लामोन्टलाई सय मिटर दौडमा स्वर्ण



टोक्यो, (एजेन्सी) ।

इटालीका लामोन्ट मार्सेल ज्याकब्स्ले जारी टोक्यो ओलम्पिकको सय मिटर दौड जितेर सनसनी मच्चाएका छन् । लामोन्टले उक्त दूरी ९.८० सेकेन्डको समय लगाएर जितेका हुन् । यसअघि उनले ट्याक एन्ड फिल्डमा त्यति धाक जमाएका थिएनन् । उनले अमेरिकाका फ्रेड केर्लीलाई ०.०४ सेकेन्डले स्तब्ध पार्दै स्वर्ण हात पार्न सफल भए । क्यानडाका एन्ड्रे डी ग्रासे गत रियो ओलम्पिकमा झै कांस्यपदकमै सीमित भए ।

ट्रीपल जम्पमा रोजासलाई स्वर्ण

भेनेजुएलाकी युलिमार रोजासले विश्व रेकर्डसहित ओलम्पिकमा महिला ट्रीपल जम्प इभेन्टमा स्वर्ण जितिन् । २५ वर्षीया रोजासले उफ्रेको १५.४१ मिटरको दूरीसँग कोही पनि नजिक हुन सकेनन् । उनले अन्तिममा १५.६७ मिटर उफ्रेर अघिल्लो विश्व रेकर्डलाई छायामा पारिन् । युक्रेनकी इनेसा क्राभेट्सले १५.५० मिटरको विश्व रेकर्ड राख्दा रोजास मात्रै २ महिनाकी थिइन् । उक्त इभेन्टमा दोस्रो भएकी पोर्चुगलकी पेट्रिसिया मामोनाले १५.०१ मिटर उफ्रन सकिन् । तर, डिफेन्डिङ च्याम्यिन केटेरिन इबाग्र्युएन १० औं स्थानमा रहिन् ।

मेककीओनले इतिहास रचिन्

अस्ट्रेलियाकी एम्मा मेककीओनले जारी ओलम्पिकअन्तर्गत पौडीमा इतिहास रचेकी छन् ।

मेककीओनले आइतबार दुई स्वर्ण जित्दै एउटै ओलम्पिकमा ७ पदक जितेर इतिहास रचेकी हुन् । ओलम्पिकमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो महिला पौडीबाज हुन् । साथै उनी माइकल फेल्प्स, मार्क स्पिट्ज र मेट बिओन्डीको सूचीमा परेकी छन् । उनीहरू सबैले एउटै ओलम्पिकमा ७ पदक जितेका थिए । तर, फेल्प्सले ८ स्वर्ण जितेको विश्व रेकर्ड भने कसैले तोड्न सकेका छैनन् ।

मेककीओनले पौडी इभेन्टको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटर मेड्ली रिलेमा स्वर्ण जितेकी हुन् । उनले टोक्योमा कुल ४ स्वर्ण जितेकी छन् । यस्तै अमेरिकाका पुरुष पौडीबाजले जारी ओलम्पिकमा कुल ५ स्वर्ण जितेका छन् । जबकी अमेरिकाले कुल ११ स्वर्ण जित्दा ड्रेसल एक्लैको ५ स्वर्ण रहेको छ । अमेरिकाले जारी ओलम्पिकको पौडीमा कुल ३० पदक जितेको छ ।

जभेरेभले जिते स्वर्ण

एलेक्जान्डर जभेरेभ ओलम्पिक टेनिसमा स्वर्णपदक जित्ने पहिलो पुरुष जर्मन खेलाडी बनेका छन् । जभेरेभले रूसका कारेन खाचानोभलाई टोक्यो ओलम्पिकअन्तर्गत मेन्स सिंगल्स फाइनलमा हराएका हुन् । उनले यसअघि सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई हराएका थिए ।

यसै गरी चेक रिपब्लिकको जोडी बार्बोरा क्रेचीकोभा र केटेरिना सिनीयाकोभाले वोमेन्स डबल्समा स्वर्णपदक जितिन् । उनले स्विट्जरल्यान्डको जोडी बेलिन्डा बेन्चिच र भिक्टोरिया गोलुबिचलाई ७–५, ६–१ ले हराएकी थिइन् । बेन्चिचले जारी ओलम्पिकमा वोमेन्स सिंगल्सतर्फ स्वर्णपदक जितेकी हुन् ।

मिक्स डबल्सतर्फ रूसका अनास्टासिया पाभ्लुचेन्कोभा र एन्ड्री रुब्लेभको जोडीले स्वर्ण जित्यो । उनीहरूले रूसकै जोडी एलेना भेस्नीना र आस्लान काराटसेभलाई तीन सेटमा हराएर स्वर्ण जितेका हुन् । उनीहरूले निर्णायक सेट १३–११ ले हात पारेका थिए । कांस्यपदक अस्ट्रेलियन जोडी एस्लिग बार्टी र जोन पीयर्सले जिते ।

प्रतिक्रिया दिनुहोस्