राष्ट्रकविको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन



नेपाल समाचारपत्र, काठमाडौं ।

यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक अरूको दर्द को आज सुन्छ
मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ ।

नेपाली काव्यसाहित्यका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज जन्म दिन । वि.सं. १९७६ असोज ७ गतेका दिन लमजुङ जिल्लाको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा गत साल भाद्र २ गतेका दिन निधन भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्य सिर्जना गर्नुहुने राष्ट्रकवि घिमिरेको १०३ औं जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भन्नुभयो– ‘राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी सिर्जना गरिएका सिर्जनाहरू कालजयी छन् ।’ कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहनुभएको चर्चा गर्नुभयो । उहाँले राष्ट्रकवि घिमिरेको जीवनको अन्तिम र महत्त्वकांक्षी महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारका सदस्यको अनुमति प्राप्त भएमा प्रज्ञा–प्रतिष्ठान छाप्न तयार रहेको बताउनुभयो

उपकुलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गर्नुभयो ।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दैे भन्नुभयो– ‘प्रकृतिलाई मानवीकरण काव्य सिर्जना गर्नु राष्ट्रकवि घिमिरेका विशिष्ट पक्ष हुन् । यही कारण उहाँ लोकका कवि, राष्ट्रका कवि राष्ट्रकवि हुनुभएको हो ।’

कार्यक्रमको सभाध्यक्षसमेत रहनुभएका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उहाँको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताउनुभयो । उहाँले राष्ट्रकविका सिर्जनाहरूले नेपालका नागरिकलाई राष्ट्र र राष्ट्रियताप्रति प्रेम गर्ने अमर सिर्जनाहरू दिनुभएको विचार व्यक्त गर्नुभयो ।

प्राज्ञ सभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन, उहाँकी धर्मपत्नी महाकाली घिमिरेको सम्मानमा आजीवन भत्ताको व्यवस्था र राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गर्नुभयो ।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इन्जिनियर राजीव घिमिरेले आफ्ना बुबाले जीवनको अन्तिम समयमा ‘ऋतम्भरा’ महाकाव्यमा केही परिमार्जन गर्नुपर्ने कुरा टिपोट गराउनुभएको स्मरण गर्नुभयो । ‘पहिले त बुबाका अक्षर राम्रा थिए, पछि हात काप्न थालेपछि अक्षरहरू नबुझिने हुँदै गए । महाकाव्यका कतिपय अक्षर नबुझिने छन् । हामी खुट्याउने प्रयास गरिरहेका छौं । अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्