पृथ्वीनारायण शाहको एकीकरण यात्रा



स–साना राज्यहरूमा बाँडिएका बाइसे–चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने पृथ्वीनारायण शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनले स–साना क्षेत्र जस्तै– भिरकोट, कास्की, लम्जुङ, गोरखामा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए ।

पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । वि.सं. १८७१ कार्तिक १८ गते शुरु भएको नेपाल–अङ्ग्र्रेज युद्धपश्चात् सुगौली सन्धिसम्म यो भूभाग नेपालकै अधीनमा रहेको थियो । पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाहलगायतले अगाडि बढाइरहेका थिए ।

नेपाल एकीकरण अभियानको पूर्णविरामचाहिँ उनको पनाति राजा गिर्वाणयुद्ध विक्रम शाहका पालामा भएको नेपाल–अङ्ग्रेज युद्धपछि भएको थियो । वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए । उनले प्रचलित नियमअनुसाअर आफू राजसिंहासनमा रहनेबित्तिकै माहिला भाइलाई चौतारा पदवी दिएका थिए ।

आफ्ना मुख्यमन्त्री र सेनापति भर्ना गर्नलाई यसअघिका काजी विराज थापा बूढा भैसकेका हुनाले एक योग्य नवयुवकको खोजी गरिरहेका थिए । गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनैलाई कज्याइँ दिई मुख्यमन्त्री बनाएका थिए ।

पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराएका थिए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नुपरेको थियो ।

नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह बनारस पुगेका थिए । उनले काशी जाँदा शासनको बागडोर जेठी आमा चन्द्रप्रभाका हातमा छोडेका थिए । पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरेका थिए ।

सोही बेलामा तीर्थ गर्न भनी गएका जाजरकोटका राजा हरि शाहसँग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक–अर्कालाई बाधा र कुभलो नचिताउने कुराहरूबारे सन्धि गरेका थिए । दोस्रोपटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरेका थिए । यसपटक गोर्खाका १२–२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरिएको थियो भने सैनिकहरूको संख्या १ हजारभन्दा माथि थियो । यीमध्ये केही सैनिक खेतालाहरूको रूपमा नुवाकोट पु¥याइएको थियो ।

तत्पश्चात् कालु पाँडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त रानालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाएका थिए । तर जयन्त रानाले काठमाडौं पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिँदै थप सैनिक र हातहतियार माग गरेका थिए । तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरेका थिए । जयन्त रानाको छोरा शंखमणि राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी सुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरेका थिए । दलमर्दन शाहको हातबाट शंखमणि राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिए ।

नुवाकोटमा गोर्खालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागी बेलकोटमा अड्डा जमाई बसेकाले कालु पाँडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले बेलकोटमा हमला गरेका थिए । जयन्त राना यहाँ पक्राउ परेका थिए ।

नुवाकोट र बेलकोटको विजयपछि गोर्खालीहरूले लामीडाँडामा कब्जा गरेका थिए । तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोर्खालीहरूबीच भीडन्तको सम्भावना बढेको थियो । तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासँँग सन्धि गर्ने भन्ने खबर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनबीच केही समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेका गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई बन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरेका थिए । यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.सं. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा शुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिए ।

पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए ।

वि.सं. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेका थिए । यसमा गोरखाको तर्फ १२०० सैनिक थिए । तर कीर्तिपुरले काठमाडौँ, ललितपुर र भक्तपुरका सैनिकसमेत सहयोग मागेकाले कीर्तिपुरतर्फ ३०० जति सैनिक थिए । यी दुईपक्षबीच बल्खु खोलामा ६ घन्टासम्म लडाइँ हुँदा धेरै गोर्खालीहरूले वीरगति प्राप्त गरेका थिए । कीर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाँचेका थिए ।

कीर्तिपुरको पहिलो युद्धमा वीरगति प्राप्त गरेका काजी कालु पाण्डेका ठाउँमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिएका थिए । वि.सं. १८१९ को भाद्र महिनामा वंशराज पाँडे र केहरसिंहले संगठन गरेको सैनिकका साथै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, सुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठूलो संख्याले मकवानपुरमा आक्रमण गरेका थिए । यहाँ १० घन्टासम्म लडाइँ चलेको थियो र अन्ततः दिग्वन्धन सेनले आत्मसमर्पण गरेका थिए ।

वि.सं. १८२० मा दिग्वन्धन सेनलाई मद्दत गर्ने निहुँमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाका राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधीनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवाङ्गली, द्यौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरेका थिए ।

वि.सं. १८२१ को भाद्र महिनामा सुरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भएको थियो । यस युद्धमा पनि कीर्तिपुरलाई पहिलेजस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि कीर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी कीर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन् । यस युद्धमा कीर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट सुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज फर्कन बाध्य भएका थिए । कीर्तिपुरमाथि तेस्रोपटकको युद्धको नेतृत्व काजी वंशराज पाँडेले लिएका थिए । यो युद्धमा कीर्तिपुरलाई छिमेकी राज्यहरूबाट सैनिक सहयोग भएको थिएन । वि.सं. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसमर्पण गरेका थिए । यसरी काठमाडौं उपत्यका विजयको शुरुवात भएको थियो ।

– श्रीराम गौतम, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्