इंग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा



लन्डन, (एजेन्सी) ।

इंग्ल्यान्ड र डेनमार्क जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको क्वार्टरफाइनल खेलमा युक्रेनमाथि ४–० को फराकिलो गोलअन्तरको जित निकाल्दै ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिम प्रतियोेगिताको उपाधि नजिक पुगेको हो । क्वार्टरफाइनल चरणको यो सबैभन्दा फराकिलो गोलअन्तरको नतिजा हो । यससँगै, इंग्ल्यान्ड सन् १९९६ पछि पहिलोपटक युरोकपको सेमिफाइनल पुग्न पनि सफल भएको छ ।

यसअघि, जारी युरोको उद्घाटन खेल भएको इटालीको रोम सहरस्थित स्टाडियो ओलम्पिको रंगशालामा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले दुई गोल गरे । जारी युरोमा उनले पहिलोपटक एकै खेलमा दुई गोल गरेका हुन् । युक्रेनमाथि फराकिलो जित निकाल्न कप्तान केनले व्यक्तिगतरूपमा उच्चस्तरको प्रदर्शन गरेका थिए । उनले यसअघि अन्तिम १६ मा जर्मनीविरुद्ध पनि एक गोल गरेका थिए ।

यससँगै इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँगको भिडन्त पक्का गरेको छ । डेनमार्कले पनि चेक रिपब्लिकमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश पायो । युक्रेनमाथि एकपक्षीय जित निकाल्नेक्रममा इंग्ल्यान्डले खेलको चौथो मिनेटमै पहिलो गोल गरेको थियो । रहिम स्टर्लिङको पासमा केनले डीबक्सभित्रबाट गोल गर्न सफल भएका थिए । सोही गोलको मद्दतमा इंग्ल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनायो । बाँकी तीन गोल भने दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा इंग्ल्यान्डले युक्रेनमाथि झन् आक्रामक खेल प्रदर्शन गर्दै लगातार गोल थपेको थियो ।

दोस्रो गोल दोस्रो हाफ शुरू हुनासाथ डिफेन्डर ह्यारी मागुइरेले गरेका थिए । त्यसपछि, तेस्रो गोल गर्न इंग्ल्यान्डलाई धेरैबेर पर्खिनु परेन । खेलको ५०औं मिनेटमा कप्तान केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० बनाएका थिए । सो गोलपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अघि बढेको थियो । सोहीक्रममा ६३औं मिनेटमा जोर्डन हेन्डर्सनले अर्को गोल थपेर टिमको अग्रता थप बढाए । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल इंग्ल्यान्डले ४–० ले जित्यो ।

यता, पहिलो खेल दौरानमा हृदयघातका कारण मैदानमा अचानक ढलेका क्रिस्टिएन एरिक्सनको टिम डेनमार्क पनि शनिबार राति भएको क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै सन् १९९२ पछि पहिलोपटक सेमिफाइनल पुगेको हो । समूह चरणको अन्तिम खेलको जितबाट प्रतियोगितामा पुनरागमन गरेको डेनमार्कले अन्ततः सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । क्रिस्टिएन एरिक्सनका कारण डेनमार्कको यो शानदार यात्रामा विश्वभरका कराडौं फुटबलप्रेमीको सद्भाव पनि जोडिएको छ ।

अजरबैजानको बाकु सहरस्थित बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा डेनमार्कले खेलको शुरूवातमा गरेको दुई गोलको मद्दतमा २–१ को जित निकाल्दै उपाधि यात्रामा एक कदम अघि बढायो । यता, हारसँगै चेक रिपब्लिकको उपाधि यात्रा भने समाप्त भएको छ । चर्को प्रतिस्पर्धा देखिएको खेलमा दुवै टिमले औसतमा बराबरीस्तरको प्रदर्शन गरेका थिए । तर, शुरूवातमै दुई गोल गरेर सहज अग्रता बनाएको डेनमार्कले खेल जित्न सफल भयो ।

डेनमार्कका लागि खेल शुरू भएको पाँचौं मिनेटमै थोमस डेलानीले गोल गरेर टिमलाई शुरूवाती अग्रता दिलाएका थिए । कर्नर किकबाट आएको बलमा अनमार्क रहेका उनले फ्री हेडरमार्फत् बललाई सोझै जाली चुमाएका थिए । त्यसपछि, दोस्रो गोल खेलको ४२औं मिनेटमा युवा खेलाडी कास्पर डलवर्गले गरेपछि डेनमार्कले पहिलो हाफमा २–० को सहज अग्रता बनायो । पहिलो हाफमा तुलनात्मकरूपमा डेनमार्कले बलमा बढी पकड बनाएको थियो । तर, दोस्रो हाफमा चेकले सुधारिएको प्रदर्शन गर्‍यो ।

दोस्रो हाफको शुरूवातमै चेकले गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । ४९औं मिनेटमा युवा खेलाडी प्याट्रिक सिकले गोल गर्दै खेल २–१ बनाए । जारी युरोमा उनको यो पाँचौं गोल हो । उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग गोलसंख्या बराबरी गरेका छन् । सिकको गोलबाट खेलमा फर्किने संकेत देखाएको चेकले अन्ततः खेलभरिमा दोस्रो गोल भने फर्काउन सकेन । दोस्रो हाफमा चेकले डेनिस टिममाथि लगातार आक्रामक खेल खेले पनि बराबरी गोल गर्न सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै चेकले कुल ५६ प्रतिशत बल आफ्नो पकडमा राखेको थियो ।

यससँगै डेनमार्क सन् १९९२ पछि पहिलोपटक सेमिफाइनल प्रवेश गरेको छ । त्यसबेला डेनमार्कले उपाधि नै जितेको थियो । १९९२ मा डेनमार्कले जर्मनीलाई २–० ले स्तब्ध पारेर युरो कपको उपाधि जितेको थियो । त्यसपछि डेनमार्कलाई सेमिफाइनल पुग्न सातौं संस्करणसम्म संघर्ष गर्नुपरेको हो । च्याम्पियन बनेपछिको ६ संस्करणमा डेनमार्क कहिल्यै पनि सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । तर, यसपटक भने डेनमार्क सेमिफाइनलसम्म यात्रा गर्न सफल भयो । अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्डको चुनौती पाउनेछ ।

यस संस्करणको सेमिफाइनलमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले स्थान बनाएका छन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने दुवै सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्नेछन् भने दोस्रो सेमिफाइनल डेनमार्क र इंग्ल्यान्डबीच हुनेछ ।

सेमिफाइनल खेल :

बुधबार राति १२ः४५ बजे – इटालीविरुद्ध स्पेन
बिहीबार राति १२ः४५ बजे – डेनमार्कविरुद्ध इंग्ल्यान्ड

प्रतिक्रिया दिनुहोस्