बृहत् पोषण सम्बन्धी तालिम 



अमृत अर्याल, स्याङ्जा ।

स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण प्याकेज सम्बन्धी सात दिने क्षमता अभिवृद्धि तालिम वालिङ नगरपालिकामा सुरु भएको छ । वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई बृहत् पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिन सुरु गरिएको हो ।

वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सु आहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी तालिमको सुरुवात गरिएको हो ।

पोषण सम्बन्धी बृहत् विषयवस्तुको एकीकृत प्याकेज, पोषण सम्बन्धी व्यवहार सुधार र कुपोषण व्यवस्थापनका लागि क्षमता विकास गर्ने मुख्य उद्देश्य सहित तालिम सञ्चालन गरिएको हो । तालिम आगामी ९ गतेसम्म सञ्चालन हुने छ ।

तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको सुरुवाती वर्षहरूमा पोषणमा गरिने लगानीले उनीहरूसँगै उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकृत राजन भट्टराईले एक हप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनुभयो । स्वास्थ्यकर्मीहरू प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरू दिएर समाज रूपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनुहुँदै राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य सङ्कटहरूसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्त्व रहेको विचार व्यक्त गर्नुभयो ।

पोषण सम्बद्ध सूचक सुधारका लागि स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित तालिमले कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनमा सघाउ पुग्ने विश्वास लिइएको छ । पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पनि तालिम महत्त्वपूर्ण रहेको नगर स्वास्थ्य प्रमुख कमल पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्