सरकारी प्रक्रियाका कारण रोकिएको फिफा ‘ड्रिम प्रोजेक्ट’



विजय नेपाली, पोखरा। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भिंडाबारीमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर सरकारी प्रक्रियाका कारण अझै बन्न सकेको छैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको एन्फा टेक्निकल सेन्टरको काम ३ वर्षदेखि ठप्प भएको हो ।

दक्षिण एसियामै सबैभन्दा ठुलो नमुना प्रजोक्टको रूपमा फिफाले नेपालमा लगानी गर्न लागेको हो । तर, परियोजना ठुलो भएकाले यसको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले हालसम्म रोकिएको हो । मुख्य फुटबल एरिया सहितको एन्फा टेक्निकल सेन्टरको डिपिआर २ वर्ष अघि नै बनेपनि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन आउन ढिला हुँदा ३ वर्षसम्म पनि परियोजनाको सुरु हुन सकिरहेको छैन ।

२०७६ सालमा नेपालले प्रोजेक्ट पाएको थियो । दक्षिण एसियामै फिफाको यो सबैभन्दा ठुलो लगानी हो । फिफाले १७ अर्ब रुपैयाँ सहयोग गर्दै छ । उक्त सहयोग पाउने भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सङ्घमा आबद्ध ४८ जिल्लामा परियोजना बनाउने बारे जानकारी गराएको थियो । जसमा कास्की जिल्लाले आवश्यक जग्गा उपलब्ध गराउन सक्ने भएपछि टेक्निकल सेन्टर बनाउने योजना अघि सरेको थियो ।

फिफा अन्तरगतको उक्त परियोजनाका सम्पूर्ण काम सकिए पनि वातावरणीय प्रभाव मुल्याङ्कको प्रतिवेदन मात्रै एन्फालाई हात पर्न बाकि हो । प्रतिवेदन आयसँगै परियोजना टेन्डर प्रक्रियामा जानेछ  र शिलान्यास हुनेछ । फिफा ड्रिम प्रोजेक्ट कोर्डिनेटर गोकुल थापाले वातावरणीय प्रभाव मुल्याङ्कको प्रतिवेदनका कारण काम अघि बढ्न नसकेको बताए । उनले शुक्रवार परियोजनाबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले ड्रिम प्रोजेक्ट निमार्ण हुने स्थानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा थापाले ड्रिम प्रोजेक्ट कसरी बनाउने र कस्तो बन्ने भन्ने विषयमा प्रकाश पारेका थिए । ‘हाम्रो तर्फबाट सबै काम सम्पन्न भएका छन् । सरकारी तवरबाट कागजपत्र आउने काम मात्रै बाकि रहेको छ’ थापाले भने,‘यो दक्षिण एसियाकै ठुलो लगानी हो । यो निकै सुन्दर स्थानमा पनि बन्न लागिरहेको छ ।

फिफाका प्रतिनिधिहरूले पनि यसलाई मन पराएका छन् ।’ तर, परियोजना २०२२ भित्रै सुरु हुनुपर्नेछ । अन्यथा यो लगानी नेपालले गुमाउने खतरा रहेको छ । परियोजना पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा गरी सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार यो वर्षभित्रै शिलान्यास हुने जानकारी आएको बताए ।

केही व्यक्तिले बाढि पहिरो आउने स्थान भन्दै उजुरी फिफालाई दिए पनि पदाधिकारी स्वयम् आइ मूल्याङ्कन गरी बिहीबार मात्रै उक्त विषयको प्रतिवेदन फिफामा पुगेको उनले सुनाए । ‘बाढी आउने ठाउँ भन्दै उजुरी दिएका थिए । तर, अनुसन्धान गरी हिजो बेलुका मात्रै फिफामा प्रतिवेदन पुगेको छ’ उनले भने ।

उता माछापुच्छ्रे« गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले परियोजनाको भौतिक काम सुरु नहुँदा स्थानीयले आफूलाई बारम्बार प्रश्न गर्ने गरेको बताए । ‘स्थानीयबाट केही अवरोध छैन । बरु परियोजनाका लागि कहिले जग्गा दान समेत गरेका छन् । मलाई स्थानीयवासीले किन बनेको छैन भनेको भन्यै छन् । यो परियोजना हाम्रो लागि स्वागत योग्य रहेको छ’ उनले भने ।

उनले गाउँपालिकाको तर्फबाट ५० लाखको तटबन्धको काम सम्पन्न भएको सुनाए । ‘हामीले ५० लाखको तट बन्धन लगाएका छौ । यसको लागि कुल ४ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने लागत निस्किएको छ । गाउँपालिकाबाट ५० लाख रुपैयाँ र निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख रुपैयाँ छुटिएको हो’ उनले भने । प्रदेश सरकारले पनि यस्का लागि आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले परियोजना सफल पार्न प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । उनले मर्दि र इदि खोलाको बिचमा पर्ने भएकाले तटबन्ध लगाउन सहयोग गरिदिन आग्रह गरे । ‘यो धेरै ढिला भइसक्यो । अब पनि ढिला हुन गयो भने स्थानीयले हामीलाई नै लखेट्छन्’ उनले भने ।

फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलो छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रावास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ ।

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृत्रिम मैदान, दुई बालुवा मैदान, स्विमिङ पुल, रेस्टुरेन्ट,पुस्तकालय, जिम हल तथा सभा हल रहने योजनामा रहेको छ ।

प्रदेश सरकारको दायित्व पुरा गछौँ : मुख्य मन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले प्रस्तावित परियोजनाका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थलगत निरीक्षण गर्ने आफ्नो चाहाना ढिला भएपनि पुरा भएको सुनाउँदै प्रदेश सरकारको दायित्वभित्र पर्ने काम पुरा गर्ने बताएका हुन् ।

उनले फिफाको परियोजना गण्डकी प्रदेशमा पार्न सहयोग गर्ने एन्फा, स्थानीय तथा जनतालाई धन्यवाद समेत व्यक्त गरे । ‘गण्डकी सम्भावना बोकेको प्रदेश हो । सम्भावना मध्ये पर्यटन प्रमुख हो । विश्वकै लोकप्रिय खेल फुटबलले यहाँ पर्यटन भित्र्याउन ठुलो भुमिका खेल्छ ।

यो परियोजनालाई हामीले लौरोको रूपमा लिएका छौँ’ उनले भने, ‘प्रदेश सरकारको सिङ्गो दायित्व हो । यसबाट प्रदेश सरकार भाग्दैन । हामीले यसलाई सहर्ष स्विकार्छौ ।

यति मात्रै होइन यो त हाम्रै अथ मन्त्रीको पनि निर्वाचन क्षेत्र हो । सबै एकताबद्ध भएर लाग्नुहोस् यो यही बन्छ ।’उनले केन्द्र सरकारसँग समेत आवश्यक समन्वय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्