काठमाडौंमा फुटपाथको तमासा



उपत्यकाका तीन जिल्ला अथवा बाहिरी जिल्लाहरुमा केही वर्षअघिदेखि ठेलागाडा व्यापारीको संख्या ह्वात्तै बढेको छ । ठेलागाडा किनेर साना व्यापार व्यवसायतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । हरेक चोक, गल्ली र मेनरोडमै पाइलैपिच्छे ठेलागाडामा सामान बेच्न राखेको देख्न सकिन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुर यी जिल्लामा २१ हजार ठेलागाडा सञ्चालित छन् । ठेलागाडा व्यापारीको संख्या पनि उही नै छ । ठेलागाडामा खाद्यवस्तुदेखि लिएर लत्ता कपडा र सागसब्जी बेच्न राखिएको देख्न सकिन्छ । ठेलागाडा व्यापार गरेर कतिको दैनिक गुजारा चलेको होला तर यसले शहर अव्यवस्थित बनाएको छ ।

जथाभावी रुपमा ठेलागाडा राखेर सामान बिक्री वितरण गर्दा ट्राफिक जामले निकै सास्ती दिने गरेको छ । ठेलागाडाले पूरै सडक नै अस्तव्यस्त बनाइदिन्छ । पैदल यात्रीका साथै गाडी हिँड्ने सडक उही नै छ । त्यसैले पनि ट्राफिक जामको प्रमुख कारण ठेलागाडा बन्न पुगेको हो ।

साँझ परेपछि उपत्यकाभित्रका चोकचोक सबै ठेलागाडाले ढाकिएको हुन्छ । ट्राफिक व्यवस्थापन गर्न धौ–धौ परिरहेको हुन्छ । अव्यवस्थित ठेलागाडा र त्यसले निम्त्याएको ट्राफिक जामले शहरको सुन्दरतामा ह्रास ल्याएको छ । ठेलागाडा व्यवसायीले कमाएका छन् तर पैदल यात्रीको दुःखलाई देखेका छैनन् ।

ठेलागाडा सञ्चालन गर्ने कतिपय महासंघको लागि कमाउने भाँडो बनेको छ । ठेलागाडा महासंघले यस्ता व्यवसायीसँग दैनिक पचास रुपियाँ उठाउने गरेको छ । ट्राफिकबाट बच्न, महानगरीय प्रहरीको कारबाहीमा नपर्न ठेलागाडा व्यवसायीले यसरी लेबी तिर्ने गरेका हुन् ।
ठेलागाडा व्यापारीबाट उठाएको रकम नगरपालिकाका मेयरको भागवण्डामा पुर्याइएको छ । २१ हजार ठेलागाडाबाट दैनिक पचास उठाउँदा एकदिनमै १० लाख ५० हजार रुपियाँ लेबी उठ्छ । उनीहरुले बताएअनुसार प्रत्येक महिना ३ करोड १५ लाख रुपियाँ लेबी उठाइन्छ ।
ठेलागाडा व्यवसायीसँग उठाइएको रकम राजनीतिक पार्टीको झोले, महानगरीय प्रहरी, ट्राफिक प्रहरी र मेयर मिलेर खाइरहेका छन् । डरडरैले ठेलागाडा व्यवसायीले पैसा तिरेका छन् तर के काममा पैसा प्रयोग भएको छ, अत्तोपत्तो छैन । महानगरीय प्रहरी र ट्राफिक प्रहरीको कारबाहीमा पर्ने डरले मासिक करोडौं रकम हिनामिना भइरहेको देखिन्छ ।

ठेलागाडाहरु कुनै पनि सम्बन्धित निकायमा दर्ता गरिएको छैन । ठेलागाडाकै कारणले दुर्घटना बढेको छ । फुटपाथमा हिँड्न नपाएर बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ । साथै, ठेलागाडा हटाउनको लागि कुनै पनि मातहतका निकायले चासो दिएका छैनन् ।
पैदल यात्रीको सहजतालाई ध्यानमा राख्दै ठेलागाडा राख्न दिनुहुन्न । यिनीहरुलाई चल्नबाट प्रतिबन्ध लगाउनुपर्छ । सडकपेटीका व्यापारीकै कारण सवारीसाधनको ठक्करमा पर्दा कतिको मृत्यु भएको छ । व्यापारीहरुले हरेक सडकपेटी कब्जा गरेका छन् । तर, फुटपाथ त मान्छे हिँड्नका लागि बनाइएको हो । भक्तपुरस्थित सल्लाघारीबाट सूर्यविनायक नगरपालिका जाने बाटोमा टन्नैले फलफूल पसल राखेका छन् । सडकपेटीले मात्र नधानेर रोडमा समेत सामान राखिएको देख्न सकिन्छ । सडकपेटीमा भएको पसलहरु नहटाउँदाखेरि कति सवारीले त्यस एरियामा ठक्कर दिँदा घाइते भएका छन् ।

फुटपाथमा पसल राख्नेहरुसँग सूर्यविनायक नगरपालिकाका महानगरीय प्रहरीहरुले कमिसन खाने गरेका छन् । फुटपाथ नहटाउँदा र गाडा चल्नलाई प्रतिबन्ध नलगाउँदा सडकबाट हिँड्दा ज्यान गएको छ । फुटपाथ पसल हटाइदिँदा पैदल यात्री सडकपेटीबाटै ओहोरदोहोर गर्दछन् ।
उपत्यकाका तीन जिल्लाका मेयरहरुले फुटपाथ व्यवसायीसँग कमिसन खाएर कानमा तेल हालेर बसेका छन् । महानगर प्रहरीहरुलाई तलबले नपुगेर कमिसनतिर आँखा लगाउन पुगेका छन् । मेयरलाई आर्थिक भुमरीमा पारेर ठेलागाडा व्यवसायीले आफ्नो व्यवसायी दर्ता गर्न खोजेका छन् ।

सरकारले कर आउने लोभमा ठेलागाडा दर्ता ग¥यो भने सडक उथलपुथल हुन्छ । अहिले भएको ट्राफिक जाम व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको सरकारले कसरी ठेलागाडा व्यवस्थापन गर्ला ? ठेलागाडा व्यापारीले माग्ने क्षतिपूर्ति कहाँबाट ल्याएर दिने ?

