फेडेरर पुगे विम्बल्डनको अन्तिम १६ मा



लन्डन, (एजेन्सी) ।

आठ पटकका विजेता रोजर फेडेररले लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।स्विट्जरल्यान्डका फेडेररले ब्रिटिसद्वारा आस गरिएका क्यामरोन नोरीलाई हराएका हुन् । ३९ वर्षीय पाको खेलाडीले १६ महिनापछि कोर्टमा खेल्न आए पनि विपक्षीलाई सहजै हराए । उनले सो खेल ६–४, ६–४, ५–७, ६–४ ले जितेका थिए । फेडेररले अर्को चरणमा इटालीका लोरेन्जो सोनेगोको सामना गर्नेछन् ।

विश्व वरीयतामा २३ औं स्थानमा रहेका सोनगोले विम्बल्डनमा अहिलेसम्म एक खेल पनि जितेका थिएनन् । तर, यस वर्ष उनी चौथो चरणमा पुगेका छन् । उनले वरीयताविहीन खेलाडी अस्टे«लियाका जेम्स डकवर्थलाई सीधा सेटमा हराएका थिए ।

२०२१ वर्षमा राम्रो खेलिरहेका नोरीले २० पटकका ग्रान्डस्लाम विजेताविरुद्ध उच्चस्तरको खेल पस्कन सकेनन् । योसँगै घरेलु कोर्टमा जारी प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्सतर्फ ब्रिटेनका सबै खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि, एन्डी मुरे र डान इभान्स पराजित भएर बाहिरिसकेका थिए । तर, वोमेन्स सिंगल्समा एम्मा राडुकानु भने लगातार अघि बढिरहेकी छन् । ब्रिटेनको अन्तिम आसा रहेकी १८ वर्षीया उनले रोमानियाकी सोरोना किस्र्टियालाई हराएकी थिइन् ।

फेडेररले अर्को महिना ४० वर्षमा टेक्नेछन् । अघिल्ला १६ महिनामा उनले केवल पाँचवटा प्रतियोगिता खेलेका छन् । उनको घुँडाको शल्यक्रिया गरिएको हुँदा लगातार प्रतियोगिताबाट उनी पछि हट्दै गएका थिए । गत फ्रेन्च ओपनमा पनि पहिले खेल्ने तय भए पनि पछि उनले आफ्नो नाम फिर्ता लिएका थिए । तर, विम्बल्डनमा भने उनले खेलिरहेका छन् । विम्बल्डनमा उनले आठपटक उपाधि जितेका छन् ।
फेडेरर पहिलो चरणबाटै सम्भावित हारको संघारमा थिए । एड्रियन मानारिनोले २–१ सेट अग्रता लिँदा उनी घाइते भएका थिए । फ्रेन्च खेलाडी घाँसे कोर्टमा चिप्लिएर घाइते भएपछि खेलबाट हटेका थिए । यसको फाइदा फेडेररलाई भएको थियो । उनले दोस्रो चरणमा रिचार्ड गेसकेटलाई हराए भने नोरीलाई हराउँदासम्म उनको खेलमा सुधार पनि भएको छ ।

१८ औं पटक मेन्स सिंगल्सतर्फ विम्बल्डनअन्तर्गत अन्तिम १६ मा पुगेका फेडेररले बताए–म अर्को चरणमा पुगेकोमा धेरै खुशी छु । मैले ठूलो राहत पाएको छु । यो कडा प्रतिस्पर्धासमेत थियो । उनी तेस्रो सेटका हकदार पनि थिए । उनले एकदम राम्रो खेलेका थिए । समग्रमा मैले उच्चस्तरको खेल खेलेको छु, यसैमा म धेरै खुशी छु ।

वोमेन्स सिंगल्सतर्फ पूर्व विम्बल्डन विजेता एन्जेलिक केर्बर अन्तिम १६ मा पुगेकी छन् । उक्त चरणमा उनले कोको गाउफसँग खेल्ने तयसमेत गरेकी छन् । जर्मन खेलाडीले एलियाकसान्ड्रा सास्नोभिचविरुद्धको खेलमा एक सेट पछि परेको अवस्थामा पुनरागमन जित हासिल गरेकी थिइन् । उनले सो खेल २–६, ६–०, ६–१ ले जितेकी थिइन् ।

केर्बरले २०१८ मा विम्बल्डन जितेपछि एउटै मात्रै उपाधि जितेकी छन् । यसपटक भने उनले अर्को उपाधि जित्ने सम्भावना रहेको छ । यस्तै, अमेरिकी युवा खेलाडी गाउफले स्लोभेनियाकी काया युभानलाई सहजै ६–३, ६–३ ले हराइन् । उनी गत महिना सम्पन्न फ्रेन्च ओपनमा क्वार्टरफाइनलसम्म पुगेकी थिइन् ।

त्यस्तै वोमेन्सतर्फ विश्व नम्बर एक एस्लिग बार्टीले चेक रिपब्लिककी केटारिना सिनीयाकोभालाई ६–३, ७–५ ले पराजित गरेकी थिइन् । सिनीयाकोभाले दोस्रो सेटमा दुईपटक बार्टीको सर्भिस तोडेकी थिइन् । तर, बार्टीले सो सेट टाइब्रेकरमा जित्दै खेलसमेत जितिन् । उनले फ्रेन्च ओपन विजेता बार्बोरा क्रेचीकोभासँग खेल्नेछिन् । उनीहरू वोमेन्स डबलतर्फ पार्टनर हुन् ।

प्रतिक्रिया दिनुहोस्