कांग्रेसमा युवा पुस्ता

0
Shares

मुलुकमा परिवर्तन, विकास र सामयिक सुधारको चाहना राख्ने तर पुरानो पुस्ताका नेतालाई नै राजनीतिक दलको नेतृत्व दिने मानसिकता विरोधाभासपूर्ण छ । समयको मागलाई बुझेर पुराना पुस्ताका केही नेताहरू आफैं किनारमा उभिए पनि अधिकांशले भने नेतृत्वका लागि रोईकराई गर्नछोडेका छैनन् ।

शुक्रबार राजधानीमा शुरू भएको नेपाली कांग्रेसको महाधिवेशनमा सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको चाहना बुझेर सभापतिमा उम्मेदवारी दिनुभएन । तर, त्यही पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो लोभबाट मुक्त भएको उदात्त मानसिकता देखाउन सक्नुभएन । उद्घाटन सत्रमै बिलौना शैलीमा ‘जीवनमा अन्तिम पटक’ जिताइदिन आम कार्यकर्तासमक्ष बिलौना गर्नुभयो ।

करिब सात वर्षअघि सम्पन्न १३औं महाधिवेशनमा ‘अन्तिम पटक’ भन्दै यसरी नै बिलौना गर्दै मत मागेका देउवाले पुनः सोही शैली अपनाउनु नेपाली कांग्रेसलाई परिवर्तनको स्रोत बनाउन चाहने नागरिकका लागि चोट पुग्ने विषय बनेको छ । देउवाको प्यानलमा तुलनात्मक रूपमा युवाको परिमाण न्यून रहनुले पनि पुस्तान्तरणलाई नेकाको संस्थापन पक्षले महत्व दिन नसकेको पुष्टि हुन्छ ।

नेपालमा जहानियाँ राणा शासनलाई हटाउन आठ दशकअघि योगदान पुर्याएको परिवर्तनप्रेमी पार्टीमा आज पनि ७० वर्ष पार गरेका वृद्ध नेताहरू अन्तिमपटक भन्दै भोट मागिरहेका छन् । १९९२ सालमा नेपाल प्रजा परिषद्को स्थापनासँगै टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीलगायत १९–२० युवाले राणाकालीन काठमाडौंजस्तो ठाउँमा पर्चा छरेर जनतालाई सजग बनाउने जुझारु इतिहास बोकेको कांग्रेसमा वृद्ध नेताले ठाउँ ओगटिरहनु विडम्वना हो ।

२००६ सालमा दुई पार्टी मिलेर बनेको नेपाली कांग्रेसमा पछिसम्म पनि दुई धार कायम रहे पनि बिपी कोइराला रहँदासम्म पार्टी एकीकृत अवस्थामै रह्यो । तर, पछि गिरिजाप्रसाद कोइरालाले ७४ र ३६ सांसद बाँडेर पार्टीलाई भित्रबाटै विभाजित गरिदिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजा गरी तीन नेताका साथ रहेको तीन समूहमा नेपाली कांग्रेस विभाजित भए पनि सिंह र भट्टराई एकै ठाउँमा उभिए भने कोइराला भिन्न विचारका साथ अघिबढे । आफ्नै दलका प्रधानमन्त्री भट्टराई अश्रुधाराका साथ पद छोड्न लगाएर गिरिजाले विभाजनको जो आलोच्य दृश्य मञ्चन गर्नुभयो, त्यसपछि नेकाभित्र एउटै दलको नाम लिए पनि मानसिक एकीकृत आचरण आर्जन हुनसकेन ।

२०१४ सालको संसदीय निर्वाचनमै प्रजातन्त्रवादी नेपाली कांग्रेसलाई भारी बहुमतले विजयी गराउने र प्रमुख प्रतिपक्षमा पनि प्रजातन्त्रमै विश्वास गर्ने नेपाल गोरखा परिषद्लाई जिताउने नेपाल जनताको मानसिकता आज समावेशी लोकतन्त्रमा पुगिसकेको छ । तर, देउवा प्रजातन्त्रलाई राजासमक्ष चढाउने प्रधानमन्त्रीको अनुभव सँगालेका व्यक्ति जसले पार्टीलाई पछिल्लो संसदीय निर्वाचनमा इतिहासमै सबैभन्दा कमजोर बनाए, उनले पुनः नेतृत्वका लागि हात जोड्न मिल्ने हो ? पार्टीलाई सशक्त बनाउन विचारप्रधान हुनुपर्छ तर, अधिकांश व्यक्तिवादी बनेको देखिन्छ । उनीहरू आ–आफ्नै सुरले हिँडिरहेका छन् । वस्तुतः त्यहाँ सुर होइन, बेसुरले काम गरेको छ । दललाई सुरमा ल्याउन समयको परिवर्तनलाई बुझेको नयाँ पुस्ता नै चाहिन्छ । नयाँ पुस्ताले उम्मेदवारी दिएका पनि छन् तर विजयका लागि उनीहरू विभिन्न समूहमा विभाजित हुनुको साटो, एकीकृत हुनभने आवश्यक छ ।

Skip This