विश्वकप अघि चार्ज गरिनेछ फुटबल


वाशिंटन, (एजेन्सी)

आगामी २०२६ को फिफा विश्वकपमा प्रयोग हुने आधिकारिक फुटबल आधुनिक प्रविधिको एउटा उत्कृष्ट र अनौठो नमुनाका रूपमा मैदानमा उत्रिँदैछ । जसलाई खेल सुरु हुनुअघि मोबाइल फोन वा अन्य स्मार्ट डिभाइस जस्तै प्लग–इन गरेर चार्ज गर्नुपर्ने हुन्छ । यो अत्याधुनिक बलभित्र एउटा विशेष र निकै हल्का सेन्सर जडान गरिएको छ । जसले बललाई छुने वा चलाउने बित्तिकै त्यसको सटीक लोकेसन तत्कालै ट्र्याक गर्न सुरु गर्छ । सन् २०२२ को कतार विश्वकपमा यो सेन्सरलाई बलको भित्री भागमा तारहरूले बाँधेर झुण्ड्याइएको थियो भने यस पटक २०२६ मा प्रविधिलाई अझ परिष्कृत र सुरक्षित बनाउँदै सेन्सरलाई बलकै एउटा बाहिरी पाता (प्यानल) भित्रै फिट गरिएको छ । वजनका हिसाबले यो सेन्सर यति हल्का छ कि खेलाडीहरूले मैदानमा तीव्र गतिको खेलका दौरान पनि यसको उपस्थिति र तौल कत्ति पनि महसुस गर्न पाउने छैनन् ।

यो स्मार्ट बल रङ्गशालाको वरिपरि जडान गरिएका १२ वटा विशेष हाइ–टेक क्यामेराहरूसँग सिधै कनेक्टेड हुन्छ । जसले बल र मैदानमा गुडिरहेका हरेक खेलाडीको हर्कतलाई प्रतिसेकेन्ड ५० पटकसम्म सूक्ष्म रूपमा ट्रयाक गरिरहेका हुन्छन् । यसरी क्यामेरा र सेन्सरको समन्वयबाट संकलन गरिएको अत्याधुनिक डाटा तुरुन्तै ‘लाइभ’ रूपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को नियन्त्रण कक्षमा पुग्छ । यसको रियल–टाइम डाटाको मद्दतले गोल–लाइन प्रविधि र अफसाइड जस्ता खेलका संवेदनशील एवं विवादित निर्णयहरू पूर्ण रूपमा सही, सटिक र द्रुत गतिमा लिन रेफ्रीहरूलाई ठुलो सहयोग पुग्नेछ । मैदानमा प्रविधिको यो नयाँ चमत्कार पस्कन तयार पारिएको यस बलको आन्तरिक ब्याट्री क्षमता पनि बलियो छ । जसलाई एक पटक फुल चार्ज गरेपछि ६ घण्टासम्म लगातार बिना कुनै अवरोध सञ्चालन गर्न सकिन्छ ।