बाढीले बगायोे ग्रामीण क्षेत्र जोड्ने डाइभर्सन



मिला दरै, तनहुँ ।

केही दिनदेखि परेको निरन्तर वर्षापछि आएको छाब्दी खोलामा आएको बाढीले बुद्धसिं मार्गको डाइभर्सन बगाएको छ । व्यास नगरपालिका–१ र १३ जोड्न बनाइएको छाब्दी दोभानको डाइभर्सन छाब्दी खोलामा आएको बाढीले सोमबार बगाएको हो ।

छाब्दी खोलामा आएको बाढीले छाब्दी दोभानस्थित डाइभर्सन बगाएको व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो । ‘अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले छाब्दी दोभानमा निर्माण गरिएको डाइभर्सन बगाएको छ, यससँगै तनहुँका ग्रामीण क्षेत्रको आवत–जावत टुटेको छ ।’ –उहाँले भन्नुभयो ।

उहाँका अनुसार डाइभर्सन बगाएपछि जिल्लाको ग्रामीण क्षेत्रको यातायात र सर्वसाधारण वारपार गर्न सक्ने अवस्था छैन । खोलाको आसपासका घरहरू समेत जोखिममा रहेका छन् । ग्रामीण क्षेत्रसँग जोड्ने एकमात्र मोटरेवल पुल गत असार १७ गते छाब्दी खोलामा आएको बाढीले बगाएको थियो । स्थानीयबासीको सहजताका लागि व्यास नगरपालिकाले उक्त स्थानमा असार २७ गते अस्थायी डाइभर्सन बनाएर ग्रामीण क्षेत्रसँग जोडेको थियो ।

खोलामा आएको बाढीले पुनः डाइभर्सन बगाएपछि पूर्णरूपमा उक्त क्षेत्रबाट आवत–जावत अवरुद्ध भएको छ । बेलिब्रिज तयार नहुँदासम्म आवत–जावत सहज होस् भनेर बनाइएको डाइभर्सन बगाएपछि समस्या थपिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

‘बाढी नघट्दासम्म डाइभर्जन बनाउन सक्ने अवस्था छैन, स्थानीयका लागि सहज बनाउनुपर्ने पनि छ, तर, बढी ठूलै छ अहिले नै काम थाल्न मुस्किल छ, केही कम भएपछि भने मर्मत गर्ने प्रयासमा छौं ।’ –उहाँकोे भनाइ छ ।

मोटरेवल पुल बगाएपछि हाल उक्त स्थानमा बेलिब्रिज राख्न पूर्वाधार निर्माणको काम भइरहेको छ । बेलिबृजका लागि खोलाको दुवैतर्फ जिप निर्माण भइसकेको छ । डाइभर्सन बगाएसँगै बुद्धसिं मार्गअन्तर्गतका व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर र देवघाट गाउँपालिकाका स्थानीयबासी आउ–जाउमा समस्या थपिएको छ ।

व्यास नगरपालिकाको १३ र १४ नम्बरको केशवटार, पोखरीभञ्ज्याङ, गुदी, बेलबास, बेनीकोट, बैदी, कोटा, खहरे, मास्दीघाटलगायतका क्षेत्रमा आउ–जाउ रोकिएको छ । सवारी सञ्चालनमा नभए पनि हिँडेरसमेत दैनिकी चलाउन समस्या भएको व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

‘खोलामाथि केही समयमा बेलीबृज बन्ला र सहज होला भनेर आशा गरेका थियौं, बाढीले फेरि डाइभर्जन बगाएपछि सवारी सञ्चालन ठप्प भयो ।’ –श्रेष्ठले भन्नुभयो । असारमा आएको बाढीले बुद्धसिं मार्गअन्तर्गतका धेरै स्थानमा पहिरो खसेकाले व्यवस्थापन गर्न नसकेर खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्‍याउन सकस थियो ।

प्रतिक्रिया दिनुहोस्