विकसित चीनका सूत्राधार देङ सियाओ पिङ



देङ सियाओ पिङ एक चिनियाँ लोकप्रिय क्रान्तिकारी राजनेता थिए । उनको जन्म २२ अगस्ट १९०४ मा भएको थियो । उनले सन् १९७८ डिसेम्बरदेखि सन् १९८९ नोभेम्बरसम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए ।

सन् १९७६ मा माओ त्सेतुङको मृत्युपछि चीनको सत्तामा देङको सर्वोच्च नेताको रूपमा उदय भएको थियो । उनलाई आधुनिक चीनको निर्माताको रूपमा चिनिन्छ ।

माओको मातहतमा राजनीतिक वृत्ति :

१ अक्टोबर १९४९ मा, बेइजिङमा भएको जनवादी गणतन्त्र चीनको घोषणामा देङ उपस्थित थिए । त्यति बेला कम्युनिस्ट पार्टीले पूरै उत्तरी भूभागमा नियन्त्रण कायम गरेको थियो, तर दक्षिणको केही भागहरूमा कुमिन्ताङको शासन रहेको थियो । उनलाई दक्षिण–पश्चिमी चीन समन गर्ने जिम्मेवारीका साथ दक्षिण–पश्चिम विभागको प्रथम सचिव बनाइएको थियो । यो संगठनलाई कुमिन्ताङले कब्जा गरेका भूभागमा नियन्त्रण गर्ने जिम्मा दिइएको थियो भने तिब्बत अर्को एक वर्षसम्म स्वतन्त्ररूपमा रहेको थियो ।

कुमिन्ताङ सरकार ग्वाङजाउ छोड्न बाध्य भएको थियो र चोङकिङमा नयाँ प्रादेशिक राजधानी स्थापना गरिएको थियो । त्यहाँ चियाङ काइ सेक र उनका पुत्र चियाङ च्याङ कुओ, जो देङ मस्कोमा पढ्दा ताकाको सहकर्मी थिए, कम्युनिस्ट पार्टीको फौजलाई अघि बढ्न रोक्न चाहन्थे ।

देङको राजनीतिक मातहतमा, कम्युनिस्ट सेनाले नोभेम्बरको अन्त्यसम्ममा चोङकिङ नियन्त्रणमा लिँदै केही दिनपछि च्याङ काइ सेकको अन्तिम किल्ला रहेको चेङ्दु प्रवेश गरेको थियो । त्यही बेला देङ चोङकिङको नगर प्रमुख बनेका थिए भने तत्कालीन समयमा उनी कम्युनिस्ट पार्टीको दक्षिण–पश्चिमको नेताको रूपमा रहेका थिए । दक्षिण–पश्चिममा कम्युनिस्टको जनमुक्ति सेनाले कुमिन्ताङ शासनप्रति दमन गरेको थियो । सन् १९५० मा, कम्युनिस्ट पार्टी शासित चीनले तिब्बतमा नियन्त्रण कायम गरेको थियो ।

देङ सियाओ पिङले चोङ्मिङमा तीन वर्ष बिताएका थिए । उनले फ्रान्स जानुभन्दा अघि किशोर अवस्थामा त्यहीँ पढाइ गरेका थिए । सन् १९५२ मा उनी बेइजिङ सरुवा भएका थिए, जहाँ उनले केन्द्रीय सरकारको विभिन्न पद हासिल गरेका थिए ।

बेइजिङमा राजनीतिक उदय :
जुलाई १९५२ मा देङ बेइजिङ आएका थिए अनि उनले उपप्रधानमन्त्री र अर्थ समितिको उपाध्यक्ष पद सम्हालेका थिए । उनले अर्थमन्त्रीको पद र सञ्चार निर्देशकको पद सम्हालेको केही समयमा नै उनलाई उपप्रधानमन्त्रीबाहेक सबै पदबाट हटाइएको थियो । सन् १९५६ मा उनी कम्युनिस्ट पार्टी संगठन विभागको प्रमुख र केन्द्रीय सैन्य आयोगको सदस्य बनेका थिए ।
माओको सन् १९५७ को दक्षिणपन्थी (विरोधी आन्दोलनलाई औपचारिक समर्थन गरेपछि, देङ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको सचिव बन्दै देशको दैनिक मामिला राष्ट्रपति लिउ साओकी र प्रधानमन्त्री चाउ एन लाईसँगै चलाउने भएका थिए । देङ र लिउको नीतिले वैचारिक सिद्धान्तभन्दा पनि आर्थिक सिद्धान्तलाई महत्व दिन्थ्यो ।

सांस्कृतिक क्रान्ति :
माओलाई देङ र लिउको सुधारवादी आर्थिक नीतिले पूँजीवादको पुनस्र्थापना हुने र चिनियाँ क्रान्तिको अन्त्य हुने डर थियो । यो र अन्य कारणहरूले गर्दा, माओले सन् १९६६ मा सांस्कृतिक क्रान्ति शुरु गरेका थिए । यस क्रममा देङ उनको निशानामा रहेका थिए र उनलाई सबै पदबाट हटाइएको थियो ।

सांस्कृतिक क्रान्तिको समयमा उनी र उनको परिवारलाई रेड गार्डहरूले निशाना बनाए । रेड गार्डले उनको जेठो छोरा देङ पुफाङलाई कैद गरेका थिए । देङ पुफाङलाई यातना दिइएको थियो र सन् १९६८ मा चारतले भवनको झ्यालबाट बाहिर खसालिएको थियो । अक्टोबर १९६९ मा देङलाई जियाङ्सी प्रान्तको सिनजियानको ट्याक्टर कारखानामा मजदुरी काम गर्न पठाइएको थियो ।

त्यहाँको चार वर्षमा देङले आफ्नो बाँकी समय लेखनमा बिताएका थिए । देङलाई लिउसँगै देशव्यापीरूपमा सार्वजनिक रुपमा अपमान र आलोचना गरिएको थियो ।

देङ सिआओ पिङ प्रायः बिरालो सिद्धान्त ‘क्याट थ्यौरी’ को कुरा गर्दथे अर्थात् बिरालोको रङ्ग कालो वा सेतो हुनुले अर्थ राख्दैन, जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म त्यो राम्रो बिरालो नै कहलिन्छ । सबैभन्दा पहिले उनले सोभियत संघको आर्थिक मोडललाई परित्याग गरे र चिनियाँ आवश्यकता अनुसारको अर्थतन्त्रमा आधुनिकीकरणलाई समाजवादका साथ अगाडि बढाए ।

देङ सिआओ पिङले शुरू गरेको सामाजिक–आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा भेटिँदैन । सन् १९७८ देखि २०१६ को बीचमा चीनको कुल र्गाहस्थ्य उत्पादनमा ३,२३० प्रतिशतले वृद्धि भएको छ । यसबीचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिस मध्यम वर्गका रूपमा उकासिए । चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म चीन विदेशी व्यापारमा अगुवाको रूपमा उदायो । सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई दिनमै गर्छ । देङ सियाओ पिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक–आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए ।

– श्रवण राई, काठमाडौं

प्रतिक्रिया दिनुहोस्