इंग्ल्यान्डलाई फाइनल पुग्ने अवसर



फिरोज राजोपाध्याय, काठमाडौं । 

पछिल्लोपटक इंग्ल्यान्डले फुटबलको ठूलो ट्रफी जितेको सन् १९६६ मा थियो । उक्त वर्षमा इंग्ल्यान्डले पश्चिम जर्मनी (हालको जर्मनी) लाई हराएर विश्वकप उपाधि जितेको थियो । यसपछि इंग्ल्यान्डको हातमा कुनै पनि ठूलो उपाधि परेको छैन । हाल जारी युरोकपमा इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । युरोकपको फाइनल लन्डनस्थित वेम्बली रंगशालामै हुने भएकोले इंग्लिस टिमको लागि फाइनल पुगेमा उपाधि जित्ने सम्भावना पनि छ ।

आज राति इंग्ल्यान्डले आफ्नै घरेलु मैदान वेम्बली रंगशालामा हुने सेमिफाइनल खेलमा डेनमार्कसँग खेल्दैछ । इंग्ल्यान्ड तीन वर्ष अघि रसियामा सम्पन्न विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । हेरी केनको कप्तानी र गेरेथ साउथगेटको नेतृत्वमा रहेको यो टिमले विश्वकपमा सबैको मन जितेको थियो । यसपटक पनियही टिमले विश्वसामु आफ्नो जादु छर्किरहेको छ ।

इंग्ल्यान्डले जारी युरोकपमा सबैभन्दा खतरनाक टिम जर्मनीलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । जर्मनीलाई २–० ले पाखा लगाउँदा केन र रहिम स्टर्लिङले गोल गरेका थिए । यसपछि क्वार्टरफाइनलमा खेलमा त युक्रेनमाथि पुरै वर्चश्व बनायो । युक्रेनविरुद्ध ४–० को शानदार जितसँगै इंग्ल्यान्डले पहिलोपटक युरो फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

इंग्ल्यान्ड युरोकपमा पछिल्लोपटक १९९६ मा सेमिफाइनलसम्म पुगेको थियो । सो सेमिफाइनल खेलमा इंग्ल्यान्ड चिरपरिचित प्रतिद्वन्द्वी जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उक्त संस्करण इंग्ल्यान्डले नै आयोजना गरेको थियो । घरेलु मैदानमै पराजितसँगै लाखौं समर्थक निरास बन्नपुगे । त्यतिबेला हाल मेनेजर भएका साउथगेट खेलाडीको रूपमा थिए । तर, उनले पेनाल्टी प्रहार मिस गरेपछि इंग्ल्यान्डको फाइनल पुग्ने आसा तुहिएको थियो । उक्त दुस्वप्नझैं रहेको स्मरणलाई यसपटक साउथगेटले मेटेका पनिछन् । उनको नेतृत्वमा रहेको इंग्ल्यान्डले जर्मनीलाई यस युरोकपमा हराएसँगै साउथगेटको वाहवाह पनि भइरहेको छ ।

डेनमार्क तगारो हुन सक्ने

जर्मनीलाई हराएपछि र युक्रेनलाई नराम्रोसँग पराजित गरेपछि इंग्ल्यान्ड टिम हौसिएको छ । मेनेजर साउथगेटले अहिले नजिते कहिले जित्ने भन्दै खेलाडीहरूलाई उपाधि जित्न प्रेरणा दिइरहेका छन् । तर, जर्मनी र युक्रेनलाई हराएपनि इंग्ल्यान्डको लागि तगारो डेनमार्क बन्न सक्छ । डेनमार्कले जुन किसिमको आक्रमक खेल पस्किरहेको छ त्यसैले इंग्ल्यान्डको लागि जित कठिन नै हुनेछ ।

