रंगशालामा परिणत हुँदै बगर



हेटौंडा, (नेस) ।

कुनै समय बगरका रूपमा हेरिने हेटौंडा–५, क्याम्पाडाँडा हाल रंगशालाका रूपमा विकास हुँदैछ ।

उक्त स्थानमा आगामी हेटौंडा गोल्डकप सञ्चालन हुनेगरी भौतिक विकास भइरहेको हो । माछा पालानसँगैको क्याम्पाडाँडा धेरै वर्षअघि बगरको रूपमा थियो । खाली बसेको जग्गामा जब स्थानीयको ध्यान केन्द्रित भयो, पछिल्लो केही वर्षयता खेलुकद मैदानका रूपमा प्रयोग भइरहेको छ । छोटो समयमै हेटौंडाबासीको लोकप्रिय बन्न गएको उक्त स्थानमा पिप्ले युवा क्लबले केही गर्ने आँट बोकेको छ ।

हेटौंडा उपमहानगरपालिका र स्थानीयको सहयोग र पिप्ले युवाको समन्वयमा पिप्ले क्याम्पा रंगशाला निर्माणाधीन छ । साढे तीन बिघा क्षेत्रफलमा फुटबल ग्राउन्ड र आठ लेनको एथलेटिक ट्रयाक निर्माणकार्य जारी छ ।

खेलमैदान निर्माण शुरू गरेका पिप्ले युवाका अध्यक्ष सुशील घिमिरे भन्छन्–‘अन्य स्थानमा जाँदा खेलमैदान हेर्दा लोभ लाग्थ्यो । हाम्रो पनि यस्तै खेलमैदान होस् भन्ने सोच आउँथ्यो । सहयोग जुटिरहेको छ, अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनिरहेको छ,’ रंगशालामा फुटबल मैदान, चारसय मिटर एथ्लेटिक रनिङ ट्रयाकसमेत समावेश गरिएको छ । जिल्लामा वर्षैपिच्छे पूर्वाधार अभावमा खेल खेल्न नपाउने अवस्था सिर्जना हुने बाध्यतालाई मध्यनजर गर्दै अघि बढेको उनी बताउँछन् ।

रंगशालाले खेलाडीको उत्पादनमा समेत टेवा पुग्ने उनको भनाइ छ । हाल खोला किनारमा ५० मिटर लम्बाइ र १० चौडाइका करिब तीन हजार पाँच सयदेखि चार हजारसम्म दर्शक अट्ने ब्लक बन्दैछ । तीनवटा ब्लक खोला किनारमा बनाउने तयारी छ । अगाडि फलामको पाँच हजार अट्ने ब्लक निर्माण हुनेछ, जसमा सबै ब्लक गरेर १५ हजार दर्शक बस्ने क्षमताको प्यारापिट निर्माण हुने घिमिरे बताउँछन् । यति भएपछि हेटौंडाबासीका लागिमात्र नभएर देशकै खेलक्षेत्रको विकास हुने घिमिरेले बताए ।

निर्माण सम्पन्न हुँदा करिब ६ करोड खर्च लाग्ने अनुमान छ । हेटौंडा उपमहानगरपालिकाले ४५ लाख छुट्याएको घिमिरेले जानकारी गराए । बाँकी आफैंले श्रमदान, सहयोग जुटाउने कार्य भइरहेको छ ।

रंगशालाका लागि वडा अध्यक्ष राजेश बानियाँको पनि ठूलो चासो छ । बानियाँका अनुसार वडामा फुटबलका लागि कुनै स्पेस नभएको अवस्था खेलमैदान बन्नु एउटा गर्वको विषय हो । नगरको एउटा ड्रिम प्रोजेक्टका रूपमा रहेको योजनालाई आफ्नो कार्यकालभर सहयोग पुर्‍याउने बानियाँले बताए ।

अखिल नेपाल फुटबल संघ बागमती प्रदेश सचिव दीपेन्द्र ढकालका अनुसार रंगशालामा राष्ट्रिय खेलको टेक्निकल पार्ट ठीक छ । मकवानपुरमा पहिलो चार सय मिटरको ट्रयाक चौरको बाहिर निर्माण गरिएका उनले जानकारी गराए ।

रंगशालामा ग्राउन्ड सम्याउने, सफ्ट माटो राख्ने, दुबो रोप्ने काम भइरहेको छ । उक्त रंगशालामा राष्ट्रियस्तरका टुर्नामेन्ट हुने ढकालको भनाइ छ । ‘बगरलाई विकास गर्ने कार्य भएको छ । सबैको साथ र सहयोग पाइने आशा छ,’ ।

प्रतिक्रिया दिनुहोस्