इटाली र स्पेन सेमिफाइनलमा भिड्ने



लन्डन, (एजेन्सी) ।

इटाली र स्पेनले जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगिताको शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा जित हासिल गरेपछि सेमिफाइनलमा इटाली र स्पेनले एक अर्कासँग खेल्नुपर्ने समीकरण बनेको हो । विश्वको सदावहार तथा हाल फिफा वरीयताको शीर्ष स्थानमा रहेको टिम बेल्जियमलाई स्तब्ध बनाउँदै इटाली जारी युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ को गोलअन्तरमा पराजित गरेको हो । यससँगै पछिल्लो समय शानदार लयमा रहेको इटालीले एक प्रमुख उपाधि दाबेदार बेल्जियमलाई क्वार्टरफाइनलबाटै घर फर्काइदियो ।

बेल्जियमले अन्तिम १६ मा यसअघिको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि १–० को साँघुरो जित निकाल्दै अघि बढेको थियो । तर, बेल्जियमको उपाधि यात्रामा इटाली तगारो बनिदियो । बेल्जियम २०१६ को संस्करणमा पनि युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । त्यसबेला ग्यारेथ बेलको टिम वेल्सले बेल्जियममाथि सनसनीपूर्ण ३–१ को पुनरागमन जित निकालेको थियो । यसपटक पनि बेल्जियम क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन । कप्तान इडेन हाजार्डबाहेक अधिकांश प्रमुख खेलाडी लिएर इटालीविरुद्ध उत्रिएको बेल्जियमले शुरूआतमा लगातार दुई गोल बेहोरेपछि खेलमा पुनरागमन गर्न सकेन ।

जर्मनीको म्युनिख शहरस्थित बार्यन म्युनिखको घरेलु रंगशाला एलियान्ज स्टेडियममा भएको सो खेलको पहिलो हाफमा इटालीले बेल्जियमविरुद्ध २–१ को अग्रता बनाएको थियो । बेल्जियमविरुद्ध इटालीले खेलको ३१औं मिनेटमा अग्रता लिएको थियो । इटालीका युवा मिडफिल्डर निकोलो बारेल्लाले फ्रिकिकबाट आएको बलमा गोल गरेर बेल्जियमलाई ठूलो झट्का दिएका थिए । त्यसपछि, खेलको खेलको ४४औं मिनेटमा इटालीले आफ्नो अग्रता दोब्बर बनायो । यसपटक लोरेन्जो इन्सिग्नेले डीबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि इटाली २–० ले अघि बढेको थियो । लामो दुरीबाट उनले हानेको प्रहार बेल्जियन गोलकिपर थिबाउट कोर्टुवाले रोक्न प्रयाससमेत गर्न भ्याएनन् ।

तर, पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमले पेनाल्टी पायो । जसमा रोमेलु लुकाकुले गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगियो । लुकाकुको जारी प्रतियोगितामा यो चौथो गोल हो । बेल्जियन खेलाडीलाई डीबक्समा लडाएपछि रेफ्रीले भिएआर टिमसँगको छलफल गरेर बेल्जियमलाई उक्त पेनाल्टी दिने निर्णय गरेका थिए ।

तर, दोस्रो हाफमा भने दुवै तर्फबाट थप गोल भएन । बराबरी गोलको खोजीमा रहेको बेल्जियमलाई इटालीले कुनै मौका नै दिएन भने आफूले पनि गोल गर्न नसकेपछि पहिलो हाफकै २–१ को स्कोर जोगाउँदै खेल जित्यो । यससँगै इटालीले सबैखाले प्रतियोगितामा खेलेका पछिल्ला १२ खेलमा लगातार जित निकाल्न सफल भएको छ । जारी युरोमा इटाली लगातार विजयी यात्रामा रहेको छ । यस युरोमा मात्रै इटालीले विपक्षीविरुद्ध ११ गोल गर्दा दुई गोल मात्रै बेहोरेको छ । समग्रमा इटाली पछिल्ला ३२ खेलमा अपराजित रहेको छ । बेल्जियमले भने १४औं खेलपछि हारको सामना गर्नुपर्‍यो ।

अब इटालीले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । इटाली र बेल्जियमको खेलअघि नै स्वीट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Soccer Football – Euro 2020 – Quarter Final – Switzerland v Spain – Saint Petersburg Stadium, Saint Petersburg, Russia – July 2, 2021 Spain players celebrates after the match Pool via REUTERS/Maxim Shemetov

स्पेनलाई पेनाल्टीको सहारा

सन् २०१९ को विश्व च्याम्पियन फ्रान्सलाई अन्तिम १६ बाटै घर फर्काउन सफल भएको स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराउँदै स्पेन जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा १० खेलाडीमा सीमित भएर पनि शानदार प्रदर्शन गरेको स्वीट्जरल्यान्डलाई हराउन स्पेनलाई पेनाल्टी सुटआउटकसम्म पर्खिनुपरेको थियो । पेनाल्टी सुटआउटमा जानुअघि सो खेल निर्धारित समय र थप समयमा गरी कुल एक सय २६ मिनेटसम्म चलेको थियो ।

