ओलीले मुलुकलाई पछाडि फर्काउन खोजे : अध्यक्ष प्रचण्ड



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गरिने बताउनुभएको छ । आज माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्य विनायकमा आयोजना गरेको भक्तपुर विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अहिलेको समयमा देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नु भयो  ।

अध्यक्ष प्रचण्डले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आउन खोजे पनि प्रतिगमनकारी आन्दोलनमा पार्टीले खेलेको भूमिकाका कारण जनताको मनमा देशलाई माया गर्ने पार्टी माओवादी केन्द्र रहेछ भन्ने विश्वास जागेको बताउनुभयो ।

प्रचण्डले पछिल्लो समयमा हरेक पार्टीको समस्या समेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनु भयो उहाँले पार्टीप्रति जनमत बनाउन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

बिचमा जनताको मुद्धा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिगमन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरी विश्वास गरेको भन्दै उहाँले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको प्रचण्डले बताउनुभयो ।

आगामी दिनमा माओवादी केन्द्रले पहिलो पार्टी बनेर देशको नेतृत्व गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डाको फाइदा अहिले अरू पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्धा उठाउने पार्टी माओवादी केन्द्र मात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस् ।”

प्रचण्डले अरू पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।बिचमा जनताको मुद्धा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउन खोजेको भन्दै ओलीमा राजनैतिक र कम्युनिस्ट चरित्र नभएको आरोप लगाउनुभयो ।संविधान निर्माण पछि देश र जनताको हितका लागि बाम एकताको नयाँ आधार निर्माण गर्न खोजिएको भए पनि त्यसका विरुद्ध ओली नै भूमिका खेलेको बताउनुभयो ।

ओली आफैले एकताको गठबन्धन भत्काएर राजनीतिक अपराध गरेको उहाँको भनाई छ । प्रचण्डले भन्नुभयो, “एमालेका अध्यक्ष केपी ओलीले देशलाई पछाडि फर्काउन चाहिरहेका छन्, पार्टीमा बहुमतले कारबाही गर्दा पनि ओलीले स्वीकारेनन् र थप निरङ्कुश बन्दै गएपछि त्यो प्रवृत्तिको अन्त्य गर्न खोज्दा संसद् विघटन खेप्नु पर्‍यो, देशी विदेशी प्रतिगामी तत्त्वको सिकार वाम एकतामा पर्‍यो, पछि ओली आफैले एकताको गठबन्धन भत्काए, ओलीले राजनीतिक अपराध गरेका छन् ।”
अध्यक्ष प्रचण्डले  एमाले नेता महेश बस्नेतप्रति लक्षित गर्दै भक्तपुरबाट संशोधनवादीलाई लखेट्नु पर्छ भन्दै त्यस्ता तत्त्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्छ भन्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, बाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गिय संगठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्ले , ४ वटै नगरका संयोजक लगायतले माओवादी केन्द्रलाई देशको पहिलो पार्टी बनाउन सबै सक्रिय रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्