गोल्डेन बुटको लागि रोनाल्डो अझै अघि



जारी युरोकप २०२० मा क्वार्टरफाइनलका खेल सम्पन्न हुँदासम्म पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गोल्डेन बुटको उपाधिमा अझै अघि छन् । पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोल र एक असिस्टको सहयोगमा गोल्डेन बुटको दाबेदारीमा अग्रपंक्तिमा छन् । उनलाई इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङ तथा डेनमार्कका कास्पर डोलबर्गले चुनौती दिइरहेका छन् ।

यद्यपि, यी तीनै जना खेलाडीले ३/३ गोल गरेका छन् । तर, उनीहरूको सेमिफाइनल खेल खेल्न बाँकी छ । यस्तै डेनमार्ककै जोकिम माहेल र युसुफ पाउल्सेनले २/२ गोल गरेका छन् । सेमिफाइनलमा पुगेका अर्का दुई टिम स्पेन र इटालीका खेलाडी पनि सम्भावित दौडमा छन् । इटालीका चिरो इम्मोबिल, लोरेन्जो इन्सिगने, म्यानुल लोकाटेली र मेटियो पेसिना तथा स्पेनका अल्भारो मोराटा, पाब्लो सराबिया र फेरान टोरेसले २/२ गोल गरेका छन् ।

रोनाल्डोसरह चेक रिपब्लिकका प्याट्रिक सिकले पनि पाँच गोल गरेका छन् । तर, उनको नाममा कुनै असिस्ट छैन र चेक पनि बाहिरिसकेको अवस्थामा रोनाल्डो नै गोल्डेन बुटको दावेदारीमा रहेका छन् । त्यस्तै बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करिम बेन्जेमा र स्वीडेनका एमिल फोर्सवर्गले ४÷४ गोल तरे । तर, सबै टिम दुर्भाग्यवश बाहिरिइसकेकाले उनीहरू गोल्डेन बुटको होडबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्