नागरिक खुसी हुने मन्त्री आलेको अर्को कदम : नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो पद बहाली ग्रहण गरेको हप्ता दिन पनि बित्न नपाउँदै एक पछि अर्को गर्दै नागरिकलाई खुसी पार्ने खालका कदमहरू चाल्नु भएको छ ।  नेपाल वायुसेवा निगमका कर्मचारीको आन्दोलन स्थगन, त्रिभुवन विमानस्थलको आन्तरिक हवाई उडान क्षेत्रको छड्के अनुगमनदेखि विभिन्न राम्रा कुरा र कामहरू गर्दै आउनु भएका मन्त्री आलेले पुनः नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने खालको कदम चाल्नु भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान नभएर खाली खासै मैदानमा परिणत भएका विमानस्थलमा मन्त्री आलेको निर्देशनमा आइतबारदेखि हवाई उडान सुरु हुने भएको छ । मन्त्री आलेको निर्देशनमा नेपाल वायुसेवा निगमका जहाजले अब दैनिक रूपमा सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि हवाई उडान भर्ने भएको छ ।

बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले यहाँका पहाडी जिल्लाका राजमार्गहरू अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिनु भएको हो ।

मन्त्री आलेले जहाज नियमित उडान गर्न निर्देशन दिएको खबर पाएपछि सुदूरपश्चिमका नागरिकहरू उहाँप्रति निकै खुसी हुनुका साथै धन्यवाद समेत दिन थालेको आदर्श गाउँपालिका तलाराका स्थानीयवासी टेकबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिराले आवत जावतमै कठिन भएको बेला मन्त्री ज्युले जहाज चलाउन निर्देशन दिनुभयो, हाम्रा लागि खुसीको विषय बनेको छ, नागरिक खुसी भएका छन् ।”

मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरामा हाम्रो जहाज सञ्चालन थियो, अब मन्त्री ज्युको निर्देशन पछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाई उडान सञ्चालन हुने छ ।” बर्सातका कारण बाढी पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातायात सेवाका लागि निकै सास्ती हुँदै आएको छ ।

बाढी पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नु भएका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी पहिराले बाटा, घाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उहाँले सुदूरपश्चिममा पहाडी जिल्लामा जहाजको नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनु भएको हो ।

मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारबाट कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सहुलियत भाडा दर कायम गरी हवाई उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ ।

मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौँ पनि उडान गर्ने भएको छ । यसैबिच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलको समेत निरीक्षण गर्नु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

विमानस्थलको निरीक्षण गर्नु हुँदै मन्त्री आलेले गेटा विमान स्थललाई राष्ट्रिय स्तरको विमान स्थलमा बिस्तार गर्नु पर्ने बताउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ८३ बिगाहा क्षेत्रफल रहेको विमान स्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको लागि बजेट विनियोजन गर्ने समेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्