युक्रेन र इंग्ल्यान्ड क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

युक्रेन र इंग्ल्यान्ड जारी युरो कप २०२० फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को खेलमा स्वीडेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै युक्रेन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । स्कटल्यान्डमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयसम्म धकलिएको थियो, जहाँ युक्रेनले बाजी मार्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको २७औं मिनेटमा ओलेक्जान्डर जिनचेन्कोले गोल गर्दै युक्रेनलाई शुरूवाती अग्रता दिलाएका थिए । गोल बेहोेरेर दबाबमा परेको स्वीडेनलाई त्यसपछि खेलमा फर्किन धेरै समय लागेन । खेलको ४३औं मिनेटमा स्वीडेनका लागि इमिल फसवर्गले शानदार गोल गर्दै खेल १–१ बनाएका थिए । सो गोलपछि खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

त्यसपछि, दोस्रो हाफमा दुवै टोलीले विजयी गोलका लागि लगातार संघर्ष गरे पनि दुवैतर्फबाट गोल हुन सकेन । दुवै टिमले सीमित मात्रै गोलका अवसर सिर्जना गरे पनि प्रयास असफल भयो । ९० मिनेट र तीन मिनेटको इन्ज्युरी समयसमेत गरी ९३ मिनेटको खेलमा पनि गोल नभएपछि खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो । चर्को दबाब र रोमाञ्चक प्रतिस्पर्धाबीच दुवै टोली अतिरिक्त ३० मिनेटको समयमा प्रवेश गरेका थिए ।

जहाँ स्वीडेनलाई ठूलो धक्का लाग्यो । टोलीका मुख्य डिफेन्डर मार्कुस ड्यानिएलसनलाई रेफ्रीले भिएआरमार्फत् जाँच गरेर खराब फाउलका गरेका कारण ९९औं मिनेटमा सोझै रातो कार्ड दिएपछि स्वीडेन समस्यामा परेको थियो । १० खेलाडीमा सीमित भए पनि स्वीडेनले सम्हालिएर खेलेका थिए । तर, अतिरिक्त समय सकिन केही सेकेन्ड मात्रै बाँकी रहेको बेला युक्रेनका लागि अर्टेम डोभिकले गोल गरेपछि स्वीडेन स्तब्ध भयो । एक सय २१औं मिनेटमा भएको उक्त गोलपछि स्वीडेनले गोल फर्काउने कुनै अवसर नै पाएन र खेल युक्रेनले २–१ ले जित्यो । समूह चरणबाट शानदार प्रदर्शनका साथ अघि बढेको स्वीडेनको यात्रा अन्ततः युक्रेनले टुंगाइदियो । अब युक्रेनले क्वार्टरफाइनलमा जर्मनीलाई हराएको इंग्ल्यान्डको सामना गर्नेछ ।

बलियो जर्मनीलाई इंग्ल्यान्डले हरायो

त्यसअघि, मंगलबार राति नै भएको अन्तिम १६ को अर्को रोमाञ्चक खेलमा खेलमा बलियो जर्मनीलाई हराएर इंग्ल्यान्डले पनि क्वार्टरफाइनलमा स्थान बनायो । यससँगै सन् २०१६ को च्याम्पियन पोर्चुगल र २०१८ को विश्व च्याम्पियन फ्रान्सपछि सन् २०१४ को विश्व च्याम्पियन जर्मनी पनि जारी प्रतियोगिताबाट बाहिरियो । इंग्ल्यान्डले जर्मनीलाई २–० गोलअन्तरमा स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक उक्त खेलमा पाहुना टोली जर्मनीको कुनै जादु चलेन । आफ्ना घरेलु दर्शकमाझ इंग्लिस टोलीले च्याम्पियन जर्मनीलाई पूर्ण दबाबमा राखेको थियो ।

इंग्ल्यान्डको लन्डन सहरस्थित वेम्बली रंगशालामा भएको उक्त महाभिडन्तमा इंग्ल्यान्डले खेलको ७४ मिनेटपछि दुई गोल गरेर जर्मनीको युरो यात्रामा पूर्णविराम लगाईदिएको हो । प्रतियोगिताको उपाधितर्फ अघि बढ्नका लागि इंग्ल्यान्डको जितमा दुई स्टार खेलाडी रहिम स्टर्लिङ र टिमका कप्तान ह्यारी केनले एक–एक गोल गरेका थिए । खेलको पहिलो हाफमा दुवै टिमले केही अवसरको सिर्जना गरेका थिए ।

