कोरोना संक्रमितको संख्या बढ्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

उपत्यकामा चाडपर्वको मौसमसँगै बढेको भीडका कारण कोरोना संक्रमितको सख्ंया बढ्न थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै कोरोना संक्रमितहरुको संख्या ५ सय ४५ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित संख्या ११ हजार ३ सय १५ पुगेको छ । काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा ६ सय २८ र भक्तपुरमा ५ सय ७७ छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ भने ७ सय २६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसै गरी, कोरोनाबाट निको हुनेको दर ९७ दशमलब २ प्रतिशत छ ।

केही समयदेखि घट्दै गइरहेको संक्रमितहरूको संख्या फेरि बढ्दै गए तापनि अस्पतालको भने संक्रमितको चाप खासै नबढेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले भन्नुभयो– ‘चाडवाडका बेला संक्रमणको संख्या केही बढेको हुन सक्छ । तर, अस्पतालको वार्ड, सघन उपचार कक्षमा बिरामीको चाप छैन । एक सातासम्म तथ्यांक हेरौं ।’

६ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित छन् ।

यसैबीच, दशैं अगाडि कुल जनसंख्याको ३३ प्रतिशत मानिसलाई कोरोनाविरूद्धको खोप दिने सरकारी लक्ष्य पूरा हुन सकेन । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले दिएको तथ्यांकअनुसार बुधबारसम्म कुल जनसंख्याको २२ प्रतिशत मानिसलाई मात्र खोप दिइएको छ ।
खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार अहिलेसम्म ६५ लाख ४ सय ६३ जनाले पूर्ण मात्रा खोप लगाएको जानकारी दिनुभयो । यो भनेको कुल जनसंख्याको झन्डै २२ प्रतिशत हो । तर, उहाँले नेपालमा हालसम्म १८ वर्षमुनिका बालबालिकालाई खोप नलगाइएका कारण लक्षित उमेर समूहमा भने ३३ प्रतिशत मानिसमा खोप लगाइएको बताउनुभयो ।

गत साउन २८ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभामा असोज मसान्तसम्म ३३ प्रतिशत अर्थात् कम्तीमा १ करोड जनतालाई खोप लगाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्