वडाको अधिवेशन सर्‍यो



नेपाल समाचारपत्र, बैतडी ।

नेपाली कांग्रेसले भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भनेपनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ । अधिवेशनका लागि आवश्यक तयारी नपुगेको भन्दै २१ गते एकै दिन जिल्लाका सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्,केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्योल छ, हामीले २१ गते जिल्लाका ८४ वटै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेका छौं ।

निर्वाचन अधिकृत पुष्पराज जोशी बैतडी पुगिसकेको भए पनि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त गर्न बाँकी रहेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो–मतदान अधिकृत नियुक्त गरेर उनीहरूलाई प्रशिक्षण पनि दिन्छाैँ, अनि उनीहरूलाई खटाइन्छ ।

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिन पछि सार्दै २१ गते वडा तहको अधिवेशनगर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।

अधिवेशनका लागि जिल्लाका ८४ वटै वडामा मतदान अधिकृत तोक्न बाँकी नै रहेको र नेपाल शिक्षक संघ बैतडीले प्रत्येक वडाका लागि निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउनेछ । संघले वडा निर्वाचन अधिकृतको नामावली उपलब्ध गराए पछि उनीहरूलाई भदौ १७ गते प्रशिक्षण दिइने जनाइएको छ । यसका साथै उनीहरूलाई मतदान सामग्रीहरूसमेत उपलब्ध गराईने छ । यस्तै क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउ नपाउने अधिकार वडाका मतदान अधिकृतलाई दिने निर्णय पनि जिल्ला कार्य सम्पादन समितिको बैठकले गरेको छ ।

यसैबीच कांग्रेसले हाल जिल्लाका सबै स्थानीय तहका प्रशिक्षण कार्यक्रमसमेत जारी राखेको छ । कांग्रेसको संगठनलाई बलियो बनाउनर नयाँ विधानका बारेमा जानकारी दिन कांग्रेस क्रियाशील सदस्यहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको हो ।

भदौ ९ गतेदेखि शुरू भएको प्रशिक्षण कार्यक्रम जिल्लाका ७ स्थानीय तहमा सम्पन्न भइसकेको छ ।

मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्मा सम्पन्न गर्ने जनाएको छ । जस अनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ/नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिने छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्