ब्राजिल र पेरू सेमिफाइनलमा



रियो दि जेनेरियो, (एजेन्सी) ।

डिफेन्डिङ च्याम्पियन ब्राजिल र पेरू जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको दोस्रो क्वार्टरफाइनल खेलमा ब्राजिलले चिलीलाई तथा पेरूले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । ब्राजिलले पूर्वच्याम्पियन चिलीमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो । यससँगै ब्राजिलले जारी कोपामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

आफ्नो भूमिमा आयोजना भएको प्रतियोगितामा ब्राजिलले सन् २०१५ र २०१६ मा लगातार उपाधि जितेको चिलीलाई हराउन निकै ठूलो संघर्ष गर्नुपरेको थियो । पहिलो रोजाइको सेट लिएर उत्रिएको ब्राजिल खेलको ४८औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । तर, ब्राजिल १० खेलाडीमा सीमित भएको फाइदा भने चिलीले उठाउन सकेन ।

युवा खेलाडी ग्याब्रिएल जेससले सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । विपक्षी खेलाडीमाथि उनले निकै खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सोझै रातो कार्ड दिएका थिए । हाई बल नियन्त्रणमा लिनेक्रममा जम्प गर्दा जेससले विपक्षी खेलाडीको घाँटीमा किक बजारेका थिए । निकै डरलाग्दो सो फाउलमा रेफ्रीले जेससलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकाले ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरूवातमै ब्राजिलले खेलमा अग्रता बनायो । दोस्रो हाफ शुरू हुनासाथ ४६औं मिनटमै ब्राजिलका लागि युवा खेलाडी लुकास पाक्वेटाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । डीबक्स बाहिरबाट नेयमारले दिएको पासमा लुकासले चिलीका रक्षापंक्तिलाई बिट गर्दै डीबक्स भित्रबाट हानेको प्रहारले जाली चुमेको थियो ।

खेलमा अग्रता लिएको दुई मिनेटपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो । तर, चिलीले त्यसको फाइदा भने लिन नसकेपछि १–० कै अग्रता बचाएर ब्राजिलले खेल जित्यो । सेमिफाइनल प्रवेश गरेको ब्राजिलले अब पेरूको सामना गर्नेछ । पेरू र ब्राजिल यसअघि २०१९ मा फाइनलमा भिडेका टोलीहरू हुन् ।

सन् २०१९ मा भएको ४६औं संस्करणको कोपाको उपविजेता पेरू पनि जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश ग¥यो । शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा पेरूले अर्को बलियो टोली पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलमा एउटा आत्मघाती गोल भएको थियो भने दुईवटा रातो कार्ड पनि देखाइएको थियो ।

चर्को प्रतिस्पर्धा भएको सो खेलमा पाराग्वेले खेलमा पहिले अग्रता बनाएको थियो । ११औं मिनेटमा गुस्टाभो गोमेजले डीबक्सभित्रबाट गोल गर्दै खेल १–० बनाएका थिए । तर, २१औं मिनेटमा पाराग्वेका गोलकर्ता गोमेजले नै आफ्नै पोस्टमा बल छिराएपछि खेल १–१ को स्थितिमा आएको थियो । डीबक्सअघि बल क्लियर गर्न खोज्दा बल उनको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि, खेलको ४०औं मिनेटमा पेरूले खेलमा अग्रता बनायो । यसपटक जियानलुका लापाडुलाले गोल गर्दै पहिलो हाफमा पेरूलाई २–१ को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाराग्वे पनि चाँडै नै खेलमा फर्कियो । खेलको ५४औं मिनेटमा जुनियर अलोन्सोले गोल गरेर खेल २–२ को बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटमा कुल ६ गोल भएको खेलमा पेरूले ८०औं मिनेटमा फेरि अग्रता बनायो ।

यसपटक योसिमार युटुनले गोल गर्दै पेरूलाई जितको बाटो देखाएका थिए । तर, खेलको अन्तिम समय ९०औं मिनेटमा पाराग्वेले तेस्रो गोल गर्दै खेललाई ३–३ को बराबरीमा फर्कायो । त्यसपछि, थप गरिएको समयमा पनि कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुग्यो । जहाँ पेरूले ४–३ ले बाजी मार्न सफल भयो । यस खेलमा पाराग्वे पहिलो हाफको इन्ज्युरी समय र पेरू ८५औं मिनेटमा १० खेलाडीमा खुम्चिएको थियो । अब पेरूले सेमिफाइनलमा गत संस्करणको फाइनलमा भिडेको ब्राजिलको सामना गर्नेछ । त्यसबेला ब्राजिलले पेरूलाई ३–१ ले हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्