फुटपाथे पसलका कारण मुख्य सडक अस्तव्यस्त



देशैभरका हरेक जिल्लाको सदरमुकाम र उपत्यकाभित्रकै चोक, गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपूर्ण हुन्छन् । सडकपेटीभरि फुटपाथ व्यापार सञ्चालनमा छन् । अझै काठ्माडौं, भक्तपुर र ललितपुरको फुटपाथहरुमा त पाइला राख्ने ठाँउसमेत हुँदैन ।

जथाभावी सञ्चालन गरिएका फुटपाथ हेर्दै कुरुप देखिन्छन् । फुटपाथ व्यवसायले शहरको सुन्दरतामा ह्रास ल्याइदिएको छ । तरकारी, कपडा, खेलौना, भाँडाकुँडाजस्ता सामानहरु फुटपाथमा जथाभावी बेच्न राखिएका छन् । उसै पनि उपत्यकाका फुटपाथहरु निकै साँघुरा छन्, पैदल यात्रुलाई हिँड्ने ठाउँको अभाव भइरहेको बेला यसरी फुटपाथ व्यवसाय सञ्चालन गर्दा झनै गाह्रो भइरहेको छ ।

फुटपाथमा अहिले मात्र होइन, वर्षांैदेखि व्यवसाय सञ्चालन हुँदै आएको छ । तर पनि सरकारको यसतर्फ ध्यान गएको छैन । सटर भाडा तिर्न नपर्ने भएकाले फुटपाथ व्यवसायी यसरी च्याउ उम्रेजसरी उम्रेका हुन् । पहिले–पहिले सटर भाडा तिर्न नसक्नेले मात्र फुटपाथ व्यवसाय सञ्चालन गर्छन् भन्ने परम्परा थियो तर अहिले त पुँजीपतिले पनि फुटपाथ व्यापार सञ्चालन गरेका छन् ।

टाइम पास र देखासिकीको कारण फुटपाथ व्यवसाय अपनाउने पनि यत्तिकै छ । पसल भाडा पनि तिर्न नपर्ने, फुटपाथमा व्यापार गर्नेलाई नाफा नै नाफा छ । सामान बिक्री गरेर भएको आम्दानी कसैलाई तिर्न पर्ने होइन । बिहान र बेलुका त उपत्यकाका सडकहरु हिँडिसक्नु हुँदैन । पmुटपाथ होइन, हाट बजारजस्तो देखिन्छ । यता पनि फुटपाथ पसल उता पनि फुटपाथ पसल । कहाँ जाऊँजस्तो हुन्छ । पैदल यात्रुलाई निकै सकस हुने गरेको छ । तैपनि हिँड्नै परेको छ । फुटपाथमा सामान सस्तो हुन्छ भनेर हामी खरिद गर्न जान्छौं तर फुटपाथमा पनि सामानको मूल्य पसलमा जति नै हुन्छ ।

फुटपाथमा पनि तैँले सामान राख्ने कि मैले राख्ने भनेर हानाथाप हुने गरेको छ । फुटपाथ व्यापारसँगै जताततै पार्किङ गरेर राखेका सवारी साधन छन् । बेचेखुचेको ठाउँमा राखेको खानेकुराका ठेलाहरुले हैरान पार्छन् । सरकारले सडकपेटी व्यापार गर्न बनाएको कि मान्छे हिँड्न ? यसको जवाफ सरकारसँग पनि छैन । सबैतिर फुटपाथ व्यापारले ढाकेपछि मान्छेहरु बीचबाटोबाट हिँड्नुबाहेक विकल्प छैन । बीचबाटोबाट पैदल यात्रुहरु ओहोरदोहोर गर्न बाध्य छन् ।

वारीसाधनको चाप पनि त्यत्तिकै छ । हाँकिएर आएका सवारीसाधन देखेर डर पनि लाग्ला । ट्राफिक जाम पनि त्यत्तिकै बढेको छ । सडकमा गाडी र पैदल यात्रुको चाप यत्तिकै छ । दुर्घटना पनि बढिरहेको छ । अहिले त साइकल लिएर बीचबाटोमा व्यापार गर्ने पनि त्यत्तिकै छन् । यसले पैदल यात्रुलाई मात्र होइन, सवारी चलाउनेलाई पनि निकै कठिनाइको सामना गर्नुपरेको छ । सवारीसाधन र पैदल यात्रु सँगसँगै हिँड्दा दुर्घटनासम्म हुने गरेको छ । चाडबाड बढेसँगै झन् सडकपेटीमा सामानको ओइरो पहिरो लागेको छ । सामान किन्नेको चाप पनि त्यत्तिकै छ ।

दशैँको लागि उपत्यकाबाहिर जाने सर्वसाधारणले अहिलेदेखि नै सामान खरिद गर्न थालिसकेका छन् । दशैँको लागि घर जाने सर्वसाधारणको संख्या बढेसँगै फुटपाथ व्यापार पनि बढेको छ । सडकको दायाँबायाँ जहाँ हे¥यो फुटपाथ व्यवसायले ढाकिएको छ । ग्राहकले पनि बीचसडकमा सवारी रोकेर सामान किन्छन् । त्यसले झन् समस्या थपिदिएको छ । तैपनि ट्राफिक प्रहरीको ध्यान गएको छैन । सवारी जाम बढेको छ । यी सबैबाट हुने दुःख–कष्टचाहिँ पैदल यात्रुले व्यहोर्नुपरेको छ ।

