सरकारी मास्टरको मस्ती र विद्यार्थीको बेहाल



देशैभरि हरेक जिल्लामा गरिब जनताका छोराछोरी पढून्, केही गरुन् भनेर कति दानी व्यक्तिहरुले जग्गा दान दिएका हुन्छन् । त्यो जग्गामा सरकारी स्कुल बनोस् गरिबका छोराछोरीले पढ्न पाऊन् र भोलि गएर केही गरुन् भनेर आफ्नो कमाइ खाने जग्गा सरकारलाई हस्तान्तरण गरेको हुन् ।

आफ्नो निजी सम्पत्ति सबैको लागि प्यारो हुन्छ । तर हामीले पढ्न नपाए पनि आफ्नो जिल्ला, टोल, वडाका मान्छेले पढ्न पाऊन्, आफ्नो जिल्लामा सरकारी स्कुल र क्याम्पस बनोस् भनेर जग्गा दान दिन्छन् । भावी जन्मिएका बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस् र पढ्न पाऊन् भनेर आफूले कमाइ खाने खेतबारी सरकारलाई बुझाएका छन् ।

सरकारको नाममा जग्गा पास गरिदिएर त्यो ठाउँका जनतालाई अन्धकारबाट बचाउँछन् । विद्यालय बनाउन जग्गा दान दिनु ठूलो धर्मको काम हो । अधिकांश जिल्लामा धेरै मानिसले आफ्नो व्यक्तिगत जग्गा सरकारलाई हरुतान्तरण गरेका छन् ।

पूरै जिल्लाका जनता शिक्षित हुनु नै देशमा विकास हनु हो । तर पढाउने शिक्षक–शिक्षिका सही पाइँदैनन् । स्कुलमा पढ्ने बालबालिकालाई सर–मिसहरुले राम्रोसँग नपढाउँदा बालबालिकाको भविष्यमाथि खेलबाड भइरहेको छ । सरकारी स्कुलमा पढाउने सर–मिसहरु आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दा बालबालिकाको भविष्य सुनिश्चित हुन सकेको छैन ।

नेपाल सरकारबाट नियुक्ति पाएर शिक्षक स्कुल, कलेजमा पढाउन जान्छन् । स्कुलमा शिक्षक भएर आइसकेपछि विद्यार्थीलाई राम्रोसँग पढाउँदैनन् । विद्यार्थीलाई दिनुपर्ने जति समय पनि दिँदैनन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै शिक्षकले स्कुलमा आफ्नो जिम्मेवारी बहन गर्नै पर्दछ । कति सरकारी स्कुलमा पढाउने हप्तादिनमा स्कुल पुग्छन्, हाजिरचाहिँ हप्तादिनको एकैचोटि गर्छन् । स्कुल गए पनि विद्यार्थी पढाउँदैनन् । बैठक कक्षमा गफ गर्ने शिक्षकहरुको दैनिक बनिसकेको छ । राजनीतिका कुरा गर्ने, फेसबुक चलाएर बस्ने, तारको फोनबाट आफन्त र घरमा घण्टांै कुरा गरेर बसेका हुन्छन् ।

यस्ता पनि सर–मिसहरु छन् कि हाजिर गर्न पाएको हुँदैन मेरो आज घरमा काम छ भनेर घरतिर दौडिहाल्छन् । पार्टीको आमसभा र कार्यक्रम छ भनेर विद्यार्थी नपढाईकन कार्यक्रममा सहभागी हुन जाने शिक्षक–शिक्षिकाको पनि अभाव छैन । शिक्षक भएर पार्टी, महासंघ र संघ खोलेका छन् । कानुनले यिनीहरुलाई राजनीति गर्ने इजाजत दिएको छ ।

महिनादिनमा स्कुल पुग्ने, जनताले तिरेको करबाट महिनादिनमा तलबभत्ता खाइरहने, राजनीतिक पार्टीलाई लेबी दिने, राजनीतिक पार्टीको झोला बोक्ने गरेका हुन्छन् । जनताले तिरेको करबाट लुगा लगाएका छन् । खाजा पनि त्यहीबाट खाएका छन् । जागिरबाट बर्खास्त भइसकेपछि जनताले तिरेको करबाटै पेन्सन आउँछ । तर जनताको छाराछोरी नपढाउने र उनीहरुको भविष्यमाथि खेलबाड गर्ने ? सरकारले प्रत्येक आर्थिक वर्षमा स्कुल मर्मत गर्न र स्कुलमा आवश्यक परेको सामान खरिद गर्न भारी बजेट छुट्याएको हुन्छ । सरकारले गरिबको नाममा छुट्याएको छात्रावृत्ति पनि सर–मिस मिलेर खाइदिने गरेका छन् ।

सरकारी स्कुलमा पढाउने सर–मिस जनताको छोराछोरी कुट्नको लागि तलब खाएका हुन् ? जनताले पनि आफ्नो छोराछोरीलाई मर्नकोे लागि स्कुल पठाएका होइनन् । हरेक अभिभावकको चाहना आफ्नो छोराछोरीले पढेर भोलि राष्ट्रको लागि केही गरोस् । त्यही भएर पढ्नको लागि विद्यालय पठाउँछन् ।

स्कुल बनाउने जग्गा पाए । सरकारले पनि स्कुल बनाइदियो । तर आर्थिक कमजोर भएका मान्छेहरु अहिले पनि स्कुल जानबाट वञ्चित छन् । उनीहरुको अधिकार खोसिएको छ । हरेक जिल्लामा विद्यालय निर्माण भएका छन् । त्यही पनि सबै विद्यार्थीले किन पढ्न पाएनन् ।

