मृत्युलाई बुझौँ, खुशी बनौँ



कुनै पनि जीवजन्तु जन्मेपछि उसको मृत्यु निश्चित हुन्छ । तर कहिले, कहाँ र कति बेला मृत्यु हुन्छ ? त्यसको भने कुनै ठेगान हुँदैन । संसारका सबै वस्तु नाशवान् छन् । पहिलेका र पुराना वस्तु नाशिदै जाने र नयाँ–नयाँ वस्तुको सिर्जना हुँदै जाने यो वैज्ञानिक नियम हो । यसलाई माक्र्सवादले पनि प्रमाणित गरिसकेको छ । संसारमा कुनै पनि वस्तु स्थायी हुँदैन ।

सबै वस्तुको अन्त्य अनिवार्य छ । यो ब्रह्माण्डमा सबै भौतिक पदार्थ नाशवान् हुन्छन् । यो सत्य हो । तर ती सबै पदार्थ नाशवान् भएपछि अर्को रुपमा अस्तित्वमा आउने गरेका छन् । उदाहरणको लागि काठ जलेर नाश हुन्छ । तर त्यसको अर्को रुप खरानी अस्तित्वमा आउँछ । खेतबारीमा राखेको मल गलेर जान्छ तर त्यसको सारतत्व बोटबिरुवाले लिने गरेका हुन्छन् । माटोमा मकैको बीउ रोपिन्छ । रोपेको त्यो बीउ मासिन्छ तर त्यही बीउबाट अरु धेरै मकैका दाना फल्ने गरीे मकैको बोटमा घोगा लाग्न शुरु गर्छ ।

यही रीतले यो विश्वमा सबै भौतिक पदार्थको जीवनचक्र लाखौं वर्षपहिलेदेखि चलिरहेको छ । एउटा पदार्थको नाश भएर त्यसको अर्को रुप अस्तित्वमा आउने यही मान्यताका कारण कतिपय मान्छेले मान्छे मरेपछि अर्को जुनी फेरिएर जन्म लिन्छ भनेका होलान् । वास्तवमा मान्छे मरेपछि फेरि मान्छे भएर जन्मनु असम्भव कुरा हो ।

मान्छे मरिसकेपछि उसको शरीर नाश हुन्छ । त्यो नाश भएको शरीर जलिसकेपछिको अवस्थामा खरानी पो अस्तित्वमा आउँछ । मान्छे अस्तित्वमा आउने भन्ने कुरा हुँदैन । यो त मान्छेको कल्पनाको विषय मात्र हो । यदि मान्छे फेरि अस्तित्वमा आउँदो हो त संसारका सबै प्राणी अर्को जुनी बदलेर अस्तित्वमा आउने थिए । यो असम्भव कल्पना मात्र हो ।

जन्मेपछि म मर्छु भन्ने चिन्तन अरु प्राणीले गर्न सक्दैनन् । यस्तो चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो । मान्छेको जीवनमा जन्म, विवाह र मृत्यु निश्चित भएर पनि अनिश्चित हुँदै आइरहेका छन् । गर्भावस्थाको समय पूरा भएपछि बच्चा जन्मन्छ । जन्मनुअघि त्यो जन्मने बच्चा यस्तै अनुहारको हुन्छ र यस्तै रुपरंगको हुन्छ भनेर पहिले नै भन्न सकिँदैन ।

यसै गरी कोसँग बिहे हुने र कुन दिन हुने भनेर अनुमान लगाउन सकिँदैन । मृत्युका बारेमा त अझै अनुमान लगाउन सकिँदैन । जीवन र जगतको चक्रका बारेमा चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो । अरु प्राणीले सोच्नसमेत सक्दैनन् । मान्छेले जन्मदै आफूसँग मृत्यु लिएर आएको हुन्छ । तर कहिले, कुन दिन र कसरी मृत्यु हुन्छ, उसलाई थाहा हुँदैन । हरेक मान्छेले जानेको छ, मेरो मृत्यु निश्चित छ ।

