मेरिङदेन साक्षर गाउँपालिका घोषित



ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपलिकाले बुधबार एक कार्यक्रम गरी साक्षर गाउँपालिका घोषणा गरेको हो । नेपाल सरकारले तोकिएको सबै मापदण्ड पूरा भएका कारण मेरिङदेनलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ बमोजिम मेरिङदेन गाउँपालिकामा ९५.३९ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल बताउनुभयो ।

पौडेलका अनुसार गाउँपालिकाभरि १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ८ हजार ७ सय ९६ जनसंख्यामध्ये ८ हजार ३ सय ९१ जना साक्षर भइसकेका छन् भने अहिले ४ सय ५ जनामात्र निरक्षर रहेका छन् । निरक्षरको प्रतिशत उक्त गाउँपालिकाको कुल जनसंख्याको ४.६१ मात्र रहेको पौडेलले बताउनुभयो । १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ४ हजार १ सय ९० महिलामध्ये ३ हजार ८ सय ७६ जना अर्थात् ९२.९९ प्रतिशतमात्र साक्षर भएका छन् । यस्तै यो समूहका ४ हजार ६ सय ६ पुरुषमध्ये ४ हजार ५ सय २४ अर्थात् ९८.२२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले गत साउन सम्ममा संकलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका ५ सय ८० महिला र २ सय ४४ पुरुष गरी कुल ८ सय २४ जना निरक्षर रहेका थियो । त्यो समयमा निरक्षरताको प्रतिशत ९.३७ प्रतिशत रहेको थियो । त्यतिखेर उक्त समूहका ९०.६३ प्रतिशत मात्र साक्षर देखिएको थियो । साउनदेखि पुससम्ममा निरक्षर प्रतिशत ४.६१ मा झारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्