डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम



पुष्करर बुढाथोकी, भक्तपुर ।

भक्तपुर सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालले पहिलो पटक अस्पताल अन्तर्गतका कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको  आयोजना गरेको छ । अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्दै अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

व्यवस्थापनका आधारहरूका विषयमा प्रस्तुतीकरण गर्दै उहाँले कर्मचारीहरू निरन्तर रूपमा प्रोत्साहित हुनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै अस्पतालका प्रबन्ध निर्देशक राजु मृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरू एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।\

उहाँले अस्पतालमा आउने बिरामीहरूको सेवा सुविधालाई अझ स्तरीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।प्रबन्ध निर्देशक  जोशीले  कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा अस्पताल व्यवस्थापन सदैव तयार रहेको बताउनु भयो ।

कार्यक्रममा इवामुरा कलेज अफ हेल्थ साइन्सका नर्सिङ डाइरेक्टर सानुमाया खडकाले अनुशासनका विषयमा र अस्पतालका जनरल फिजिसियन डाक्टर  महेश चौहानले बिरामी व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै गरी अस्पतालका प्रशासन प्रमुख मनिता बज्राचार्यले तनाव व्यवस्थापन र अस्पतालकै मेट्रोन सुरेसा धमलाले सञ्चार व्यवस्थापनका विषयमा कक्षा सञ्चालन गर्नु भएको थियो ।

सो अवसरमा अस्पतालका कर्मचारीद्वय रञ्जना गोसाईं र रचना दुंगनालाई बिदाइ तथा सम्मान  गरिएको थियो ।कार्यक्रममा अस्पतालका सम्पूर्ण विभागका इन्चार्ज तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्