नेपाली कांग्रेस महाधिवेशन: नेतृत्वमा आउन धमाधम उम्मेदवारी घोषणा



नेपाल समाचारपत्र, हेटौंडा ।

नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा मकवानपुरमा नेतृत्वमा आउन चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । जिल्ला, नगर र स्थानीय तहहरूमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा होमनाथ गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएका गौतम पेसाले निर्माण व्यवसायी हुनुहुन्छ । उहाँले पार्टीका विभिन्न पदमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । वडा अधिवेशनबाट जिल्ला बुथ प्रतिनिधि चयन भएपछि गौतमले जिल्ला उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गौतम १३ औं महाधिवेशनबाट कांग्रेस मकवानपुरको क्षेत्रीय प्रतिनिधि चुनिनुभएको थियो । पार्टीमा आफ्नो लामो योगदान रहेकाले पार्टीको गुट अन्त्य गर्न आफ्नो उम्मेदवारी रहने उहाँको भनाइ छ ।

कांग्रेस नेतृ इन्दिरा न्यौपानेले महाधिवेशनमा जिल्ला सहसचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । न्यौपानेले ट्रेड युनियन र तरुण दल हुँदै जिल्ला सदस्य भइसकेकाले महिलाको सहभागिताका लागि सहसचिवमा खुलातर्फ उम्मेदवारी रहने बताउनुभएको छ । महिला कोटा प्रणालीमा सीमित हुने परम्परा तोड्दै न्यौपानेले कोटा खोज्ने आरोपलाई निस्तेज पार्न आफूले उम्मेदवार दिन लागेको बताउनुभयो ।
हेटौंडा उपमहानगर सभापतिमा ३ जना आकांक्षी देखिएका छन् । दुई दशकदेखि नेपाल विद्यार्थी संघमार्फत् राजनीतिमा उत्रिनुभएका महेन्द्र राउतले वडा अधिवेशनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट क्षेत्रीय प्रतिनिधि विजयीपश्चात् भदौ २७ गते हुने नगरस्तरीय निर्वाचनमा हेटौंडा उपमहानगर सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिक बहुमतसाथ क्षेत्रीय प्रतिनिधि हुनुभएका राउत कांग्रेसमा सबैलाई समेटेर अगाडि बढाउनसक्ने क्षमता आफूमा भएकाले नगर सभापतिमा आफ्नो दाबेदारी रहेको बताउनुहुन्छ ।

युवा नेता राजेश बानियाँले नगर सभापतिमा उम्मेदवारी रहने बताउनुभयो । वडा अधिवेशनबाट पहिलो नम्बरमा बुथ प्रतिनिधि चुनिनुभएका नेता बानियाँले युवा पुस्ताले कांग्रेसको नेतृत्व गर्नुपर्ने अवस्था भएकोले अबको नेतृत्व युवा केन्द्रित रहने बताउनुभयो । कांग्रेसमा लामो समय क्रियाशील रहेकाहरूको सम्मान गर्दै सबैलाई मिलाएर अगाडि बढाउन आफू तयार रहेको बताउने बानियाँले स्थानीय निर्वाचनमा हेटौंडा–५ को वडाअध्यक्ष निर्वाचित भएपछि आफूले पाउने सेवासुविधा जनताका लागि खर्च गर्ने र व्यक्तिगत खर्चमा वडाको विकासमा उल्लेख्य कार्य गर्नुभएको छ ।

नेपाली कांग्रेसको कोभिड व्यवस्थापन समिति संयोजक उत्सव इटेनीले उपमहानगर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । इटेनीले अहिलेको आवश्यकतानुसार आफू नगर सभापतिको नेतृत्वमा अब्बल रहेको बताउँदै उम्मेदवारी घोषणा गरिएको दाबी गर्नुभयो । इटेनी २०५१ सालमा बुथ प्रतिनिधि हुँदै नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सदस्य, १३ औं अधिवेशनमा जिल्ला कोषाध्यक्षमा पराजित हुनुभएको थियो ।

मकवानपुरमा संस्थापन इतरले सभापतिको उम्मेदवार पाउन सकेको छैन । रामचन्द्र अर्याल ‘माइकल’ संस्थापनइतर पक्षको रोजाइमा हुनुहुन्छ । पार्टी फुट्दा प्रजातान्त्रिकतर्फ लागेका उहाँ हाल पौडेल खेमामा हुनुहुन्छ । तर, जित निकाल्न उहाँलाई कठिन छ ।

मकवानपुरमा संस्थापन समूह बलियो छ । प्रदेश सभापति पाएनन् भने शेरबहादुर देउवानिकट इन्द्र बानियाँ दोहोरिने सम्भावना रहन्छ । उहाँ प्रदेशसभामा संसदीय दलका नेतासमेत हुनुहुन्छ । नेता बानियाँले आफ्नो उम्मेदवारी कहाँ हुने भन्ने सन्दर्भमा यकिन भइनसकेको बताउनुभयो ।

वागमती प्रदेश संसदीय दलको नेता भएको र राजधानीका नेता भएका हिसाबले प्रदेश सभापतिमा उम्मेदवारी दिनुस् भन्ने सुझाव पनि प्राप्त भइरहेको बताउँदै उहाँले यकिन भने भइनसकेको उल्लेख गर्नुभयो । जिल्लाको राजनीतिमा संस्थापन पक्षमा देखिएका हालका नगर सभापति आनन्दराम पराजुली केन्द्रमा शेखर कोइरालानिकट रहेको बताइन्छ ।

मनहरी गाउँपालिकामा कांग्रेस नेता चन्द्रबहादुर पौडेलले गाउँपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बुथ प्रतिनिधिमा चुनिएसँगै पौडेलले भदौ २७ गते हुने कांग्रेस गाउँपालिका अधिवेशनमा सभापतिमा निर्वाचनमा जाने तयारी गर्नुभएको हो ।

मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रीय प्रतिनिधि चयन हुनुभएका अधिकारी तत्कालीन गढी गाविस हुँदा दुई कार्यकाल सभापति भइसक्नुभएको छ । उहाँले आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन पुनः नेतृत्वमा दाबी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्