‘ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि सक्रिय रहने’



काठमाडौं, नेस ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले महासंघअन्तर्गत रहेका ७४ जिल्लामा स्थापित ज्येष्ठ नागरिक जिल्ला संघको स्तरोन्नति र वृत्ति विकासका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

हालै बुटवलको सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छत्र बहादुर प्रधानको नेतृत्वमा बसेको प्रथम बैठकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ज्येष्ठ नागरिकहरूको हक, हित र अधिकारका लागि सधैं सकृय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

महासंघको कार्यालय शंखमूलमा बसेको उक्त बैठकमा अध्यक्ष प्रधानले ज्येष्ठ नागरिकको जीवन सम्मानित र मर्यादित बनाउँदै कुनै पनि ज्येष्ठ नागरिकले दुव्र्यवहार, हिंसा र अपहेलना खेप्न नपरोस् भन्ने अठोटका साथ ज्येष्ठ नागरिकलाई आत्म सम्मानको अनुभूति दिलाउने अभियानमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने सम्बद्ध सबै निकायहरूलाई ज्येष्ठ नागरिक लक्षित विभिन्न सेवासुविधा र छुट दिलाई उनीहरूप्रति सम्मान व्यक्त गर्ने कार्यमा जुट्न आह्वान गर्नुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ ज्येष्ठ नागरिकको आर्थिक, भौतिक, स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गरी उनीहरूको सर्वोत्तम हक हितको संरक्षण गर्ने उद्देश्यले वि. सं. २०६८ पुष १२ गते स्थापना भएको हो । हाल यस महासंघले ६४ भन्दा बढी जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्