एमाले फुटेको छैन, कमजोर नठानौँ : वरिष्ठ नेता पौडेल



सीताराम अधिकारी, धादिङ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले पार्टी नफुटेकोले कमजोर नआँक्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । मंगलबार आमाको किरिया पुत्री बसेका नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न धादिङ आउनु भएका काँग्रेसका वरिष्ठ नेता पौडेलले एमाले पार्टी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँग्रेस सक्षम हुनुपर्ने बताउनु भयो ।

एमाले पार्टीगै भएकाले एमालेसँगको लडाइँलाई अझै सामान्य रूपमा नलिन नेता पौडेलले नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। उहाँले नेपाली जनताको भरोसाको केन्द्र कसरी नेपाली काँग्रेस बन्न सक्छ भन्ने कुरा प्रमाणित गर्नु आवश्यक रहेको भन्दै पार्टीले वडा स्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो।

पार्टीको अधिवेशन तोकिएकै समयमा गर्न पार्टी लागेको बताउँदै आफ्नो स्वार्थको लागि लोकतन्त्रलाई जोखिममा राख्ने, पार्टीलाई जोखिम राख्ने र राष्ट्रलाई जोखिम राख्ने प्रवृत्तिसँग काँग्रेसको लडाइ रहेको नेता पौडेलले बताउनुभयो ।

धादिङ बेसीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलसँगै रहनुभएका नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले मंसिर भित्र पार्टीले १४ औँ महाधिवेशन गरेर नयाँ नेतृत्व चुनिने बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा   नेपाली काँग्रेस धादिङको सभापति रमेश धमला, पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्