खेलको ७७औं मिनेटमा स्वीट्जरल्यान्डका एक खेलाडीले रातो कार्ड बेहोरेपछि १० जनामा सीमित भएको थियो । त्यसपछि ९० मिनेट र चार मिनेटको इन्ज्युरी समयमा खेल १–१ को बराबरी भएपछि खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो । त्यसमा पनि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ स्पेनले कठिन अवस्थाबाट ३–१ को जित निकाल्दै प्रतियोगितामा एक कदम अघि बढ्न सफल भयो ।

रसियाको पिटर्सबर्ग सहरमा भएको खेलको पहिलो हाफमा स्पेनले शुरूआती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमै स्वीट्जरल्यान्डले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । डीबक्सभित्र स्वीस खेलाडीले बल क्लियर गर्न नसक्दा स्पेनका कोकेले दिएको ब्याक पासमा डीबक्स बाहिरबाट डिफेन्डर जोर्डी अल्बाले शक्तिशाली सट हानेका थिए । उनले हानेको प्रहार स्वीस डिफेन्डर जाकारियाको खुट्टामा लाग्दै बल डिफ्लेक्ट भएर सोझै पोस्टमा छिरेको थियो । सो गोल शुरूमा स्पेनका अल्बाका नाममा दिईए पनि पछि भिडियोमार्फत् समीक्षा गरेपछि स्वीस खेलाडीका नाममा आत्मघाती गोल दिइयो ।

स्वीट्जरल्यान्डविरुद्ध स्पेनले शुरूआतबाटै बलमा पकड जमाएर खेलेको थियो । स्पेनले बल आफ्नो कब्जामा लिएर आक्रमणको वर्षा नै गरेको थियो । तर, स्वीस गोलकिपर यान सोमर स्पेनसामु पहाड बनेर उभिँदा स्पेनका दर्जनौं प्रयास विफल भएका थिए । स्वीट्जरल्यान्ड खेलको ६८औं मिनेटमा खेलमा फर्कियो । कठिन स्थितिबाट स्वीट्जरल्यान्डले डीबक्सभित्र बनाएको मुभमा स्पेनिस डिफेन्डरबीच राम्रो समन्वय नहुँदा फुत्किएको बलमा जर्डन शाकिरीले लो सटमा उत्कृष्ट गोल गर्दै स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काएका थिए । सो गोलसँगै स्वीस टोली फरक जोश र ऊर्जाका साथ स्पेनविरुद्ध झन् आक्रामक बनेर उत्रिएको थियो ।

तर, बराबरी गोल गरेको नौ मिनेटमै स्वीट्जरल्यान्डलाई ठूलो झट्का लाग्यो । मिडफिल्डर रेमो फ्रेउलरको खराब फाउलका लागि सोझै रातो कार्ड पाएर मैदान छाडेपछि स्वीट्जरल्यान्डमाथि संकट थपिएको थियो । स्वीस टोलीका एकजना खेलाडी घटेपछि स्पेनलाई विजयी गोल गरेर खेल ९० मिनेटमै जित्ने अवसर थियो । तर, स्वीस गोलकिपर लगातार पहाड बनेर उभिँदा स्पेनका थुप्रै खतरनाक प्रहारहरू विफल भएका थिए ।

१० खेलाडीमा सीमित स्वीस टोलीविरुद्ध स्पेनले ९० मिनेट र चार मिनेटको इन्ज्युरी समयमा समेत गोल गर्न सकेन । त्यसपछि खेल ३० मिनेटको थप समयमा गयो । त्यहाँ दुई मिनेटको इन्ज्युरी समयसमेत गरी ३२ मिनेटको खेलमा पनि हार–जित नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ स्पेनले स्वीट्जरल्यान्डमाथि ३–१ को जित निकाल्न सफल भयो । पेनाल्टी सुटआउटमा दुवै तर्फबाट गरी जम्मा नौ प्रहार भएका थिए ।

जसमा पहिलो पेनाल्टी नै गुमाएको स्पेनले पाँचवटै पेनाल्टी प्रहार गर्दा तीन वटामा गोल गर्न सफल भयो । यता, स्वीट्जरल्यान्डले हानेका चार पेनाल्टीमध्ये पहिलो पेनाल्टीबाहेक लगातार तीन पेनाल्टी असफल भएका थिए । जसका कारण स्वीस टिमले अन्तिम पाँचौं पेनाल्टी हान्न नपाई स्पेनले खेल ४–१ ले जित्न सफल भयो । स्पेनका लागि विजयी पेनाल्टी मिकेल ओयारजबालले प्रहार गरेका थिए । स्पेनका कप्तान सर्जियो बुस्केट्स, रोड्री पेनाल्टीमा गोल गर्न असफल भएका थिए । स्पेनले अब वेम्बलीमा हुने सेमिफाइनलमा इटालीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्