दलहरुमा टीके प्रथा कहिलेसम्म ?



नेपालमा दिनदिनै राजनीतिक दलहरुमा एकपछि अर्को विचलन देखिन थालेको छ । उनीहरु नीति, विचार र सिद्धान्तबाट विचलित भएका देखिन्छन् । यस्तो विचलन शीर्ष तहका नेताहरुदेखि सामान्य कार्यकर्ता तहसम्मै प्रस्ट देख्न सकिन्छ ।

एक–अर्का नेता तथा दलप्रति गरिने अराजनीतिक व्यवहारले जनतामा पार्टीहरुप्रतिको वितृष्णा बढ्दो छ । पछिल्लो नेतादेखि कार्यकर्तासम्म सबै अवसरवादमा चुर्लुम्मै डुबेका छन् । उनीहरु स्वार्थका लागि पार्टी फुटाउनेदेखि संसद् विघटनसम्मका घटनाका मतियार बनिरहेका छन् ।

यस्ता खालका अराजनीतिक गतिविधिसँगै अर्को एउटा अराजनीतिक क्रियाकलाप मौलाउन थालेको छ । पछिल्लो समय हरेक पार्टीभित्र यस्तो खालको विकृति मौलाएको प्रस्ट देखिन्छ । तत्कालीन समयमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनलाई मन्त्री छान्ने जिम्मा दिइन्थ्यो, पछि नेकपा फुट्दा केन्द्रीय सदस्य छान्ने जिम्मा पाए, छाने । बेलाबखत पार्टीका महत्वपूर्ण क्रियाकलापका लागि उनले मान्छे छान्ने गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष यसका ज्वलन्त उदाहरण हुन् । केही समयअघि सम्पन्न माओवादी निकट युथ कम्युनिस्ट लिग वाईसीएलको अध्यक्ष छाने । यस्तै उनले केही दिनअघि सम्पन्न पार्टी निकट अखिल क्रान्तिकारीको अध्यक्षसमेत टीके प्रथामै छाने । पार्टीमा अलिकति विवाद या प्रतिस्पर्धाको अवस्था आउँदा उनलाई जिम्मा दिइन्छ । यस्तै सरकारमा जाने मन्त्री छान्ने जिम्मा पनि प्रचण्डलाई नै दिने गरिन्छ ।

यसबाट उनीप्रति कार्यकर्ताको मनोभाव के छ भन्ने कुरामा भने नेताहरु मौन देखिन्छन् । यसैको प्रभावस्वरुप एकलौटी र टीके प्रथामार्फत अध्यक्ष छानेको भन्दै अखिलको सम्मेलनमा विद्यार्थीहरुले मञ्चमै कुर्सी प्रहार गरे । यस्ता खालका विचलन नेता र कार्यकर्तामा मौलाउन थालेका छन् ।

लोकतन्त्रका ठूला आदर्श छाँट्दै भाषण गर्ने नेताहरु व्यवहारका दास देखिन्छन् । राजनीतिमा प्रतिस्पर्धा र निर्वाचनले अत्यन्त महत्व राख्दछ, जनमत एकातिर भए पनि कुनै अमुक व्यक्तिलाई उसको पहुँच र कुनै नेतालाई मन परेकै आधारमा तोकिने प्रथा वास्तवमा खारेजयोग्य छ । यस्तै सरकार विस्तार हुन झन्डै ३ महिना लाग्ने अवस्था आउनुमा यस्तै टीके प्रथाले गहिरो प्रभाव राखेको छ ।

यस्तै अर्का नेता माधव नेपालको पारा पनि उस्तै छ । उनले नयाँ पार्टी गठन गरेसँगै यस्ता खालका जिम्मेवारी पाइरहेका छन् । उनले पनि पार्टीका तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा पाएका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा यो विषयका महान् खेलाडी नै हुन् । उनले चाहेका र उनलाई सहयोग गर्ने खालका मान्छेलाई काख च्याप्ने गरेको आरोप कुनै नौलो होइन ।

नेपाली राजनीतिमा मालाउँदै गएका यस्ता विकृत प्रथाहरुको अन्त्य गर्दै सक्षम नेतृत्वको लागि सक्षम व्यक्ति चुनिने प्रथा जनताले कहिले पाउने ? यस्तै प्रश्न अचेल सुनिन थालेका छन् । यस्ता टीके प्रथाले जनतामा रहेको राजनीतिप्रतिको विश्वास घट्ने देखिन्छ । जब योग्य व्यक्तिले अवसरबाट वञ्चित हुने अवस्था आउँछ र नेताले नेता छान्न पाउने चलन मौलाउँदै जान्छ । तब यसका दूरगामी असरले अन्ततः देश र जनतालाई नै अप्ठ्यारोमा पार्नेछ ।

यसरी चुनिएका व्यक्तिहरु जनताप्रति होइन, नेताप्रति उत्तरदायी हुनेछन् । जसले नेताकै इशारामा नेताको चाकडी गर्नेछन् । तसर्थ अब हरेक सचेत कार्यकर्ताले यस विषयमा आवाज उठाउनुपर्दछ । राजनीतिमा देखिएका यस्ता अनेक विकृतिलाई दुरुत्साहन गर्नुपर्दछ ।

– विश्व रैगाईँ, काठमाडौं ।

दशैँको धार्मिक एवं पौराणिक मान्यता

देवीभागवत महापुराणअनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्र व्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतका दिनहरूमा निश्चित तिथिमूलक देवी–देवताहरूको अनुष्ठानसमेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।

यस दिन घट अर्थात् कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । यस दिन बिहानै नदी, वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

ब्रह्मवैवर्त पुराणअनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति– पूर्व, चण्डिका– आग्नेय, भद्रकाली– दक्षिण, सर्वमंगला–वायव्य, वैष्णवी– उत्तर, शिवप्रिया– ईशान, जगदम्बिका– जल, थल र आकाश । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, यसै गरी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । सप्तमीका दिन दशैंघरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।

खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र (हातहतियार)को पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य– नवदुर्गास्वरूप नौजना कन्याको र दशमीका दिन बिहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ ।

दशैंको नवरात्रि पूजासँगै बलि पनि दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख पाइन्छ । बलि दुई प्रकारको हुन्छ । श्रौतयज्ञानुसारको पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदिको बलि गर्ने परम्परा छ ।

यसका अतिरिक्त कलश अष्टमंगलका शुभ चिह्नहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दशैँपूजाको थालनी गरिएको हो । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।

नौ रात्रिसम्म पूजा गरेर दशौं दिन बिहान टीका–प्रसाद ग्रहण गरेपछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ्र । जौको जमरालाई महौषधि भनिएको छ । निधारमा विजया देवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ ।

– दीपेश पुन, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्