पर्वत ।
हिमालपारीको जिल्ला मुस्ताङका सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप मुस्ताङका ५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको हो ।
गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले एक समारोहकाबीच मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । थकालीले स्वास्थ्य उपचार खर्चमा सबै नागरिकको पहुँच पुग्न नसक्ने भएकाले सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको बताउनुभएको छ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले २०७२ साल चैत २५ गतेबाट बीमा कार्यक्रम लागू गरेको थियो । तर, मुस्ताङमा चालू वर्षको जेठ महिनादेखि यस कार्यक्रम लागू भए पनि बीमा फोकल पर्सनको प्रशिक्षण तथा आवश्यक तयारीका लागि ६ महिनापछि मात्र कार्यान्वयनमा आएको हो ।
बीमा कार्यक्रममा सेवा प्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइने जनाइएको छ । बीमा दर्ताका लागि सम्बन्धित जिल्लाका वडा–वडामा एजेन्ट अर्थात् फोकल पर्सन खटाइने छ । बीमामा आबद्ध भएका नागरिकको सेवा ३ महिनापछि मात्र शुरु हुन्छ । बीमामा ७० वर्ष कटेका ज्येष्ठ नागरिक तथा अति विपन्न परिवारलाई निःशुल्क व्यवस्था मिलाइएको छ ।
अपांगता भएका वा स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत सहुलितमा स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । अन्यको हकमा ५ जना परिवार संख्या भएका नागरिकलाई वार्षिक ३५ सय रुपियाँ शुल्क तिरेपछि बीमामा आबद्धता गराइन्छ । सबैले यो सुविधा पाउँछन् । तर, ५ जनाको संख्याभन्दा बढी भएमा थप शुल्क लाग्नेछ ।
सरकारले उपलब्ध गराउने बीमा सुविधा २ लाखसम्मको हुनेछ । मुस्ताङको जिल्ला अस्पताल जोमसोम र थासाङको लेते प्राथमिक केन्द्रबाट स्वास्थ्य बीमाको सेवा लिन सकिनेछ । मुस्ताङबाट रिफर गरेको वा कुनै कारणवश अन्यत्र आकस्मिक स्वास्थ्य सेवा लिन परेमा पोखराको मणिपाल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेएमसी अस्पतालमा उपचार गर्न सकिने जनाइएको छ ।











प्रतिक्रिया