सामान्य भलको कटानमा निर्माणाधीन रंगशाला



हेटौंडा, (नेस) ।

खहरेसँगै जोडेर बिनाप्राविधिक अध्ययन निर्माण थालिएको रंगशालाको भविष्य खतरामा परेको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन बकैया रंगशाला सामान्य भलले पनि कटान गरेपछि गाउँका खेलप्रेमी चिन्तित भएका छन् ।

वडा नम्बर–३, हात्तीसुँडेको बकैया तथा चम्पा खहरेसँगै टाँसेर निर्माण शुरू गरिएको रंगशालालाई खहरेमा आएको सामान्य भललेसमेत कटान गरेको छ । स्थानीय सरकारको ४० लाख रुपियाँ बजेट बालुवामा पानी हालेसरह हुने सम्भावना बढेको हो ।

पालिकाले खर्च गरेको रंगशाला निर्माण शुरू गरेको पहिलो वर्षमा कटानमा परेको हो । रंगशाला खहरेसँगै टाँसेर निर्माण गर्नु नै गलत शुरूवात भएको स्थानीयको भनाइ छ । दुईतिर बकैया खोला र एकातिर चम्पा खहरेसँगै टाँसेर निर्माण शुरू गरिएको रंगशाला ठूलो बाढी आउँदा त पूर्ण क्षति पुग्ने अवस्थामा पुगेको छ ।

सामान्य भलबाट समेत बचाउन नसकिने स्थानमा किन रंगशालाका लागि पैसा खर्च गरियो भन्ने विषय स्थानीयको चासोको विषय बनेको छ । रंगशाला कटान हुँदै जाँदा फुटबल ग्राउन्डका लागि जमिन अभाव हुने त छँदैछ, उक्त स्थानमा रंगशाला निर्माण गरिँदा वर्षेनी लाखौं रुपियाँ त तटबन्धमा खर्च गर्नुपर्ने अवस्था आएको छ ।

पालिकाले उक्त स्थानमा रंगशाला निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको पालिका उपाध्यक्ष सरला बोलखेले बताइन् । प्रारम्भमा बकैया वडा नम्बर–३ कै अर्कै स्थानमा रंगशाला निर्माण गर्ने भनिएको थियो । ‘तर, उक्त स्थानका लागि सांसद् कृष्णप्रसाद दाहालले तटबन्धका लागि बजेट विनियोजन गरेका थिए । त्यसका कारण निर्माणस्थल परिवर्तन हुँदा समस्या भयो,’ बोलखेले भनिन् ।

रंगशाला निर्माण समिति सचिव विजय थिङले निर्माण जारी रंगशाला अब तटबन्धले जोगिने विश्वास गरे । बकैयामा अन्यत्र जमिन नहुँदा उक्त स्थानमा नै रंगशाला निर्माण गर्नुपरेको भन्दै उनले यहाँको अवस्था धेरै बिग्रिए नयाँ स्थानको बिकल्पसमेत खोज्नुपर्ने बताए ।

तटबन्ध गर्न सकिए रंगशाला बचाउन सकिने भन्दै उनले स्थानीय सरकारलाई तत्काल तटबन्धका लागि अनुरोध गरेका छन् । ‘स्थान अनुपयुक्त होइन, तटबन्धन गर्न सक्यौं भने जोगिन्छ । हुँदै भएन भने स्थान अन्यत्र खोज्नुपर्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्