विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरी



विराटनगर, (नेस) ।

विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको छ । अमलेखगञ्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्याङ्कर चोरी भएको घटना सेलाउन नपाउँदै डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको हो । आइतबार राति विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना४ख ४६९ नम्बरको ट्याङ्कर चोरी भएको थियो ।

झण्डै २० लाख मूल्य बराबरको डिजेल चोरी गर्ने उद्देश्यले ट्याङ्र नै गायब बनाउने प्रयास भएको हो । तर, प्रहरीले सूचना पाएलगत्तै उक्त कार्यमा संलग्नलाई पक्राउ गरेको छ भने ट्यांकर नियन्त्रणमा लिएको छ । आइतबार राति करिब साढे १ बजे नेपाल आयल निगम विराटनगर डिपोको पार्किङ लटमा राखिएको ट्याङ्कर चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको छ । ट्याङ्कर लिएर भाग्दै गर्दा बूढीगंगा–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याङ्करका चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर सो ट्यांकर राति साढे १२ बजेतिर विराटनगर आइपुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार/पाँच जनाको संलग्नता देखिएको हुन सक्ने जनाएको छ । अन्यको खोजी जारी छ । यादव निगमका पूर्वचालक हुन् । उनले केही महिनाअघि जागिर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्