खेलको ७५औं मिनेटमा भने स्टार फरवार्ड रहिम स्टर्लिङले लुके शको पासमा शानदार गोल गरेर जर्मनीलाई ठूलो झट्का दिएका थिए । सो गोलमा सब्स्टिच्युट युवा खेलाडी ज्याक ग्रिलिसले अवसर सिर्जना गर्न भूमिका खेलेका थिए । स्टर्लिङको कडा प्रहारमा जर्मन टिमका कप्तानसमेत रहेका गोलकिपर म्यानुएल निउरले कुनै मौका नै पाएनन् । सो गोल बेहोरेपछि जर्मनी बराबरी गोलमा चर्को दबाबमा देखियो । सोहीक्रममा खेलको ८२औं मिनेटमा थोमस मुलरले लामो पासमा प्राप्त बलमा गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्ने सहज अवसरलाई खेर फाले ।

यदि, मुलरले त्यो अवसरमा गोल गरेको भए सम्भवतः खेलको नतिजा अर्कै हुन सक्थ्यो । मुलर ठूलो अवसरमा चुकेपछि इंग्ल्यान्डले खेलमा थप दबाब बढाएको थियो । खेलको ८६औं मिनेटमा कप्तान केनले क्रस पासमा हेडिङमार्फत् आकर्षक गोल गरेपछि इंग्ल्यान्डको जित पक्का भएको थियो । केनको सो गोलमा ग्रियालिसले निकै बुद्धिमानी असिस्ट गरेका थिए ।

दोस्रो गोल बेहोरेपछि पनि पाहुना टोली जर्मनीले खेलमा फर्किन लगातार संघर्ष गरेको थियो । तर, सहज अग्रता बनाएको इंग्लिस टिमले त्यसपछि पूरै डिफेन्सिभ खेलेपछि जर्मनीको कुनै सीप चलेन । उक्त खेलमा गरेको गोल केनका लागि जारी युरोकपकै पहिलो गोल थियो । उता, स्टर्लिङले भने जारी प्रतियोगितामा गरेको तेस्रो गोल हो । यसअघि, समूह चरणमा इंग्ल्यान्डले जम्मा दुई गोल गर्दा ती दुई वटै गोल स्टर्लिङले नै गरेका थिए । इंग्ल्यान्डले समूह चरणमा निकै संघर्ष गर्नुपरे पनि अन्तिम १६ मा उपाधि दावेदार जर्मनीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो सुनौलो पुस्ताको स्तर देखायो । सम्भवतः अब यो जितले इंग्लिस टिमलाई उपाधि नजिक पुर्‍याउने बाटो खुलेको छ ।
इंग्ल्यान्डको सामना युक्रेनसँग

क्वार्टरफाइनल प्रवेश गरेको इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि युक्रेनसँग भिडन्त गर्नेछ । यदि, क्वार्टरफाइनलबाट पनि अघि बढे सेमिफाइनलमा पनि इंग्ल्यान्डले सहज प्रतिस्पर्धी पाउनेछ । त्यहाँ इंग्लिस टोलीले चेक रिपब्लिक र डेनमार्कबीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ । यसरी हेर्दा अन्य टिमलाई भन्दा इंग्ल्यान्डलाई यसपटक युरो कपको फाइनल पुग्न तुलनात्मकरूपमा सजिलो देखिन्छ । इंग्ल्यान्डले मंगलबारकै जस्तो खेललाई निरन्तरता दिएमा यसपटक फाइनलमा देख्न सकिने सम्भावना प्रबल छ ।

गु्रप अफ डेथका तीनै टिमले हारे

प्रतियोगिताअन्तर्गत समूह एफ ‘ग्रुप अफ डेथ’ कारूपमा चर्चाको विषय भएको थियो । सो समूहका तीनै टिम अन्तिम १६ बाट अघि बढ्न सकेनन् । मंगलवार रातिको खेलपछि उक्त समूहमा रहेका दुई पूर्व विजेता जर्मनी र फ्रान्स तथा डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यात्रा अन्तिम १६ सम्मै रह्यो । क्वार्टर फाइनलसम्म पुग्दा उक्त समूहका कुनै टोली बाँकी रहेनन् । जर्मनी इंग्ल्यान्डसँग हार्दा पोर्चुगललाई बेल्जियमले हराएको हो । विश्व विजेतासमेत रहेको फ्रान्स भने ३–१ को अग्रता बावजुद स्विट्जरल्यान्डलाई टाइब्रेकरमा नतिजा सुम्पेर बाहिरिनुपरेको थियो ।

गोल्डेन बुटका दावेदारः

५ गोल क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
४ गोल प्याट्रिक शिक (चेक रिपब्लिक)
३ गोल रोमेलु लुकाकु (बेल्जियम), रहीम स्टर्लिङ (इंग्ल्यान्ड), हेरिस सेफेरोभिच (स्विट्जरल्यान्ड)

प्रतिक्रिया दिनुहोस्