सुदूरपश्चिम : थप २४ मा सङ्क्रमण, ११ डिस्चार्ज



बैतडी ।

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर विधिबाट ९४६ जनाको नमूना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चौबीसमध्ये १९ मा पीसीआर र पाँच जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १५, महाकाली र डडेल्धुरा अस्पतालमा दुई÷दुई मा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका तीन, बझाङ र दार्चुलाका एक÷एक मा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ११ ले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । यसअघि बुधबार सुदूरपश्चिमका ३३ मा सङ्क्रमण पुष्टि हुँदा ११ जना सङ्क्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्