फुटपाथ पसललाई सरकारले किन व्यवस्थित गर्दैन ? महानगरपालिका, नगरपालिका र वडाको यसमा ध्यान किन जाँदैन । यसरी जनतालाई दुःख दिने फुटपाथ व्यवसायीलाई सरकारले किन हटाउँदैन ? महानगरपालिकाका कर्मचारीहरुले फुटपाथ व्यवसायी कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे सोच्न पर्ने होइन र ? एकदिन आउँछन्, यताको सामान उता पु¥याउँछन्, सामान जफत गर्छन् । अनि दोस्रो दिन फेरि सेलाउँछन् । नगरपालिकाले सडकपेटीमा फुटपाथ पसल सञ्चालन गर्न दिनुहुँदैनथ्यो । सडकपेटी र सडकको किनारामा पार्किड गरेर राखिएको सवारीसाधनलाई पनि तत्काल हटाउनुपर्छ । आफ्नो फाइदाको लागि सवारीसाधन किन्ने अनि दुःखचाहिँ पैदल यात्रीलाई ।

फुटपाथ हिँड्नको लागि बनाएको हो । व्यापार र पार्किड गर्नको लागि बनाएको होइन । यो कुरा फुटपाथ व्यवसायी र सवारी चालकहरुले कहिल्यै नबुझ्ने भए । पूरै बाटो कब्जा गरेर आफ्नो कमाउधन्दा सञ्चालन गरेका छन् । सरकारले पनि पैदल यात्रीको समस्याबारे बुझेर पनि अबुझजस्तो गरी बसेको छ ।

उपत्यकाको रत्नपार्क, जोरपाटी, कंलकी, न्युरोड, सातदोबाटो, लगनखेल, जाउलाखेल, कोटेश्वर, बानेश्वर, भोटाहिटीजस्ता प्रमुख स्थलहरुमा बेलुकीपख कुनै मेला लागेभन्दा कम हुँदैन । सर्वसाधारणको चाप छिचोल्न हम्मेहम्मे पर्छ । आफू व्यापार गर्छन्, कमाउँछन् अनि दुःखचाहि अरुलाई नै दिन्छन् । फुटपाथ महासंघले फुटपाथ व्यवसायीसँग दिनहुँ पैसा उठाउने गरेको छ । स्थानीय गुन्डाहरुले पनि फुट्पाथ व्यवसायीहरुसँग दिनहुँ पचास रुपियाँ उठाउने गरेका छन् ।

फुटपाथ व्यवसायीेबाट उठाएको पैसा विभिन्न क्लब र फुटपाथ महासंघ अनि स्थानीय गुन्डाहरुले बाँडेर खाने गरेका छन् । मेयर, वडाध्यक्षले पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरेकाले फुटपाथ व्यवसायी सञ्चालन गर्न दिएको हो । होइन भने दिनहुँजसो जनगुनासो बढिरहँदा पनि फुटपाथ व्यवसाय हट्न सकेको छैन ।

महानगरपालिकाबाट खटिएका प्रहरीहरुलाई दिनभरि गफ गरेर बस्दै ठिक्क हुन्छ । कोरोनाको जोखिम घटेको छैन । उपत्यकाका चोकचोकमा मेला लागेजत्तिकै छ । फुटपाथ व्यापारीहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । न त भौतिक दूरीकै पालना भएको छ, न त कुनै पनि फुटपाथ व्यवसायीको मुखमा मास्क छ ।

फुटपाथ व्यापारीले फुटपाथ कब्जा गर्दा वा सार्वजनिक बाटो कब्जा गरेर पसल गर्दा ट्राफिक पुलिस, ट्राफिक महाशाखा, महानगरीय प्रहरी मौन छन् । फुटपाथ पसलेहरुसँग आर्थिक लेनदेन गरेकाले ट्राफिक पुलिस र महानगरीय प्रहरी मौन बसेको हो भन्ने पनि नभएका होइनन् ।
फुटपाथमा पसल राख्ने व्यापारीलाई महानगरीय प्रहरीले देखे पनि नदेखेको जस्तो गरेर बसेको छ । उनीहरु फुटपाथमा पसल राख्नेसँग व्यक्तिगत फाइदा लिँदै फुटपाथ पसलेहरुसँग गफ गरेर बसेको देखिन्छ । केही खाएर बसेको पनि नदेखिने त होइन तर पैसा तिरेर खाएको हो कि त्यत्तिकै खाएको हो । कसैलाई पनि थाहा छैन । वडाध्यक्ष र मेयरहरुलाई भोट, कमिसन भए पुगिहाल्छ । कार्यकर्ता पाल्नुपरेको छ । घरधनीहरुले सटर भाडा अलि कम गर्ने हो भने यसरी फुटपाथको व्यापार मौलाउँदैनथ्यो कि !

एकातिर फुटपाथे यात्रुलाई सकस, अर्कोतिर फुटपाथका सामानको वास्तविक मूल्यभन्दा दोब्बर मूल्य भन्ने हुँदा ग्राहक ठगिने हुँदा यसको नियन्त्रण जरुरी छ ।

– सुमन, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्