अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा



रियो दि जेनेरियो, एजेन्सी ।

अर्जेन्टिना र कोलम्बिया ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको अन्तिम आठको खेलमा अर्जेन्टिनाले फिफा वरीयतामा ५३औं स्थानमा रहेको इक्वेडरमाथि ३–० गोलअन्तरको शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । स्टाडियो ओलम्पिको पेड्रो लुडोभिचो रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा थप दुई गोल गरेर अर्जेन्टिनाले प्रभावशाली जितका साथ अर्को चरणमा स्थान बनायो । पहिलो हाफमा अर्जेन्टिनाले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, दोस्रो हाफमा भने सुविधाजनक नतिजा हात पार्न सफल भयो । अर्जेन्टिनाका लागि कप्तान मेसीले एक शानदार फ्रिकिक गोलसहित दुई गोलमा असिस्टसमेत गरे ।

अर्जेन्टिनाका लागि खेलको ४०औं मिनेटमा रोड्रिगो डे पाउलले डीबक्स अघिबाट लो प्रहारमा गोल गर्दै टिमलाई शुरूवाती अग्रता दिलाएका थिए । इक्वेडरका खेलाडीले डिफेन्स लाइनमा गल्ती गर्दा अर्जेन्टिनाले त्यसको फाइदा उठाएको थियो । त्यसअघि, अर्जेन्टिनी कप्तान लियोनल मेसी एक सुनौलो अवसरमा चुकेका थिए । गोलकिपरसँग वान भर्सेस वानमा मेसीले हानेको बल पोलमा लागेर फर्किएको थियो ।
तर, दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गर्दै सुविधाजनक नतिजा निकाल्न सफल भयो । अर्जेन्टिनाका लागि खेलको ८४औं मिनेटमा लौटारो मार्टिनेजले दोस्रो गोल गरेका थिए । कप्तान मेसीले दिएको छोटो क्रस पासमा अनमार्क रहेका मार्टिनेजले गोलकिपरको शिरमाथिबाट प्रहार गर्दै बललाई जाली चुमाएका थिए । सो गोलपछि अर्जेन्टिना स्पष्टरूपमा जिततर्फ अघि बढेको थियो ।

तर, ९० मिनेटपछि थप गरिएको इन्ज्युरी समयमा कप्तान मेसीले फ्रिकिकमार्फत् शानदार गोल गरेरपछि अर्जेन्टिनाको ३–० को एकपक्षीय जित पक्का भयो । बल लिएर अघि बढेका एन्जल डि मारियालाई डीबक्सभित्र इक्वेडरका खेलाडीले तानेर लडाएका थिए । सोही फाउलमा रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर, पछि उनले भिएआरमार्फत् जाँच गरेपछि उक्त फाउल डीबक्सभित्र नभएको देखेपछि पेनाल्टी रद्द गरेर फ्रिकिक दिएका थिए ।

जसमा कप्तान मेसीले कुनै गल्ती नगरी बललाई सोझै जाली चुमाए । उनको फ्रिकिक प्रहार इक्वेडरका गोलकिपरले रोक्नका लागि प्रयाससमेत गर्न भ्याएनन् । डि मारियालाई लडाएको फाउलमा रेफ्रीले इक्वेडरका खेलाडी पिएरोलाई दोहोरो पँहेलो कार्डका साथ रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

त्यस्तै, अर्को खेलमा लुइस स्वारेज र एडिन्सन काभानीको टिम उरुग्वे भने कोपा अमेरिका फुटबलको उपाधि होडबाट बाहिरियो । आइतबार बिहान नै भएको क्वार्टरफाइनल खेलमा उरुग्वेलाई अर्को उपाधि दावेदार टिम कोलम्बियाले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले स्तब्ध बनाउँदै घर फर्काएको हो ।

ब्राजिलमा जारी प्रतियोगितामा दुई उपाधि दावेदार टिम क्वार्टरफाइनलमै भिड्दा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । जारी कोपाको नियमअनुसार निर्धारित ९० मिनेटभित्र विजेताको टुंगो नलागे खेल अतिरिक्त समयमा नगई सोझै पेनाल्टी सुटआउट खेलाइन्छ । जसअनुसार भएको टाइब्रेकरमा कोलम्बियाले उरुग्वेमाथि ४–२ ले बाजी मार्न सफल भयो ।

ब्राजिलको इस्टाडियो नाचिओनाल डे ब्राजिला रंगशालामा भएको खेलको ९० मिनेट र इन्ज्युरी समयमा समेत दुवै तर्फबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा उरुग्वे दुई पेनाल्टीमा गोल गर्न विफल भएपछि कोलम्बियाले पाँचौं पेनाल्टीअघि नै खेल जित्यो । उरुग्वेको दुवै पेनाल्टी कोलम्बियाली गोलरक्षकले शानदार बचाउ गरे भने कोलम्बियाले प्रहार गरेको सबै पेनाल्टीमा गोलमा परिणत भयो ।

उरुग्वेका लागि पहिलो पेनाल्टीमा एडिन्सन काभानीले गोल गर्दा दोस्रो पेनाल्टीमा जोे मारिया जिमेन्ज चुके । त्यसपछि तेस्रो पेनाल्टीमा लुइस स्वारेजले गोल गरे भने चौथो पेनाल्टीमा म्याटिस भिना चुके । उता, कोलम्बियाका लागि भने डुभान जपाटा, ड्याभिन्सन सान्चेज, येरी मिना र मिगुएल बोर्जा सबैले पेनाल्टीमा गोल गर्न सफल भए । यससँगै सेमिफाइनल प्रवेश गरेको कोलम्बियाले अब अर्जेन्टिनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा ब्राजिल र पेरुको भेट तय भइसकेको छ ।

सेमिफाइनल समीकरण पूरा

शनिबार बिहानको खेलपछि कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोली तय भएको हो । जसअनुसार अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् । अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । त्यस्तै, ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले हराएको हो भने पेरुले पनि पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।

सेमिफाइनल खेल तालिका (नेपाली समयअनुसार)

मंगलबार बिहान ४ः४५ बजे– ब्राजिलविरुद्ध पेरु
बुधबार बिहान ६ः४५ बजे– अर्जेन्टिनाविरुद्ध कोलम्बिया

प्रतिक्रिया दिनुहोस्