इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ:इजरायल



जेरुसेलम ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ ।

उहाँले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गर्नुभएको छ । उहाँको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानूनकोविपरीत रहेको पनि बताएका छन् ।यता इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ ।

तेहरानले यसलाई आधारहीन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरुपमा एक किसिमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् ।गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ ।

पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्याङ्करमा गत बिहीबार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो ।त्यस आक्रमणमा परेर दुई जनाको ज्यान पनि गएको थियो । ज्यान जानेमा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका छन् । त्यस हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्