संसद्को मर्यादा मिच्ने एमाले



नेकपा एमालेले जनताको सार्वभौम संसद्माथि निरन्तर धावा बोलिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले दुईपटक संसद् विघटन गरे ।संसद्को हत्या गरेर तानाशाह बन्न खोजेका ओलीको पतन सोही कारण भयो । यस्तै स्वेच्छाचारिता र अहंताका कारण सग्लो नेकपा दुई टुक्रा भयो ।

त्यसपछि आफ्नै पार्टीभित्र अपमान खप्न नसक्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समेत पार्टी फुटाएर अलग भए । इतिहासकै शक्तिशाली प्रधानमन्त्रीबाट प्रतिपक्षी दलको नेतामा झरेका ओलीले नैतिकताको आधारमा सार्वजनिक माफी माग्दै एमाले अध्यक्षबाट समेत राजीनामा दिएर आत्मालोचना गनुपर्ने बेलामा झन् रुखो अहंता देखाइरहेछन् ।

आफ्ना शासन कालमा मिडियाको सत्तोसराप गर्ने ओली आज मिडियाले सरकारको विरोध नगरेकोमा दुखेसो गर्छन् । जनताका समस्यालाई थाती राखेर व्यापारी पोस्ने केपी ओलीले जनताको समस्या राख्ने थलो संसद् लामो समयदेखि बन्धक बनाएका छन् ।
आफू सरकारमा हुँदा हठात् अधिवेशन अन्त्य गरेर होस् या संसद् भंग गरेर होस्, आफ्ना आलोचनाबाट भाग्ने ओली सरकार आज फेरि

सरकारमा नहुँदा पनि अहंताको चुलीमा उभिएर जनताका समस्यामाथि लातले कुल्चिरहेछ । नेकपा एमालेमा निकै विचलन देखिएको छ । सत्ताको मात लागेका कार्यकर्ता र नेताहरु फेरि पनि सरकारमा जाने अवसरमा आउँछ कि भन्दै सरकारलाई जबरजस्ती चुनावमा जान बाध्य बनाउन खोज्दै छन् । सरकारमा रहँदा लुटेर देशको ढुकुटी रित्याउनेहरु आज इमानको नांगो आदर्श प्रस्तुत गर्न खोज्नु लाजमर्दो हर्कत हो ।

एमाले सिङ भाँचिएको गोरु भएको छ । न ऊसँग सरकार छ, न आफ्नै पार्टी बलियो । जनतालाई जवाफ दिन कुनै शब्द नभेटेपछि संसद् बैठक अवरुद्ध गरेर रमिता देखाइरहेछ । जनताप्रति अनुत्तरदायी निकम्मा एमाले सांसदहरु बाँदरको ताल देखाएर संसद्मा तमासा देखाउँदै छन् । यस्तोमा नेपाली जनता कहिले सचेत हुने ? सरकारमा हुँदा भ्रष्टाचारको आतंक मच्चाएका र बाहिर रहँदा संसद् बन्धक बनाउने एमालेहरुलाई किन भोट दिने, सोच्ने बेला आएन र ? नेपाली जनता विकास र समृद्धिको यात्रामा अघि बढेको हेर्ने रहर बोकेर दुई तिहाइ दिई पठाएकाहरुलाई अब ब्यालेटबाट जवाफ दिनुपर्नेछ ।

– संजय कोइरालला, कास्की ।

होम आइसोलेसन र मास्कका कुरा

यदि कोही संक्रमितसँग कन्ट्याक्टमा हुनुहुन्छ भने वा आफूलाई पनि स्वास्थ्यमा असहज भएको छ भने होम आइसोलेसन बस्नुपर्छ । सामान्य लक्षणजस्तै सामान्य खालको खोकी, ज्यान दुखिरहेको छ भने होम आइसोलेसन बस्नुहोस् । कडा खालको ज्वरो, रोकिँदै नरोकिने रुघा छ भने र घाँटीमा अप्ठ्यारो भएको महसुस भयो भने अस्पताल गइहाल्नुपर्छ । झोल कुराहरू धेरै खानुप¥यो । पर्याप्त मात्रामा पानी पिउनुपर्छ । सबै खाना मिलाई ब्यालेन्स बनाएर खानुपर्छ । एउटै खाना धेरै खानुहुँदैन । तातो बनाउने खाना धेरै पनि खानुहुँदैन ।
मास्क लगाउँदा हामीले विशेष ध्यान पु¥याउनुपर्छ । स्ट्यान्डर्ड पु¥याएर सर्जिकल मास्क लगाउनुपर्छ । सकिन्छ भने दुईवटा मास्क लगाउँदा राम्रो हुन्छ । नाक र मुख छोपिने गरेर लगाउनुपर्छ । मास्कको बाहिरी भाग सकेसम्म नछुने हुनुपर्छ । भीडभाडमा जानुभएको छ भने त्यहाँ लगाएको मास्क डिस्पोज गर्नुपर्छ ।

– सन्देश नेपाल, कलंकी, काठमाडौं ।

गुर्जो के हो ?

यो एउटा लहरेदार पतझर बिरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागजजस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थिका थोप्ला–थोप्लाले भरिएको हुन्छ ।यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरू मुटु आकारका ७–८ वटा नसाहरू भएका करिब १० से.मि. लामा हुन्छन् । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्छन् ।

भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फूलहरू एक्लाएक्लै रहेका हुन्छन् । फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दानाजत्रा हुन्छन् अनि पाकेपछि राता हुन्छन् ।यो उत्तर–पूर्वी भारत, श्रीलंका, म्यानमार, थाइल्यान्ड, भियतनाम, दक्षिणी चीन, मलेसियालगायत नेपालमा पाइन्छ । नेपालमा यो ३००–५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ ।

यसको उपयोगी अंग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, मधुमेह, पुरानो ज्वरो, डेङ्गी तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ ।आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्वलगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंलाजत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक–दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग–प्रतिरोधात्मक क्षमता वृद्घि गरौं ।

यो जस्तोसुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ । डाँठका कलमीबाट नै यसका बिरुवाहरू तयार गर्न सकिन्छ । यसका आँख्लासहितका करिब एकफिट जति लामा हाँगा काटेर माटो र बालुवा मिसाएको ड्याङमा रोपेर नर्सरीमा बिरुवा तयार गर्न सकिन्छ । यसरी हाँगाहरू काटेर अलिकति भाग जमिनमाथि पारी सुताएर राखिन्छ र पानी दिइन्छ ।

पानी जम्नुहुँदैन । किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका बिरुवाहरू असार–श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरू सोझै जमिनमा गाडे पनि हुन्छ ।उष्ण तटीय क्षेत्रमा पाइने लहरे प्रजातिको वनस्पति गुर्जो खोज्ने यति बेला छ्यापछ्याप्ती भेटिन्छ  । प्राचीन समयदेखि नै रोग–प्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने गुर्जो ज्वरो, रुघाखोकी, मधुमेह र चर्मरोगसमेतको उपचारमा उपयोग गरिँदै आएको पाइन्छ ।

पछिल्लो समय भने कोरोना नियन्त्रणका लागि भन्दै गुर्जो पाइने क्षेत्रका प्रायः घरमा पानी वा चियामा उपयोग गर्न थालिएको हो । आयुर्वेद चिकित्सकका अनुसार बेसार, गुर्जो र तुलसीको पातसमेत मिसाएर उमालेको पानी बेलुका–बिहान नियमित सेवन गर्दा रोग–प्रतिरोधात्मक क्षमता बढ्छ ।

– सर्गम घिमिरे, बानेश्वर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्