सान्चो म्यानचेस्टर युनाइटेडमा जाने



लन्डन, (एजेन्सी) ।

जाडोन सान्चो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने निश्चित भएको छ ।

सान्चोलाई युनाइटेडले ८५ मिलियन युरोमा भित्र्याउन लागेको जनाइएको छ । जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि म्यानचेस्टरको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताईएको छ । युनाइटेडले एक वर्षदेखि सान्चो खरिदको चाहना राखेको थियो तर अब नयाँ सिजनबाट सान्चो युनाइटेडको जर्सीमा देखिने पक्का भएको हो ।

सान्चोको लागि म्यान्चेस्टर युनाईटेडले राखेको ८५ मिलियन युरोको प्रस्ताव बोरुसिया डर्टमन्डले स्वीकार गरेको हो । २१ वर्षीय सान्चो म्यानचेस्टरले तिर्न तयार भएको मूल्य अनुसार हेरी मागुइयरपछि दोस्रो महँगो अंगे्रजी खेलाडीसमेत बन्ने भएका छन् । सान्चो सन् २०१७ को अगस्टमा आठ मिलियन युरोमा डर्टमन्ड पुगेका थिए । सान्चोले डर्टमन्डबाट १३७ खेल खेल्दै ५० गोल गरेका छन् भने ५७ पटक गोलका लागि असिस्ट गरेका छन् ।

यसअघि, सन् २०१९ मा डिफेन्डर हेरी ८० मिलियन युरोमा लेस्टर सिटीबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । नयाँ सिजनको लागि खुला भएको ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो सम्झौताको रूपमा लिइएको सान्चोको खरिद अब केही दिनमै सम्पन्न हुने देखिएको छ ।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट युरोकप खेलिरहेका सान्चो प्रतियोगिता लगत्तै युनाइटेडको क्याम्पमा जोडिने बताईएको छ । डर्टमन्डले सान्चोलाई बिदा गर्ने मनसाय बनाईसकेको छ ।

लामो समयदेखि डर्टमन्ड र युनाइटेडबीच स्थानान्तरण रकमको विषयमा कुरा अड्किदै आएको थियो । तर मंगबलबार भएको छलफलमा डर्टमन्डले युनाइटेडको प्रस्ताव स्वीकार गरेको हो ।

युनाइटेड र डर्टमन्डबीच यसबाहेक सान्चोको प्रदर्शनको आधारमा केही रकम थप्न सकिने विषयमा समेत छलफल भएको छ । यस्तै, स्थानान्तरण रकमको किस्ताको विषयमा पनि दुई क्लबबीच सहमति बनेको छ । यसअघि गत सिजन डर्टमन्डले युनाइटेडलाई सान्चोको स्थान्तरणका लागि एक सय २० मिलियन युरोको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्