दलहरुले बिगारेको देश



विगत धेरै वर्षदेखि स्थानीय चुनाव भएको थिएन । स्थानीय चुनाव धेरै वर्षसम्म स्थगित हुँदा गाविस सचिवले सम्पूर्ण कामकाज र जिम्मेवारी सम्हाल्ने गरेका थिए । गाविसको सचिवबाट काम गराउँदा सरकारी जग्गा सबै व्यक्तिको नाममा नामसारी भएको थियो । साथै, गाविस सचिवले काम गर्न सकेनन् भनेर सर्वसाधारणहरुले निकै गुनासो गरिरहेका थिए । यसलाई मध्यनजर गर्दै २०७४ सालमा स्थानीय चुनाव गरियो । चुनावबाट जनताको धेरै आश थियो । सिंहदरबारभित्र बन्देज रहेको नेपाली नागरिकको अधिकार ढोकाढोकामा आँउछ भनेर सर्वसर्वसाधारण निकै हर्षित भए । यसका लागि उनीहरुले विभिन्न मितिमा आन्दोलनसमेत गरेको पाइन्छ । मुलुकमा संविधान बन्यो । गरिब जनताले सुखको दिन आऊला, देशको विकास हुन्छ । भ्रष्टाचार न्यूनीकरण हुन्छ, घरघरमा सरकारी सेवाको पहुँच पुग्छ भनेर धेरैले सपना पनि देखिसकेका थिए । राजनीतिक पार्टीहरुले अब मुलुकमा विकासको मूल फुटाउँछन्, नेपाल पनि सिंगापुरजस्तै बन्छ भनेर धेरैले सोचिसकेका थिए ।

२०६२।६३ सालमा सर्वसाधारण राजतन्त्रको विरोध गर्दै सडकमा उत्रिए र राजतन्त्र हटाए । राजा हटाउनुको पछाडि पनि कुनै कारण थियो । राजाले कर हत्याए तर विकास गरेनन् भनेर राजा र राजतन्त्र दुवैलाई हटाइयो । राजा हटाइयो, अब उनले खाने र सेवा–सुविधाबाट देश विकास हुन्छ भनेर जनताले निकै आश गरेका थिए । हाम्रो जीविकास्तरमा केही परिवर्तन आऊला भनेर सपना बुनिरहेका थियौँ । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भयो । जनताले सोचेको केही पनि पूरा हुन सकेन । पहिलेभन्दा अहिले झन् धेरै सेवा–सुविधा र तलबभत्तामा खर्च भइरहेको छ । एउटा सानो सरकारी कर्मचारीदेखि लिएर प्रधानमन्त्रीलाई समेत करोडौंको सरकारी गाडी चाहिएको छ ।

वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्रीको तलबभत्ता र सेवा–सुविधामा जनताले तिरेको सिद्धिएको छ । केही वर्षयता नेपाललाई सात प्रदेशमा छुट्याइएको छ । सात प्रदेश छुट्याउँदा खर्च झनै धेरै बढेको छ । एउटा प्रदेशमा कति मन्त्री होलान् ? दिन त जनताले तिरेकै करबाट तलब र सेवा–सुविधा दिने हो । सेवा–सुविधा र तलबले नपुगेर यिनीहरु भ्रष्टाचारमा समेत हाबी छन् । यिनीहरुकै कारण बजारमा महँगीले सीमा नाघिसकेको छ । हामी जस्ता बाँच्न नसक्ने भइसकेका छौँ । नेपाली जनताले तिरेको कर बालुवामा पानी मिसाएसरह छ । राजस्व सबै सेवा–सुविधा र तलबभत्ता गर्दै मासिरहेको छ ।

पहिले–पहिले अलिक कम खर्च हुन्थ्यो भने मन्त्रालय र मन्त्री थपेपछि झनै बढी खर्च हुन थालेको छ । काम भने केही गर्ने होइनन् । जनप्रतिनिधि र वडाध्यक्षलाई समेत तलब खुवाउनुपरेको छ । जसले जंगलमा भएका रुख काटेर काठ बनाए । जंगलमा भएको माटोसमेत बेचेर खाए । नदीनालामा भएको गिट्टी, ढुँगा, माटो निकालेर सबै तहसनहस बनाइदिए । कमिसनको लोभमा वडाध्यक्ष र जनप्रतिनिधि मिलेर सरकारी सम्पत्ति दोहन गरे । अहिलेका वडाध्यक्ष र मेयर सबै दलाली हुन् । यिनीहरुको पृष्ठभूमि केलाउने हो भने कुनै क्रसर उद्योगी हुन् त कुनै जग्गा दलाली ।

यस्तै काम गरेर पैसा कमाए । पैसाको आडमा पार्टीले टिकट पनि दियो । चुनाव लडे, जनप्रतिनिधि बने, भएका सरकारी सम्पत्ति सबै बेचेर खाइदिए । राजनीतिक दलहरुले पनि आफ्नो पार्टी बलियो बनाउनको लागि गुन्डाहरुलाई पनि पार्टीमा भित्र्यायो । पैसाको आडमा गुन्डाहरुले समेत पार्टीको टिकट पाएको देखिन्छ । हालै मात्र सकिएको कांग्रेसको महाधिवेशनमा पढेकालेखेकाले चुनाव हारे । तर, गणेश लामाजस्तो खनखुर गुन्डाले चुनाव जिते । अब कांग्रेस पार्टीले जनता र राष्ट्रको लागि केही विकास गर्ला भनेर नसोच्दा पनि हुन्छ । किनकि राम्रो नेता सबैले कांग्रेसबाट हात धोइसकेका छन् । बाँकी सबै गुन्डा नाइके मात्रै छन् ।

