महर्षि विशुद्धदेवको जन्मजयन्तीमा सम्मान



नेपाल समाचारपत्र, काठमाडौं । 

भारतको जम्बु काश्मीरमा जन्मेर महर्षि विशुद्धदेवका नामबाट नेपाललाई कर्म क्षेत्र बनाई सेवा गर्ने पूर्णचन्द्र शर्माको जन्मजयन्तीका अवसरमा शुक्रवार काभ्रे जनागालस्थित हंसदा आश्रममा योगाचार्य, साधु–सन्त तथा दाता महानुभावलाई सम्मान गरियो ।

दिल्ली विश्वविद्यालयबाट भौतिक शास्त्र, राजनीतिक शास्त्र र दर्शन शास्त्रसमेत विषयमा स्नातकोत्तर  विशुद्धदेवले वेद, वेदान्त, पुराण, योग, मनोविज्ञान र आयुर्वेद शास्त्रमा उच्च ज्ञान हासिल गर्नुभएको थियो । उहाँको ज्ञानबाट नेपालमा हजारौँ व्यक्तिहरू प्रशिक्षित बनेर मुलुकको विभिन्न क्षेत्रमा मानसिक तथा शारीरिक शुद्धिका लागि समर्पित भएर लागेका छन् ।

हंसदा आश्रमका संरक्षक योगाचार्य उद्धवप्रसाद भट्टराईका अनुसार स्वामी १००८ सच्चिदानन्द विशुद्धदेवले मानसरोवर कैलाश पर्वतनजिकै रहेको गन्धमादन पर्वतमा २० वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो ।

२०४० सालदेखि नेपालको दाङ, काठमाडौंस्थित स्वयम्भू, काभ्रेको जनागाललगायतका ठाउँमा रहेर उहाँले आध्यात्मिक चिन्तन बढाउनुभएको थियो । स्वामी विशुद्धदेव नेपालमा चरित्र निर्माण संघको स्थापना गरी मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारीको भावना विकास गर्न महत्त्वपूर्ण योगदान दिर्ने महर्षि मानिनुहुन्छ ।

स्वामी नीलकण्ठ बाबाको प्रमुख संरक्षकत्वमा सम्पन्न जन्मजयन्ती समारोहमा महर्षि विशुद्ध देवका योगदानबारे डा. इन्दुल केसी, सिर्जना शर्मा, स्वामी सत्यानन्दलगायतले प्रकाश पार्नुभएको थियो । स्वामी ऋषिकुमार पञ्चशीलको अध्यक्षतामा चलेको सो कार्यक्रममा हंसदा आश्रमको विभिन्न भौतिक निर्माणमा सहयोग गर्ने दाताहरूलाई दोसल्ला र मालासहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्