पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे



न्युज अफ नेपाल, भद्रपुर ।

नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरु पछिल्लो समय भारत र बङ्गलादेशमा माग बढ्दै गएपनि निर्यात कम हुदै आइरहेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमश ओरालो लाग्दैं गएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी काँकडभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपैयाँ मुल्य बराबरका १ सय ८७ दशमलव ६ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी निर्यात भएको वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड १३ लाख ७२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय १ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी भारत तथा बङ्गलादेश निर्यात भएको उहाँले बताउँनुभयो । गतवर्ष निर्यात कम हुनुमा विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ को सङ्क्रमण नै रहेको उहाँले बताँनुभयो । कोभिड १९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनका कारण सीमानाका ठप्प हुँदा निकासी समेत रोकिएको उहाँको भनाइ छ ष्

२०७६ चैत २५ गतेसम्म काँकडभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकडभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प भएका कारण पनि निर्यात कम भएको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २ सय २९ मेट्रिक टन वा १ करोड ९२ लाख ५५ हजार रुपैयाँ मुल्य बरबारको जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ । यसअघिको वर्ष २०७४/०७५ मा २ करोड ३३ लाख ५५ हजार रुपैयाँ मुल्य बरारको जडीबुटी निर्यात भएको थियो । जडीबुटी निर्यात वापत मेची भन्सार कार्यालय काँकडभिट्टाले प्रतिकेजी १ रुपैयाँका दरले राजस्व लिने गरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माको भनाई छ । सो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी बङ्गलादेश र भारततर्फ निर्यात हुने गरेको उहाँले जनाउँनुभयो ।

पछिल्लो समय भारतमा नेपाली जडीबुटीको माग बढेको भएपनि विविध कारणले नेपाली जडीबुटीको निर्यात भारतमा न्यून मात्र हुने गरेको उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पदमचाल १४ दशमलव ५ मेट्रिक टन वा १६ लाख ६७ हजार ५ सय रुपैयाँको र रिठ्ठा ३८ दशमलव ५ प्रतिशत १७ लाख ७१ हजार रुपैयाँ मुल्य बराबरको नेपाली जडीबुटी भारततर्फ निर्यात भएको तथ्याङकले देखाएको छ । चिराईतो, जटामसी, अमला, मजिठो,विस्पेजलगायतका नेपाली जडीबुटी भारत र बङ्गलादेशतर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्