ढकाल राखेप सदस्यसचिव



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई दिइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिईएको मन्त्रालयका निमित्त सचिव डा.कमलप्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद विकास ऐन–२०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि राखेप सदस्यसचिवको जिम्मेवारी दिइएको पोखरेलले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले यसअघि नियुक्त भएका रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपमा सदस्यसचिवको पद रिक्त भएको थियो । नयाँ खेलकुद ऐनअनुसार सदस्यसचिव नियु्क्त गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एक महिलासहित दुईजना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ ।

उक्त समितिको सिफारिसको आधारमा एक उपयुक्त व्यक्तिलाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्ने प्रावधान छ । अहिले युवा तथा खेलकुद मन्त्रालयमा सचिव नै नभएका कारण सदस्यसचिवको नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । मन्त्री गहतराजले मन्त्रालयमा सचिव आउनेबित्तिकै नियुक्ति प्रक्रिया अघि बढ्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्