सरकारले कुनै पनि हालतमा ठेलागाडा दर्ता गर्न दिनुहुन्न । अहिले भएका ठेलागाडा सबै विस्थापन गर्ने जरुरत देखिएको छ । भाडा नतिरी नाफा कमाउने प्रलोभनमा पुँजीपतिको समेत मोह जागेको छ । नाफा धेरै कमाउन सकिन्छ भन्दै जसले पनि ठेलागाडा किनिरहेको छ ।
पछिल्लो समय सटर लिएर व्यापार गर्नेहरु कमै छन् । सटर भाडा महँगो भएकाले ठेलागाडा व्यापार गर्ने सबैको सोच भएको छ । एउटा सटरको मासिक ५० हजार रुपियाँसम्म बुझाउनुपर्दछ । तर, एउटा ठेलागाडाको मूल्य जम्मा १० हजार रुपियाँ पर्छ ।

एउटा ठेलागाडा भयो भने जिन्दगीभर कमाइ खाने भाँडो हुन्छ, अर्कोतिर भएको नाफाजति सबै आफ्नो हुन्छ । घरधनीलाई पसल कवलबापत तिर्नुपर्ने भाडा पनि बच्छ । त्यसैले ठेलागाडातिर व्यापारीको ध्यान आकृष्ट भएको छ । तैपनि यसतर्फ सरकारको ध्यान भने खिचिएको छैन । सरकारले नसोच्दा जहीँतहीँ ठेलागाडा बजार बनेको छ ।

बटोमा ठेलागाडा राखेर आफू कमाउने, ट्राफिक जाम गराउने अनि सीधासाधी जनता मार्ने ? यिनीहरुलाई कानुनको दायरामा ल्याउने कि नल्याउने ? दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म ठेलागाडाको कारणले बाटोमा हिँड्न सकिँदैन । ठेलागाडामा राखिएको सामान किनेर खानलायकको पनि छैन ।

धूलोले छोपिएको खाना स्वास्थ्यको लागि निकै नैहानिकारक छ । सामानहरु पनि सबै कमसल हुन्छन् र महँगी पनि अन्य पसलमा जति नै छ । दुःख जनताले पाएका छन् । राज्यले समेत यिनीहरुबाट केही पनि पाएको छैन । ठेलागाडा व्यवसायमा निकै नै बेथिति देखिन्छ । यसलाई सरकारले नियन्त्रण गर्नुपर्ने खाँचो छ ।

नहुनेले सडकपेटीमा व्यापार गर्छन् भन्थे तर अहिले काठमाडौंमा दुईवटा घर हुनेले समेत फुटपाथ व्यवसाय अँगालेका छन् । पहिले–पहिले घर हुनेले म सुकुम्बासी हुँ भन्दै सरकारी जग्गा हडप्ने गरेका थिए । तथापि यसको छानबिन भएन, सरकारी सम्पत्ति व्यक्तिको नाममा गयो ।

अहिले सडकपेटीमा व्यापार गर्ने पनि त्यस्तै छन । हामी गरिब, केही नभएका हौं भन्छन् । काठमाडौंमा करोडौंका घरमा बस्नेहरुले पनि नभएको दुःख देखाउँदै सडकपेटीमा पसल थापेका छन् । फुटपाथ व्यवसायीले दैनिक १५ हजार रुपियाँसम्मको व्यापार गर्छन् । अनि उनीहरुले दुःखचाहिँ सबै हामीलाई दिएका छन् । हरेक क्षेत्रमा राजनीति गर्ने, फुटपाथमा पसल गर्नेले पनि महासंघ खोल्ने, राजनीतिक पार्टीको झोले बन्ने अनि जनता ठग्ने । यतिसम्म कि उनीहरुलाई केही भन्नै नहुने, उल्टो गाली खानुपर्ने अवस्था छ ।

गृह मन्त्रालयले पनि यस विषयमा चासो दिने हो कि ? दिनभरि घाम तापेर बस्ने सिडियोहरुलाई केही जिम्मेवारी दिने हो कि ? ट्राफिक जाम भएर अस्तव्यस्त हुँदा पनि ट्राफिक प्रहरीले यस्ता व्यवसायीलाई हटाउँदैनन् । ठेलागाडा व्यापारी व्यापार गरिरहेका हुन्छन् । ट्राफिक प्रहरी मौन छ । सार्वजनिक बाटोमा हिँड्न पनि यत्रो सास्ती ? सरकारभन्दा शक्तिशाली फुटपाथ र ठेलागाडा व्यवसायी भए । यतातर्फ सरकारले बेलैमा सोच्नुपर्यो ।

– मनिष ताम्राकार, नख्खु, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्