मृत्युलाई साथमा लिएर बाँचिरहेको उसले सबैभन्दा बढ्ता माया जीवनसँग गरिरहेको हुन्छ । उसलाई मृत्युसँग कुनै भय हुँदैन, कुनै त्रास हुँदैन र कुनै शंका हुँदैन । तर त्यही मृत्युका बारेमा अरु कसैले सुनाइदियो भने त्यस बखत मान्छे सबैभन्दा बढ्ता डराउने गर्छ, सबैभन्दा धेरै तर्सिने गर्छ र सबैभन्दा बढी कहालिने गर्छ ।

आफूले आफैंलाई नसम्झाई अर्को उपाय छैन भनेर आफन्तको मृत्युमा शोकमग्न भएका परिवारजनलाई सम्झाउने त्यही मान्छे आफ्नो मृत्युको बारेमा सुनेपछि निकै अत्तालिने गर्छ । यसको अर्थ हो, मान्छेको जीवन नै सबै थोक हो र सर्वस्व हो । जीवन छँदै समाज र देशको हितमा उल्लेखनीय काम गर्नु हरेक मान्छेको दायित्व हो । यही नै मान्छेको जीवनको लक्ष्य हो ।

– समिता श्रेष्ठ, बल्खु, काठमाडौं ।

शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा ?

राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम् भूमिका रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रूपमा उभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नुपर्छ ।

तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ । शिक्षण संस्थामा कार्यरत शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्छ ।

शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाधरूपमा चल्न पाउनुपर्छ । शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यावहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ ।

राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनुपर्ला भन्नेबारे अभिमुखीकरण गरिनुपर्छ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्छ । जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने कुत्सित नियत भएका जो–कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिष्कारसमेत गर्ने नीति अवलम्बन गरिनुपर्छ । समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ ।

दक्ष जनशक्ति उत्पादन गर्न साधन–स्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको ऊर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ ।

उनीहरूको कार्यदक्षताको मूल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रमबजारमा खपतको आधारमा दाँजेर हेरिनुपर्छ । सबै राजनीतिक दलहरूले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।

– सरस्वती कार्की, नेपालगन्ज ।

मतदाता शिक्षा प्रभावकारी बनाऊ

निर्वाचन आयोगले कराडौं रुपियाँ खर्च गर्छ तर मतदाता शिक्षा प्रभावकारी हुनसकेको खासै देखिँदैन । अबको झन्डै डेढ वर्षमा नेपालमा निर्वाचनको माहोल शुरु हुन्छ । तर जनतामा मतदाता शिक्षा नै नपुगेपछि कसरी सही मतदान गर्न सकिन्छ ? राज्यले करोडौं रकम चुनावका नाममा खर्च गर्नुपर्ने हुन्छ । यस्तो खर्चलाई सदुपयोग गर्दै जनतामा मतदान कसरी गर्ने भन्ने विषय नै अन्यौल भयो भने कसरी निर्वाचन सफल हुन्छ ।

निर्वाचन आयोग औपचारिकताका लागि जिल्ला सदरमुकामनजिक जाने भए पनि गाउँ–गाउँसम्म कार्यक्रम पुगेको छैन । विकट पहाडी भेगमा मात्र नभई शहर बजारका मतदातासम्म मतदाता शिक्षा पुग्न नसकेको स्थिति छ । निकै अन्यौलताका बीच मतदान गर्दा धेरै मत बदर हुने गर्छ । खर्बौं लगानी गरेर गरिएको चुनावमा १ मतको पनि निकै महत्व हुन्छ । निर्वाचन आयोगले यो विषयमा गम्भीरतापूर्वक समयमै ध्यान देओस् ।

– निलम कर्माचार्य, कलंकी ।

प्रतिक्रिया दिनुहोस्