प्रम बाढीपहिरोको स्थलगत अवलोकनमा

तत्काल उद्धार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन



डोटी/बझाङ/बैतडी ।

बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा बिहीबार सुदूरपश्चिमको डोटीको दिपायल पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको तत्काल उद्धार र राहतका लागि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिरोले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने जिकिर गर्दै भन्नुभयो– ‘बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ । विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक छ । तपाईंहरुले प्रभावितलाई चुस्तरूपमा सेवा दिनुहोला ।’

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनुहुन्छ । उक्त टोली बाढी प्रभावित सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा बिहीबार बिहान काठमाडौंबाट सुर्खेत हुँदै दिपायल आइपुगेको हो । टोलीले हेलिकोप्टरबाटै बाढी–पहिरो क्षेत्रको निरीक्षण गरेको थियो ।

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढी–पहिरोमा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । सोही क्रममा मन्त्री आलेले बाढी–पहिराले अवरुद्ध भएका यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गर्नुभयो ।

डोटीमा मात्रै बाढी–पहिरोका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभएको थियो । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मर्नुका साथै २५ घाइते तथा २० चौपाया बेपत्ता, १ सय १० घरधुरीका ५ सय जना विस्थापित तथा दुईवटा झोलुंगे पुलमा क्षति भएको विवरण पेस गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बिहीबार नै बझाङ पुगेर त्यहाँको क्षतिको अवलोकन गर्नुभएको छ । टोलीले हेलिकोप्टबाटै सदरमुकाम चैनपुर आसपासका क्षेत्र, थलारा, खप्तडछान्नामा बाढी–पहिरोको अवलोकन गरेको छ ।

थलारा गाउँपालिका–४ डिख्लामा प्रधानमन्त्री देउवाले बाढी–पहिरोको क्षतिका विवरण बुझ्न जाने कार्यतालिका रहेको भए पनि थलारामा हेलिकोप्टर अवतरण हुन नसक्दा प्रधानमन्त्री देउवाको टोलीले हेलिकोप्टरबाटै अवलोकन गरेर हो । बझाङ जिल्लाको सबैभन्दा बढी मानवीय क्षति भएको थलारामा हेलिकोप्टर अवतरण हुन नसकेपछि सदरमुकामस्थित सेनाको ब्यारेकमै हेलिकोप्टर अवतरण गराइएको थियो । प्रधामन्त्री देउवाले बझाङस्थित सेनाकै ब्यारेकमा जिल्लास्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुखहरूसँग जिल्लाको स्थलगत जानकारी लिनुभएको थियो । उहाँको टोलीलाई विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले थलारामा भएको जनधनको क्षतिबारे जानकारी गराउनुभएको थिए ।

प्रधानमन्त्रीको टोलीलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चेतराज बजालले बझाङ जिल्लामा ९ जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेकाले उनिहरुको खोजीकार्य तथा पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकाहरुलाई घरनिर्माण तथा पुनर्बासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटोछरितो मर्मत तथा सञ्चालन गर्नुपर्ने लगायतको ६ बुँदे मागपत्र बुझाउनुभएको थियो ।

उक्त मागपत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीले बैतडीको बाढी–पहिरो प्रभावित क्षेत्रको पनि निरीक्षण गर्नुभएको छ । बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले प्रधानमन्त्री देउवाले सिगास गाउँपालिका–५ को ढुंगाड क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी–पहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताउनुभएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताउनुभयो ।

ढुंगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १ सय ५० बिगाहा खेती गरेको जमिन बगरमा परिणत थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरेर पहिरोमा परी ४ जनाको ज्यान जानुका साथै १ दर्जन घर–परिवार विस्थापित भएका छन् ।

प्रधानमन्त्रीको टोली डोटी र बझाङपछि बैतडीको निरीक्षण गरेर डडेल्धुरा पनि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्