जुडोकी सोनियाको अर्को ओलम्पिक हुटहुटी

9.02k
Shares

कुमार श्रेष्ठ, बाँके ।

साउन १ गते बिहान १९ वर्षीया सोनिया भट्ट सधैंजसो ट्रेनिङ गरेर फर्किएकी थिइन् । त्यही बेलामा ओलम्पिक कमिटीका पदाधिकारी सुजन श्रेष्ठको सन्देश आयो, ‘सोनिया तिमी ओलम्पिक खेल्न जाने भयौ ।’

बाँके खजुरा निवासी सोनियामा खुसीको सीमा नै रहेन । यो खुसीको कुरा कसलाई भनौँ, कसलाई भनौँ भयो । उनले देवु गुरुलाई फोन गरेर खुसी साटिन् । दोस्रो फोन घरमा आमालाई गरिन् र आफू जापानको टोकियोमा हुन थालेको ओलम्पिक खेल्न जान पाउने भएको बताइन् ।

सोनियाले ओलम्पिक खेल्न जान पाउँछु भन्ने सोचेकी पनि थिइनन् । वाइल्ड कार्डमार्फत खेल्न जान पाउने भएपछि उनी खुसीले गद्गद् भइन् । सोनिया भन्छिन्, ‘ओलम्पिक जान पाउने जानकारी पाएपछि शुरूमा मलाई कसलाई भनौँ, कसलाई भनौँ भयो । पछि थाहा पाएपछि त अरूले मलाई फोन गरेर बधाई दिन थाले ।’

खेलाडीका लागि ओलम्पिक यात्रा साह्रै महत्वपूर्ण हुने गर्दछ । सोनिया जुडोबाट ओलम्पिक खेल्ने कान्छी खेलाडी हुन् । अहिलेसम्म जुडोबाट पाँच जनाले ओलम्पिक खेलेका छन् ।

टोक्योमा साउन ९ गते, बिहान ८ बजे म्याटमा सोनियाको ठूलो परीक्षा थियो । उनी मानसिकरूपमा तयारीका साथ उत्रिइन् । उनको प्रतिस्पर्धी रसियाकी इरिना डोल्गोभा थिइन्, जो युरोपियन च्याम्पियनसमेत थिइन् । सोनिया भन्छिन्, ‘म्याटमा उत्रिदा म प्रतिस्पर्धीसँग डराएकी थिइनँ ।’

प्रतिस्पर्धा शुरू भयो । नेओजामा जानु सोनियाको गल्ती भयो । इरिनाको नेओजा राम्रो थियो, सोनिया पराजित भइन् । सोनिया भन्छिन्, ‘नेओजामा नगएको भए म अझ धेरैबेर प्रतिस्पर्धा गर्न सक्थे । नेओजामा जानु नै मेरो गल्ती भयो ।’

ओलम्पिक भिलेज छोड्दै गर्दा सोनियाले अठोट गरिन्– ‘अब देशमा गएर अर्को ओलम्पिकको तयारीमा लाग्छु । अब वाइल्डकार्डमार्फत होइन, प्रतिस्पर्धा गरेर छनोट हुन्छु ।’

नेपालमा प्रतियोगिता आउनुभन्दा एक/दुई महिनाअघि मात्रै बन्द प्रशिक्षणमा राख्ने गरिन्छ । मानौँ, यो कानुनी नियम नै हो । सोनियालाई लागेको छ, ‘प्रतियोगिताभन्दा केही महिनाअघि मात्रै बन्द प्रशिक्षणमा राख्ने होइन, राष्ट्रिय खेलाडीलाई सधैं बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउनु पर्छ । अनि मात्रै हामीले ओलम्पिकजस्तो प्रतियोगितामा राम्रो प्रतिस्पर्धामा गर्न सक्छौं ।’

सोनियाको केही अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन रामैै्र रहेको छ । सन् २०१८ मा बंगलादेशमा भएको बीकेएसपी च्याम्पियनसिपमा सोनियाले दोस्रो स्थान हासिल गरेकी थिइन् । यही साल उनले अर्जेन्टिनामा युथ ओलम्पिक, हङकङमा एसियसन च्याम्पियनसीप खेलिन् । २०१९ मा मोरक्को र लेबनानमा प्रतिस्पर्धा गर्दा उनले एक खेल जितेकी थिइन् ।

सोनियाको राष्ट्रिय रेकर्ड अझ राम्रो रहेको छ । उनी सातौं र आठौं राष्ट्रिय प्रतियोगिताको स्वर्ण विजेतासमेत हुन् । उनको नाममा साफको कांस्यपदक पनि छ । बाँकेबाट ओलम्पिक खेल्ने सोनिया चौथो खेलाडी हुन् । यसअघि भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङमा पार्वती थापा र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन् । सोनियाले १९ वर्षमै ओलम्पिक यात्रा गरिन् । सानो उमेरमै ठूलो प्रतियोगिताको अनुभव संगाल्न पाएकी छन् ।

सोनियाले दश वर्षको उमेरदेखि नै जुडो खेल्न शुरू गरेकी थिइन् । घर नजिकैको ज्ञानोदय स्कुलमा आएर उनले जुडो खेल्थिन् । सोनियालाई यहाँसम्म पुर्‍याउनमा जुडोका प्रशिक्षक विजय गुरुङ र दलबहादुर गुरुङको ठूलो हात रहेको छ । उनीहरूले दश वर्षको बच्चीलाई डो¥याएर ज्ञानोदय हुँदै टोकियो ओलम्पिक पुर्‍याएका छन् ।

शुरूवातमा सोनिया जुडो खेल्न जाँदा आमाको समर्थन थिएन । सोनिया जिद्दी गरेर खेल्न जान्थिन् । सानै उमेरमा छोरीले ओलम्पिक यात्रा गरेपछि अहिले आमासँगै घरपरिवार, आफन्त, छरछिमेकी, जिल्लावासी नै खुसी छन् । ओलम्पिक खेलेर घर फर्किदा सोनियालाई नेपालगञ्ज विमानस्थलमा गरिएको भब्य स्वागतले त्यसको पुष्टि गर्दथ्यो । सोनियालाई स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति नै विमानस्थल पुगेका थिए ।