डेनमार्कको सेमिफाइनलसम्म पुग्ने यात्रा परिको कथाजस्तै छ । दुई चरण समाप्तसम्म स्कोरकार्डमा एक अंकपनि जोड्न नसकेको डेनमार्क प्रतियोगिताबाट बाहिरिने तयारीमा थियो । उद्घाटन खेलमै अप्रत्यासित घटना बेहोरेर निरास भएको टिम हो डेनमार्क । फिनल्यान्डविरुद्धको खेलभइरहँदा टिमका खेलाडी क्रिस्टियन इरिक्सनलाई ह्रदयघात भएको थियो । खेलको मध्यमै उनलाई तत्कालै अस्पताल लगेर बचाइयो पनि । तर यो घटनाले डेनिस खेलाडीहरूको मनोबल गिरिसकेको थियो । पछि पुनखेल सञ्चालन हुँदा डेनमार्कले फिनल्यान्डलाई १–० को नतिजापस्कनाले पनि उक्त खेलको लागि खेलाडीहरू तयार थिएनन् भन्ने स्पष्ट थियो ।

दोस्रो खेलमा बेल्जियम जस्तो शसक्त टिमसँग २–१ ले पराजित भएपछि डेनमार्क जारी युरोकपबाट बाहिरिन सम्भावना निकै निकट थियो । तर, समूहको अन्तिम खेलमा रसियालाई ४–१ ले हराएपछि गोलको आधारमा समूह उपविजेता बन्दै डेनमार्क नकआउट चरणमा पुग्यो । नकआउट चरणमा डेनमार्कले नेदरल्यान्डस्लाई २–० ले हराएको थियो । नेदरल्यान्डस् त्यो टिम थियो, जसले समूहमा तीनै वटा खेल जितेको थियो र प्रतियोगिताको उपाधि दाबेदारी टिमसमेत बनेको थियो । तर, डच टिमले डेनमार्कको आक्रामक खेलसँग सामना गर्न सकेन र पराजित भयो ।

क्वार्टर फाइनलमा डेनमार्कले चेक रिपब्लिकलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । डेनमार्कले चेकलाई २–१ ले हराएको थियो । योसँगै १९९२ पछि पहिलोपटक डेनमार्क युरो सेमिफाइनलमा पुगेको छ । डेनमार्कले १९९२ मा पनि अपत्यारिलो किसिमले फाइनल पुगेर उपाधि जितेको थियो । उक्त संस्करणमा जर्मनी फाइनलमा थियो । फुटबलका प्रायजसो विशेषज्ञ, कमेन्टेटर, फुटबल प्रेमीहरूसँगै धेरैजसो टिमले समेत जर्मनीले उपाधि जित्ने भविष्यवाणी गरेका थिए । तर, डेनमार्कले उनीहरूको भविष्यवाणीलाई झुठो सावित गरिदिएको थियो ।

इंग्ल्यान्डले जित्छः मेघराज केसी (प्रशिक्षक)

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक मेघराज केसी इंग्ल्यान्डको टिमसँग प्रभावित भएको बताउनुभयो । उहाँले इंग्ल्यान्डले प्रतियोगितामा राम्रो खेलिरहेको बताउनुभयो । उहाँले बताउनुभयो– ‘इंग्ल्यान्डले प्रतियोगितामा निकै राम्रो खेलिरहेको छ । इंग्ल्यान्डलाई सधैँ हरेक प्रतियोगिताको दाबेदारी टिमको रूपमा हेरिएको हुन्छ । तर, सफल हुन सक्दैन । यसपालि भने कुनै दबाबमा खेलिरहेको छैन । विगतका प्रतियोगितामा दबाबमै खेलिरहेको हुन्थ्यो । जारी युरोकपमा इंग्ल्यान्डले सन्तुलित प्रदर्शन गरिरहेको छ । यसैले इंग्ल्यान्ड फाइनलसम्म पुग्नेछ । फाइनलमा के हुन्छ त्यो म भन्न सक्दिनँ । यसपटक इंग्ल्यान्डमा युवा खेलाडीको बाहुल्यता छ। उनीहरूले इतिहास नै रच्नेछन् भन्ने पनि लागेको छ । यस्तै ह्यारी केनको प्रदर्शन पनि पछिल्ला प्रतियोगितामा भन्दा बेग्लै देखिएको छ । उनले राम्रो खेल खेलिरहेका छन् । यतिखेलेको मैले पहिलोपटक हेरिरहेको छु ।’

आजको खेलःदोस्रो सेमिफाइनल

डेनमार्क विरुद्ध इंग्ल्यान्ड १२ः४५ राति, लन्डन

प्रतिक्रिया दिनुहोस्