर्तन आउन सक्दैन ।

केपी ओलीको असंवैधानिक कदमविरुद्ध देशभर प्रदर्शन हुँदा पनि ओलीको पक्षमा नारा–जुलुस गर्ने, बोली अलि पिरो हो, केपी ओली हिरो हो भन्ने पनि युवा नै हुन् । ओली टिकाउने कि व्यवस्था टिकाउने भन्ने प्रश्न गरियो भने ओली टिकाउने भन्ने खालको जवाफ दिने त्यो युवा जमातलाई कसरी सचेत युवा भन्ने ?

हिजो कोरोना कहरमा प्रधानमन्त्रीले बेसार–पानी खायो भने, हाछ्युँसाछ्युँ गर्यो भने कोरोना भाग्छ भनेर बकवास सुझाव दिँदा पनि ‘आहा हाम्रो प्रमले ठीक भने, जनतामा आत्मविश्वास जगाउन त्यसो भने’ भनेर ताली बजाउनेहरूलाई कसरी सचेत युवा भन्ने ? ती युवा कसरी युवा चेतनाका संवाहक हुन्छन्, जसले देखादेखी संविधानको हत्या गर्ने निरंकुश र निकृष्ट सरकारप्रमुखको जयजयकार गर्छन् । ती युवाभन्दा त स्वयम् केपी ओली ‘युवा’ हुँदा उन्नत चेतनाका थिए होलान् ।

अनि ओलीको भक्त बन्दै–बन्दै पदमा पुगेका युवा नेतृत्वबाट देशले के पाऊला ? के आशा गर्ने ? राजनीतिमा युवा सहभागिता भन्ने शब्दले जति आशा बोकेर ल्याउँछ, राजनीतिमा सचेत युवाको कमीले त्यति नै निराशा थपिदिएको छ । अर्थात् अर्को शब्दमा, राजनीतिमा युवासँगै युवामा नैतिक र राजनीतिक सचेतना आवश्यक छ । यो बहुत महत्वपूर्ण कुरा हो ।
संगम वज्राचार्य, ललितपुर

प्रतिक्रिया दिनुहोस्