टेलिकमका टावरले काम नगर्दा समस्या



डोटी ।

डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका– ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो –‘टेलिकमको टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदान प्रदानका लागि निकै समस्या भएको छ ।’

ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा यहाँका नागरिकले पटक पटक दुःख खेप्नु परेको उहाँको भनाइ छ । टावरको नेटवर्कले काम नगरेका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको अर्का स्थानीय दिनेशबहादुर सिंहले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा टावरले काम नगरेका कारण त्यहाँका नागरिक कोही बिरामी पर्दा होस् वा गाउँमा कुनै पनि घटना, समस्या भए खबर गगर्नका लागि निकै समस्या उत्पन्न भएको स्थानीयवासीको गुनासो रहेको छ । उता, नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले सायल क्षेत्रको भल्मामा जडान गरिएका टावरहरू व्याट्रीबाट सञ्चालन हुने भएकाले केही दिनदेखि घाम नलागेका र घाम नलागेको दिन तथा रातीको समयमा व्याट्री चार्ज हुन नपाउँदा समस्या भएको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘टावरले किन काम नगरेको हो हामी बुझेर नेटवर्क चालु गर्र्नका लागि पहल गछौँ ।’

प्रतिक्रिया दिनुहोस्