बेल्जियम र इटालीबीचको हेभिवेट खेल



नेपाल समाचारपत्र, काठमाडौं ।

विभिन्न शहरमा जारी युरोपियन च्याम्पियनसिप युरोकप २०२० का क्वार्टरफाइनल खेलहरू शुक्रबारबाट शुरू हुँदैछ । आज दुई क्वार्टरफाइनल खेलहरू हुनेछन् । तीनपटकको युरो च्याम्पियन स्पेनले स्विट्जरल्यान्डसँग बेलुकी नौ बजेर ४५ मिनेटमा खेल्नेछ । यो खेल सेन्ट पिटर्सबर्गमा हुनेछ ।

यस्तै आज राति १२ बजेर ४५ मिनेट हुने खेल हेभिवेटको रूपमा लिइएको छ । म्युनिखको एलिनाज एरेनामा हुने खेलमा बेल्जियम र इटालीले सेमिफाइनलको लागि कसरत गर्नेछन् । बेल्जियमको प्रदर्शन निकै सन्तुलित छ भने इटालीको प्रदर्शन भने विगतमा भन्दा फरक छ । दुवै टिमले समूह चरणमा शतप्रतिशत नतिजा निकालेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर उपेन्द्रमान सिंहले बेल्जियमले केही वर्ष यतादेखि राम्रो खेलिरहेको बताउनुभयो । सिंहले बताउनुभयो–‘गत विश्वकपदेखि बेल्जियमले राम्रो प्रदर्शन गर्दै आएको छ । तीन वर्षअघि रसियामा सम्पन्न विश्वकपमा बेल्जियम उपाधिको दावेदारीमा थियो । तर, सेमिफाइनलमा यो सन्तुलित टिमको यात्रा टुंगियो । तर, यो युरोकपमा टिमले रोमेलु लुकाकु, इडेन हाजार्ड जस्ता अनुभवी खेलाडीको साथसाथै नयाँ खेलाडीलाई पनि समेटिएको छ । यो टिम आगामी विश्वकपका लागि मध्यनजर गरी तयार गरेको हो । यसैले पनि यो टिमले जारी युरोकपमा खेलैपिच्छे प्रदर्शनमा सुधार गर्दै गएको छ ।’

बेल्जियमले समूह चरणमा डेनमार्क, रसिया र अस्ट्रियालाई हराएर नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । बेल्जियमका लागि लुकाकु, हाजार्डले गोल पनि गरेका छन् । अन्तिम १६ को खेलमा बेल्जियमले गत संस्करण २०१६ को युरोकप विजेता पोर्चुगललाई हराएको थियो । बेल्जियमका लागि हाजार्डले गोल गरेका थिए । पोर्चुगल यसपटक राम्रो भए पनि बेल्जियमले पूरै खेलमा दबाबमै खेल्न बाध्य बनाएको थियो । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसमेत त्यो खेलमा दबाबमै खेल्नु परेका थिए । समूह चरणका तीनै खेलमा गोल गरेर कीर्तिमान बराबरी गरेका रोनाल्डोलाई बेल्जियमका डिफेन्डरले गोल गर्ने मौका दिएका थिएनन् । यो खेलले प्रस्ट पारेको छ कि बेल्जियमको डिफेन्स पनि राम्रो छ ।

यसैगरी, इटाली पनि युरोकपको उपाधि दाबेदारीमै रहेको छ । इटालीले समूह चरणमा एक गोल पनि नखाई तीन खेल जितेको थियो । इटालीले स्विट्जरल्यान्ड, वेल्स र टर्कीलाई हराएको थियो । नकआउट चरणमा अस्ट्रियासँग भिडेको इटालीले जित हात पार्न निकै मेहनत गर्नुपरेको थियो । यो खेलमा इटाली २–१ ले जित्न सफल भएको थियो । इटालीले यसपटक आक्रमक शैलीमा जोड दिएको छ । सिंहले बताउनुभयो–‘पहिले इटालीको खेलमा डिफेन्स बढी हुन्छ, एक गोल गर्ने र डिफेन्स खेल्ने । हुन त इटाली चारपटकको विश्व च्याम्पियन पनि हो । तर, यसपटक अलि छुट्टै किसिमले युरो खेल्दैछ । नयाँ खेलाडीको सम्मिश्रणले खेल आकर्षक देखिएको छ । यो टिममा उपाधि जित्ने क्षमता छ ।

स्पेन नै बलियो

स्विट्जरल्यान्डविरुद्धको खेलमा स्पेन नै बलियो देखिन्छ । क्रोएसियाविरुद्धको खेलमा जसरी स्पेनले खेल्यो, त्यो खेलले स्पेनलाई फेरि एकपटक युरो जित्ने टिमको रूपमा उभ्याएको छ । अन्तिम १६ खेलमा क्रोएसियालाई स्पेनले ५–३ ले हराएको थियो । त्यसो त उक्त खेलमा स्पेनले जित्नै लागेको थियो, तर अन्तिममा दुई गोल फर्काएर क्रोएसियाले खेललाई अतिरिक्त समयमा लगेको थियो । अतिरिक्त समय भने स्पेनको वर्चश्व रह्यो । दुई गोल गरेर स्पेनले जित निकालेको थियो ।

उता स्विट्जरल्यान्डले पनि अन्तिम १६ मा फ्रान्स जस्तो विश्व विजेता टिमलाई स्तब्ध तुल्याएर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । स्विट्जरल्यान्ड ३–१ ले पछि परेर प्रतियोगिताबाट बाहिरिन लागेको थियो । तर, स्वीस टिमले अन्तिममा दुई गोल फर्काएर खेल ३–३ बराबरीमा पु¥याएको थियो ।

अतिरिक्त समयमा भने दुवै टिमले गोल गर्न नसकेपछि स्वीस टिमले फ्रान्सलाई टाइब्रेकरमा ५–४ ले हराउन सफल भयो । पाँचौं पेनाल्टी क्लियन एम्बाप्पेले प्रहार गरेकोमा स्वीस गोलकिपर यान सोमरले बचाए । योसँगै स्विट्जरल्यान्डले प्रतियोगितामा ठूलो उलटफेर ग¥यो ।
फ्रान्सलाई हराएपनि स्विटरजरल्यान्डको स्पेनसँगको भिडन्त त्यति मीठो भने छैन । २२ खेल खेलेकोमा स्पेनले स्विटजरल्यान्डसँग एक खेल मात्रै हारेको छ । उक्त हार २०१० को विश्वकपअन्तर्गत खेल थियो । तर, सोही विश्वकपको उपाधि स्पेनले जितेको थियो । यद्यपि, स्पेन र स्विटजरल्यान्डको लागि समूह चरण निकै कठिन भएको थियो । स्पेन र स्विटजरल्यान्डले समूह चरणमा एक–एक खेल मात्रै जितेका थिए ।

आजका खेलहरू : शुक्रबार, २ जुलाइ (असार १८ गते)

पहिलो क्वार्टरफाइनलः
स्विट्जरल्यान्डविरुद्ध स्पेन (बेलुकी ९ः४५ बजे, सेन्ट पिटर्सवर्ग)

दोस्रो क्वार्टरफाइनलः
बेल्जियम विरुद्ध इटाली (राति १२ः४५ बजे, म्युनिख)

प्रतिक्रिया दिनुहोस्