एमाले र अन्य पार्टीमा पनि गुन्डाहरुको कब्जा छ । अधिकांश पार्टीले आफ्नो पार्टी शक्तिशाली देखाउन गुन्डा पालेका छन् । यस्ता पार्टीले पनि देशका लागि केही गर्न सक्ला ? यिनीहरुबाट मुलुकका सर्वसाधारणले सेवा–सुविधाको आशा गर्न सक्लान् ? एमालेको अध्यक्ष केपी ओली पनि गुन्डा पालेरै अध्यक्ष बनेका हुन् । ओलीको नजिकको पात्र महेश बस्नेत, जसले उनलाई शक्तिशाली तुल्याइदिए । उनी पनि गुन्डा नै हुन् । राजनीति गर्न सक्ने क्षमता नभएका कसरी सत्तामा आए ? जनताले यसको जवाफ खोजिसकेका छन् । हाम्रो मुलुकमा अधिकांश नपढेका, अनपढ नेताहरु छन् । जोसँग सर्वसाधारणको आवश्यकता नियाल्ने क्षमतासमेत छैन् ।

हुँदो न खाँदोको भाषण ठोकेर, नेपाली जनतालाई अँध्यारोमा राखेर कतिन्जेल सत्तामा टिक्ने ? कतिन्जेल हाम्रो आँखामा धूलो झोकिरहने ? २०६४ सालको चुनावमा सबै जिल्लाका नागरिकले माओवादीलाई अत्यधिक मत दिए, जसले माओवादीलाई शीर्ष स्थान दिलाइदियो । कांग्रेस र एमाले त्यतिखेर नै टाट पल्टिसकेका थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जनताले त्यत्रो मत दिएर शीर्ष स्थानमा पुर्याइदिए । तर, माओवादी पनि जनताको विश्वास र अपेक्षामा खडा हुन सकेन । चुनाव हारेका माधव नेपाललाई प्रचण्डले प्रधानमन्त्री घोषणा गरिदिए ।

शेरबहादुर देउवा, झलनाथ खनाल, माधव नेपाल र केपी ओलीको इशारामा प्रचण्ड नाचेका थिए । प्रचण्डलाई उनीहरुले कठपुतली बनाइदिएका थिए । यी नेताको कठपुतली बन्दा माओवादी घर न घाटको बन्यो । तर, जनताको आँखामा बिझ्ने एमाले र कांग्रेस फेरि पनि ब्युँतियो । सबै राजनीतिक पार्टीहरुको इतिहास हेर्ने हो भने यिनीहरुले देश र जनताको लागि केही गर्न सकेका छैनन् । निर्वाचन आयोगमा दर्ता भएका छन् तर चाबी भने भारत र चीन सरकारको हातमा छ । नेपालमा भएका राजनीतिक दलले भारत र चीन सरकारको विरोध गर्ने हो भने यिनीहरुलाई भारत र चीन सरकारले सत्तामा टिक्न दिँदैनन् । अरुको नाकनक्सामा चलेको मुलुक र राजनीतिक दलले केही गर्न सक्दैनन् ।

सीधासाधा जनतालाई आश्वासन दिलाएर, त्यही जनताको प्रयोग गरेर गुण, क्षमता नभएका व्यक्तिहरु नेता बनेका छन् । आफ्नो खुट्टा त अरुले टेकिदिएको व्यक्तिलाई हामीले नेता बनाइदियौँ । ललाइ–फकाइ र मीठो आश्वासनको भरमा हामीले सोच्दै नसोची भोट दिइरहेका छौँ । सम्बन्धित निकायले यिनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने राजनीतिक दलले भ्रष्टाचार गरेको सबै निस्किन्छ । भ्रष्टाचार गरेर तीन पुस्तालाई जोडेको सबै सम्पत्ति राष्ट्रियकरण हुन्छ । सबै भ्रष्टाचारी नेताहरु जेल जान्छन् । मुलुकमा राजनीति गर्ने एकजना पनि बाँकी रहँदैनन् ।

२०४६ सालअघि एउटा कोठा भाडा तिर्न नसक्ने नेताहरुको आज रोपनीमा घर बनेको छ । घर त रोपनीमा छ तर बैंक ब्यालेन्स कति होला ? नेपालमा भ्याएर विदेशी बैंकमा लगी कति रकम राखेका होलान् ? हामी नेपाली भूमिमा जन्मियौँ । तर, नेपाली होइन, कार्यकर्ता बन्यौँ । नागरिकतामा नेपाली भनेर लेखियो, जिम्मेवारी कार्यकर्ताको सम्हाल्यौँ । आफ्नो पार्टीको विरोधमा बोल्न सिकेनौँ । नेपाली भएर नेपालको बारेमा नसोच्ने नेपाली होइनन् । कुनै पार्टीको कार्यकर्ता बन्ने र नेपालको बारेमा नसोच्ने हो भने ती व्यक्तिहरु नेपालीमा गनिनुहुँदैन ।
– सुमन कोइराला, काठमाडौं

प्रतिक्रिया दिनुहोस्