भू माफियाले सिमसार क्षेत्रको जग्गा मास्दा पानी चराको संख्या घट्यो



विजय नेपाली, पोखरा ।

पोखरामा हिउँद होस या बर्खा विभिन्न प्रजातिका चराहरू जाडो तथा गर्मी छल्न आउने गर्दछन् । विभिन्न स्थानमा जानका लागि चराहरूको मार्गको रूपमा पोखरा समेत पर्ने गरेको छ । पोखरालाई तालहरूको सहर भनेर चिनिन्छ । पोखरामा फेवा ताल, बेगनास ताल र रुपा ताल ठुला तालहरू हुन भने खास्टे, मैदी, दीपाङ जस्ता साना तालहरुपनि छन् ।

कुनै समय निकै चराहरू देखिने यी तालहरूमा अहिले विरलै चराहरू देखिने गरेका छन् । यी तालहरूमा रैथाने देखी बसाई सराई गर्ने र घुमन्ते चराहरू पाइने गर्दछन् । पोखरामा मात्रै बर्सभरिमा १०२ प्रजातिका चराहरू देखिन्छन् । तर अङ्ग्रेजी महिनाको पहिलो महिनामा हुने गणनामा भने ४६ प्रजातिका चराहरुमात्र देखिन्छन् ।

विगत ५ वर्षको तथ्याङ्क हेर्दा पोखराको फेवातालमा चराका प्रजातिहरू बढिरहेका छन् । तर यो देखेर खुसी हुने अवस्था भने छैन । प्रजाति बढिरहँदा चराको संख्यामा भने ह्रास आउँदै गएको छ । यस्को मुख्य कारण नै सिमसार क्षेत्र पुरिनु र जथाभाबी डोजर लगाउनु नै हो । चरा विज्ञहरूका अनुसार सिमसार क्षेत्र पुरिँदै गएमा चराहरूको लोप हुने देखिएको छ ।

सिमसार क्षेत्र परिनु र अव्यवस्थित विकासका कारण चराहरूको संख्या घटको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ । उहाँले चराहरूले पर्यावरण सन्तुलन राख्नमा ठूलो भूमिका खेल्दै आएको सुनाउनुभयो । ‘चराहरू विशेष गरी हिउँद र बर्खा छल्नका लागि जाने गर्दछन् । उनीहरूले तालका लेउदेखि पाणिमुनिका जराहरू, माछा, शखेकीरा, मरेका चिजहरू खाने गर्दछन् । जसले पर्यावरणलाई स्वस्थ राख्न मद्दत गर्दछ’ उहाँले भन्नुभयो, तर पछिल्ला समयहरूमा पोखराका लेखनाथमा रहेका तालहरूको जलचराहरु धराशायीमा परिरहेका छन् ।’

तालसँगै जोडेर चक्रपथ निमार्ण, सिमसार क्षेत्रमा प्लटिङ, तथा वनभोज स्थलहरू बनाउँदा चराहरूको वासस्थान भत्किदा अन्यत्र गएको उहाँले सुनाउनुभयो । त्यसता कार्य रोक्नका लागि राज्यको निकायबाट नै सुरुआत गर्नुपर्ने उहाँको सुझाव रहेको छ । पोखराको फेवातालमा हेर्ने हो भने पछिल्लो समय युवराज खतिवडाले सिमसार क्षेत्र पुर्दै घडेरी बनाउँदै आएको भेटिन्छ ।

फेवातालको मापदण्ड विपरीत फेवाताल पुरिदा समेत स्थानीय सरकार आँखा बन्द गरेर बसिरहेको छ । खतिवडा भू माफिया मध्येका एक हुन । उनी जस्ता अन्य बिचौलियाले फेवाताल बाहेक कास्कीका अन्य तालहरूको सिमसार क्षेत्र मास्दै आइरहेका छन् ।

यस्तै बिचौलिया कारण पछिल्ला वर्षहरूमा भने लेखनाथको ७ तालमा चराहरूको संख्या धराशायी रूपले घटेको देखिएको छ । बेगनास तालको तथ्याङ्क हेर्दा यो वर्ष नै सबैभन्दा खराब देखिएको छ । २०२२ मा बेगनासमा ६ प्रजातिका ५९ संख्यामा चराहरू देखिएका छन् ।
गणनाले चराहरूको अवस्था संवेदनशील, सङ्कटापन्न र अति सङ्कटापन्न कुन छ त्यो छुटाउने गरिन्छ ।

पाँच वर्षमा फेवातालको कुरा गर्दा २०१७ सालमा ३६ प्रजातिका १ हजार ८ सय ७ संख्यामा देखिएको थियो । यस्तै २०१८ मा ३८ प्रजातिका २ हजार २ सय ८३, २०१९ सालमा ३९ प्रजातिका १ हजार ४ सय ७०, २०२० मा ४३ प्रजातिका १ हजार ३ सय ५५, २०२१ मा १ हजार ८ सय ३८ संख्यामा चराहरू देखिएको छ ।

पोखराको रैथाने पानी चरा कुर्माको संख्या थपिएको छ । फेवातालमा मात्रै ५ सयको हाराहारीमा देखिएको रैथाने चरा अन्य तालहरूमा समेत देखिएको छ । आगन्तुक पानी चरा कालीजुरे हाँस, कमन टिल्क जस्ता प्रजातिका चराको संख्या घट्दो क्रममा छ । मालक हासँ, फेरी जुनियस डक, कालो चिल, सेतो चिलहरूको संख्या भने बढेको देखिन्छ । सेतो चिल भने पोखरामा सबैभन्दा बढी देखिएको छ । पोखरामा करिब ४ सयको हाराहारीमा देखिएको छ ।

चराहरू जुन क्षेत्रमा बढि आहारा पाउँछ त्यही स्थानमा मात्रै बस्ने गरेको टाइगर माउन्टेनकाका झलक चौधरीले बताउनुभयो । उहाँले ठेउवाका प्रजाति हराउन थालेको र ढोडे गोकुल चराको संख्या ह्वातै बढे पनि अहिले घट्दो क्रममा रहेको सुनाउनुभयो ।

उहाँले पछिल्लो समयमा पोखरामा चरा पर्यटन बढ्दो क्रममा रहेको देखिएको बताउनुभयो । नेपालमा आउने पर्यटक मध्ये ५ प्रतिशत मात्र चरा हेर्न आउने गरेका छन् । पोखरामा भने सिकारी चराहरू हेर्न आउने देखिन्छ । पोखरालाई सिकारी चराको सहरको रूपमा लिने गरिएको छ । २०२२ को तथ्याङ्क भने चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्