आर्थिक कमजोर भएकाले आफ्ना छोराछोरीलाई स्कुल पठाएका छैनन् । आर्थिक कमजोर भएर छोराछोरी स्कुल पठाउन नसक्ने गरिब जनताका छोराछोरीलाई कसरी स्कुल ल्याएर पढाउन सकिन्छ भनेर रणनीति बनाउनु सरकारी स्कुलका टिचरहरुको कर्तव्य हो ।

सरकारी स्कुल भनेको छ, शुल्क हे¥यो भने तिर्न सकिन्छ भन्न सकिन्न । भर्ना फिसदखि लिएर मासिक शुल्कसम्म तिर्न पर्छ । आर्थिक कमजोर भएर पढ्न नपाएको विद्यार्थीलाई सर–मिसले निःशुल्क गरिदिने हो भने अधिकांश बालबालिका स्कुल जान तयार हुन्छन् ।

स्कुलमा ल्याएर पढ्न चाहिने आवश्यक सामान सरकारले बजेट नछुट्याए पनि स्कुलमा पढाउने सर–मिसहरुले आफ्नो तलबको थोरै हिस्सा खर्च गरिदिँदा कसैको भविष्य बन्छ । यसो गर्दा ओझेलमा परेको बसेको जिन्दगीहरु सुल्झिन सक्छ । त्यो ठाउका जनता सबै शिक्षित बन्छन् । भोलि त्यो ठाउँमा विकास हुन्छ ।

सरकारी स्कुलमा पढाउने सर–मिसहरुले विद्यार्थीलाई राम्रोसँग नपढाइदिँदा बालबालिकाले बीचमै पढाइ छोड्ने गरेका छन् । आर्थिक कमजोर भएर पढ्न नपाएकाहरुलाई स्कुल आएर पढ्ने वातावरण कसैले पनि बनाइदिएको छैन । सरकारी स्कुलमा भर्ना गर्न लागेकोले पनि निजी स्कुलमा लगेर आफ्नो छोराछोरीको भर्ना गराएका छन् । सरकारी स्कुल कमजोर बनाउने बोर्डिङ स्कुलको दाउ सरकारकै कर्मचारीहरुले गर्दा पूरा भएको छ । सरकारी स्कुलमा पढेको विद्यार्थीले भोलिको दिनमा केही गर्न सक्दैनन् भनेर भ्रम फैलाउने काम पनि निजी विद्यालयबाट नभएका भने होइनन् ।

सबै विद्यार्थीलाई आफ्नो निजी विद्यालयमा ल्याएर भर्ना गर्ने उद्देश्यमा निजी विद्यालयको रणनीति पहिल्यैदेखि सफल भएको छ । भर्ना गर्दा पनि चर्को शुल्क महिनैपिच्छे लिने शुल्क पनि निकै नै चर्को छ । शिक्षाको नाममा जनता ठग्ने विद्यार्थीका अभिभावक लुट्ने काम भइरहेको छ ।

सरकारी स्कुलमा पढाउने शिक्षकहरुले निजी विद्यालयको गलत प्रचार चिर्न नसक्दा निजी त नामी बनेका होलान् तर सरकारीको निकै नै बद्नामी भएको छ । सरकारी स्कुलमा पढाउने सर–मिसहरुले विद्यार्थी राम्रोसँग नपढाइदिँदा र जिम्मेवार नबन्दा गरिबको छोराछोरीले पढ्न पाएनन् ।

आर्थिक कमजोर भएकाले त आफ्नो छोराछोरीहरु निजीमा लगेर पढाउन सक्दैनन् । शुल्क तिर्न नसक्ने मानिसहरुलाई न सरकारले सहगोग गर्‍यो, न त सरकारी कर्मचारीले । पोशाक नभए नि स्कुल आऊ, पढ, भर्ना पछि गर्दा पनि हुन्छ भन्ने हो भने कसैको पनि अधिकार हनन हुने थिएन । पोशाकले पढ्ने होइन, मान्छेले पढ्ने हो भन्ने कुरा यिनीहरुको दिमागमा कहिल्यै पनि नछिर्ने भो ।

निजी विद्यालयको एउटा प्रचार भने सही नै हो जस्तो लाग्छ, सरकारी स्कुलमा नेपाल सरकारले लगानी गर्नु भनेको बालुवामा पानी हाले बराबर हो । राजनीतिक दलदेखि अभिभावकहरु र सर–मिसहरु सबै सुध्रिनै पर्ने बेला भइसकेको छ । अझै पनि सरकारी स्कुल सुध्रिने मौका छ ।

– अनुसा थापा, भक्तपुर ।

भूल सुधार

हिजो आइतबार यसै पृष्ठमा प्रकाशित इन्द्रजात्रासम्बन्धी मेरो लेखमा अन्यथा भएकोले निम्नानुसार सच्याइएको छ :
इन्द्रजात्राको दिन आकाश भैरवको मुखबाट जाँड पाइपद्वारा झारिएको हुन्छ, जुन जाँड भक्तजनले प्रसादको रुपमा खाने गर्छन् तर तँछाडमछाड गर्न पाउँदैनन् । हनुमानढोका दरबारअगाडि रहेको श्वेत भैरवको मुखबाट झारिएको जाँड खान भने भक्तजनहरुले तँछामछाड गर्दछन् ।

– प्रेममान डंगोल ।

प्रतिक्रिया दिनुहोस्